सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

लालबन्दी-सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा, सर्लाहीको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्ति सुधार हुने

जलसरोकार
मंगलबार, असोज ०६, २०८३ | १५:०२:२१ बजे

काठमाडौं :  सर्लाहीको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय बनाउन निर्माण गरिएको लालबन्दी-सलेमपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार लालबन्दी नगरपालिका-१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका-७, चैनपुरासम्मको करिब २० किलोमिटर लामो प्रसारण लाइन सञ्चालनमा आएको हो।

प्रसारण लाइनसँगै चैनपुरामा निर्माण गरिएको १३२/३३/११ केभी सबस्टेसन पनि सञ्चालनमा आएको छ। सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए क्षमताका दुईवटा तथा ३३/११ केभी, २४ एमभीए क्षमताको एउटा पावर ट्रान्सफर्मर जडान गरिएको छ। यसअनुसार सबस्टेसनको कुल क्षमता ८४ एमभीए पुगेको छ।

स्थानीय क्षेत्रमा विद्युत् वितरणका लागि सबस्टेसनबाट ३३ केभीका पाँचवटा र ११ केभीका छवटा फिडर निकालिएका छन्।

न्यून भोल्टेज र ट्रिपिङको समस्या घट्ने अपेक्षा

प्रसारण लाइन तथा सबस्टेसन सञ्चालनमा आएपछि सर्लाहीका मलंगवा, हरिपुर, हरिपूर्वा, डुमरिया, बरहथवालगायतका क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने प्राधिकरणको अपेक्षा छ।

नयाँ पूर्वाधारबाट स्थानीय क्षेत्रमा देखिँदै आएको न्यून भोल्टेज, बारम्बार हुने विद्युत् विच्छेद (ट्रिपिङ) तथा विद्युत् चुहावटका समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने प्राधिकरणले जनाएको छ।

यसले सर्लाहीको स्थानीय क्षेत्रमा बढ्दै गएको विद्युत् माग व्यवस्थापन गर्न तथा प्रसारण र वितरण प्रणालीलाई थप सुदृढ बनाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले ग्राहकलाई पर्याप्त भोल्टेजसहित भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने विषयलाई प्राधिकरणले उच्च प्राथमिकतामा राखेको बताए।

उनले विद्युत्‌को प्रसारण तथा वितरण प्रणालीका पूर्वाधार विस्तार र सुदृढीकरणका कामलाई योजनाबद्ध रूपमा अघि बढाइएको उल्लेख गरे।

१ अर्ब १२ करोड ५२ लाखमा ठेक्का

लालबन्दी-सलेमपुर १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि २०७९ चैतमा १ अर्ब १२ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता २०८० वैशाखदेखि कार्यान्वयनमा आएको थियो। नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा आयोजना निर्माण गरिएको हो।

प्रकाशित मिति : मंगलबार, असोज ०६, २०८३ | १५:०२:२१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया