सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

प्रधानमन्त्रीलाई कुलमानको सुझाव : सुरुङमा फसेकाको तत्काल उद्धार, जलविद्युत्लाई विशेष प्याकेज देऊ

जलसरोकार
बिहीबार, भदौ १८, २०८३ | १३:१७:४९ बजे

 

काठमाडौँ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको उद्धार, राहत, पुनःस्थापना तथा जलविद्युत आयोजनाको पुनःनिर्माणबारे सुझाव दिएका छन्।

भेटपछि घिसिङले आफूहरूले स्थलगत रूपमा देखेका र बुझेका विषय प्रधानमन्त्रीसमक्ष लिखित तथा मौखिक रूपमा प्रस्तुत गरेको बताए। विशेषगरी सुरुङभित्र फसेकाहरूको उद्धारका लागि आवश्यक उपकरण तथा जनशक्ति तत्काल परिचालन गर्नुपर्नेमा जोड दिएको उनले बताए।

घिसिङका अनुसार प्रधानमन्त्री शाहले उपलब्ध सबै स्रोतसाधन परिचालन गरेर उद्धार कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। आवश्यक परे विदेशबाट समेत उपकरण तथा प्रविधि ल्याउने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको उनले बताए।

उनले विपद् प्रभावित क्षेत्रमा राहत वितरणलाई प्रभावकारी बनाउन सडक सञ्जाल तत्काल पुनःस्थापना गर्नुपर्ने बताए। विशेषगरी स्याफ्रुबेँसीसम्म सडक जोड्ने तथा आवश्यक स्थानमा बेलिब्रिज निर्माण गर्न आफूहरूले सुझाव दिएको उनले जानकारी दिए।

घिसिङले बाढीका कारण प्रभावित जलविद्युत आयोजनाको पुनःस्थापनाका लागि सरकारले विशेष प्याकेज ल्याउनुपर्ने धारणा राखे। सञ्चालनमा रहेका करिब २३५ मेगावाटका आयोजना छिटो सञ्चालनमा ल्याउन तथा करिब १६५ मेगावाटका आयोजना एक–दुई महिनाभित्रै सञ्चालन गर्न सकिने भएकाले त्यसतर्फ तत्काल पहल गर्न सुझाव दिएको उनले बताए।

निर्माणाधीन आयोजनालाई प्रोत्साहन तथा आवश्यक सहुलियत दिनुपर्ने, बीमा दाबीको प्रक्रिया छिटो टुंग्याउनुपर्ने र प्रभावित आयोजनालाई नीतिगत तथा आर्थिक सहयोग गर्नुपर्नेमा पनि उनले जोड दिए।

भेटमा आगामी दिनमा समग्र नदी बेसिनको व्यवस्थापन, जलविद्युत आयोजनाको सुरक्षा, सडक निर्माणको उपयुक्त स्थान र बाढीको जोखिम विश्लेषणबारे समेत छलफल भएको घिसिङले बताए।

प्रधानमन्त्री शाहसँग चुनावअघि भएको असमझदारीपछि पहिलोपटक भेट भएको उल्लेख गर्दै घिसिङले राजनीतिक असहमति भए पनि देश निर्माणका लागि सरकारलाई आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको बताए।

“यो सरकार दुई तिहाइको सरकार हो। देश बनोस् भन्ने हाम्रो पनि चाहना हो। सरकारले राम्रो काम गरोस् र त्यसका लागि जे–जे सहयोग गर्नुपर्छ, हामी गर्छौँ,” घिसिङले भने।

 

 

प्रकाशित मिति : बिहीबार, भदौ १८, २०८३ | १३:१७:४९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको