लाङटाङ जलविद्युत् आयोजना २० मेगावाट उत्पादनको तयारीमा, थप १० मेगावाट विस्तारका लागि ग्लोबल हाइड्रो अस्ट्रियासँग सम्झौता
जलसरोकार
काठमाडौं : लगानीकर्ताका लागि सकारात्मक संकेत दिने गरी लाङटाङ जलविद्युत् आयोजनाले प्रारम्भिक २० मेगावाट क्षमताबाट केही दिनभित्रै विद्युत् उत्पादन सुरु गर्ने तयारी पूरा गरेको छ। साथै, आयोजनाले थप १० मेगावाट विस्तार गरी कुल क्षमता ३० मेगावाट पुर्याउने दिशामा पनि महत्वपूर्ण प्रगति गरेको छ।
मल्टी इनर्जी डेभलपमेन्ट प्रा.लि.द्वारा प्रवर्द्धित यो आयोजना रसुवा जिल्लामा अवस्थित छ र आरएम ग्रुप अन्तर्गत विकास भइरहेको छ। कम्पनीका अनुसार २० मेगावाट उत्पादनतर्फ आवश्यक सबै काम सम्पन्न भइसकेको छ भने थप १० मेगावाट विस्तारका लागि आवश्यक संस्थागत तथा प्राविधिक प्रक्रिया पनि अगाडि बढिसकेको छ।
कम्पनीका अनुसार थप १० मेगावाट विस्तारका लागि विद्युत् विकास विभाग र वन तथा वातावरण मन्त्रालयबाट सहमति प्राप्त भइसकेको छ। त्यस्तै, उक्त क्षमताका लागि पीपीए मस्यौदा विद्युत् व्यापार विभागबाट स्वीकृत भइसकेको छ भने ग्रीड विभागबाट समेत आवश्यक सहमति उपलब्ध भइसकेको छ। यसले आयोजनाको विस्तार अब नीतिगत चरणबाट कार्यान्वयन चरणमा प्रवेश गरेको संकेत गर्छ।
लगानीकर्ताका दृष्टिले अझ महत्त्वपूर्ण पक्ष भनेको आयोजनाको थप १० मेगावाटका लागि सम्पूर्ण इलेक्ट्रोमेकानिकल कार्य अघि बढ्नु हो। यसका लागि कम्पनीले ग्लोबल हाइड्रो अस्ट्रियासँग खरीद सम्झौता आज सम्पन्न गरेको छ। जलविद्युत् आयोजनामा इलेक्ट्रोमेकानिकल कार्य भन्नाले टर्बाइन, जेनेरेटर, मुख्य इनलेट भल्भ, गभर्नर प्रणाली, कन्ट्रोल तथा प्रोटेक्शन प्यानल, अटोमेसन/स्क्याडा, ट्रान्सफर्मर, स्विचगियर, केबलिङ, परीक्षण र कमिसनिङलगायत उत्पादनको मुख्य प्राविधिक संरचनासँग सम्बन्धित कामहरूलाई बुझिन्छ। यस्ता कामका लागि अन्तर्राष्ट्रिय आपूर्तिकर्तासँग सम्झौता हुनु विस्तार आयोजनाले वास्तविक गति लिइरहेको संकेतका रूपमा हेरिन्छ।
कम्पनीले यसअघि २०६९ चैत ९ गते सर्वेक्षण अनुमति प्राप्त गरेको थियो। त्यसपछि सम्भाव्यता अध्ययन सम्पन्न गरी प्राधिकरणसँग २०७२ पुस २९ गते १० मेगावाट र २०७४ कात्तिक १६ गते थप १० मेगावाटका लागि पीपीए गरेको थियो। अहिले थप १० मेगावाट विस्तार प्रस्तावसहित आयोजना ३० मेगावाट क्षमतातर्फ उन्मुख भएको छ।
आयोजनाको प्रवर्द्धक मल्टी इनर्जी डेभलपमेण्ट प्रालि २०६१ माघ २७ गते स्थापना भएको कम्पनी हो। कम्पनी आरएम ग्रुपको ऊर्जा लगानी अवधारणाअन्तर्गत अघि बढिरहेको छ। समूहले नेपालमा आगामी १० वर्षभित्र ५०० मेगावाट विद्युत् उत्पादन गर्ने दीर्घकालीन लक्ष्य लिएको बताइएको छ।
जलविद्युत् क्षेत्रमा लगानी गर्नेहरूका लागि यो समाचारले दुईवटा सन्देश दिन्छ। पहिलो, २० मेगावाट उत्पादन सुरू हुने चरणमा पुगेकाले आयोजनाबाट नगद प्रवाह सुरु हुने आधार मजबुत बन्दै गएको संकेत मिल्छ। दोस्रो, थप १० मेगावाट विस्तारका लागि अनुमतिदेखि प्राविधिक खरीदसम्मका प्रक्रिया अघि बढिसकेको हुँदा आयोजना भविष्यमा अझ ठूलो क्षमतामा सञ्चालनमा आउने सम्भावना बलियो देखिएको छ।
विशेषगरी, उत्पादन सुरु हुने तयारी र विस्तार योजनाको समानान्तर प्रगति आयोजनाको मूल्य, भविष्यको आम्दानी क्षमता र दीर्घकालीन लगानी आकर्षणका हिसाबले सकारात्मक रूपमा व्याख्या गर्न सकिन्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लाङटाङ जलविद्युत् आयोजना २० मेगावाट उत्पादनको तयारीमा, थप १० मेगावाट विस्तारका लागि ग्लोबल हाइड्रो अस्ट्रियासँग सम्झौता
-
पाँच दिनको उकालोपछि नेप्से २४ अंकले घट्यो, बढ्यो कारोबार रकम
-
तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण सुरु
-
उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार चलाउनेछ : अध्यक्ष कुलमान
-
सुपर खुदी हाइड्रोपावरको पहिलो कारोबार ३०० रुपैयाँमा, नियमित बजारमा प्रवेश
-
सुनकाे मूल्य तोलामा रु १४ हजार ६०० ले बढ्यो, चाँदी कति ?