पहिरो र बाढीले देशका विभिन्न सडक अवरुद्ध, केही राजमार्गमा रात्रीकालीन सवारी सञ्चालन रोक
जलसरोकार
काठमाडौं : लगातारको वर्षापछि आएको पहिरो, बाढी तथा सडकमा जमेको हिलोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान ९ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै सात जिल्लाका सडक पूर्ण रूपमा अवरुद्ध रहेको तथा केही राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
त्यस्तै, वर्षायामका कारण जोखिम बढेपछि कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा अर्को सूचना जारी नभएसम्म प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलाम्मे भएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खस्दा यातायात सेवा ठप्प भएको छ।
बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोरमा पहिरो खसेर सडक अवरुद्ध भएको छ भने दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामाबगर–रामेछाप सडकखण्डमा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात सञ्चालन प्रभावित भएको छ।
त्यसैगरी, मुगुको छायानाथ रारा नगरपालिका–७ पिना खोलास्थित नाग्म–गमगडी सडकखण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षायाममा यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रबाट सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत् तार छोएर दुवै हात गुमाएका बालकलाई प्राधिकरणले १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति दिने
-
विद्युत् व्यापारबाट नेपाललाई २९ अर्बभन्दा बढी आम्दानी, निर्यातमा झण्डै ६३ प्रतिशत वृद्धि
-
सुन प्रतितोला ३०० र चाँदी २५ रुपैयाँले बढ्यो
-
पहिरो र बाढीले देशका विभिन्न सडक अवरुद्ध, केही राजमार्गमा रात्रीकालीन सवारी सञ्चालन रोक
-
आरसिओडी थपका लागि २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
-
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान