सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चुनावबाट प्राप्त जनसमर्थनले ‘उज्यालो नेपाल’ अभियानलाई थप ऊर्जा दिएको कुलमान घिसिङको भनाइ

जलसरोकार
मंगलबार, फागुन २६, २०८२ | १२:४८:२६ बजे

 

काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हालैको चुनावबाट प्राप्त जनसमर्थनले आफ्नो राजनीतिक अभियानलाई थप ऊर्जा र मार्गदर्शन दिएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा, र सक्षम नेतृत्वको खोजीमा उठेको जनआवाजले उज्यालो नेपाल पार्टीप्रति विश्वास व्यक्त गरेको उल्लेख गरेका हुन्।
घिसिङले चुनावमा मतदान गर्ने सम्पूर्ण मतदाता, समर्थक, स्वयंसेवक तथा अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले यो चुनाव केवल राजनीतिक प्रतिस्पर्धा मात्रै नभई भ्रष्टाचार, कमिशनखोरी र बेथितिविरुद्ध उठेको जनभावनाको अभिव्यक्ति भएको बताएका छन्।
उनले नाराले मात्र देश नबन्ने भन्दै इमानदार र निर्णायक नेतृत्व आवश्यक रहेको उल्लेख गरेका छन्। नेपालले विगतमा धेरै घोषणा र योजना देखे पनि समस्या कार्यान्वयनको कमजोरीमा रहेको उनको भनाइ छ। देशमा एउटा पुल बनाउन वर्षौं लाग्ने, ठेक्का लिएर काम नगर्ने प्रवृत्ति, विकास सुस्त रहनु, र जनतामा निराशा बढ्नुजस्ता समस्याले परिवर्तनको माग तीव्र बनाएको उनले बताएका छन्।
फेसबुक पोस्टमा घिसिङले नेपाल विद्युत् प्राधिकरणमा आफूले काम गरेको अनुभव पनि स्मरण गरेका छन्। उनले लोडसेडिङ अन्त्य, प्रसारण लाइन विस्तार, विद्युत् आपूर्तिमा सुधार, सडक पुनःसञ्चालन, बत्ती नपुगेका ठाउँमा विद्युत् पुर्‍याउने, र बिग्रिएका आयोजनाको ठेक्का तोड्ने जस्ता काम उदाहरणका रूपमा उल्लेख गरेका छन्। ती कामहरू आफ्नो दृष्टिमा केवल प्राविधिक उपलब्धि नभई सुशासन र परिणाममुखी नेतृत्वका नमुना भएको उनको भनाइ छ।
घिसिङले आफूहरू चुनावमा जित्न मात्रै नभई जनविश्वास कमाउन होमिएको उल्लेख गरेका छन्। उनका अनुसार लोडसेडिङ अन्त्यजस्ता कामबाट जनतामा बनेको विश्वास, माया र सद्भाव अब राजनीतिक अभियानका लागि ठूलो ऊर्जा बनेको छ।
उनले आगामी दिनमा उज्यालो नेपाल पार्टीलाई गाउँदेखि सहरसम्म विस्तार गर्ने, भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त बनाउने, र सुशासन तथा आर्थिक समृद्धिको वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लाग्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। सरकारले साथ दिएर काम गर्दा उज्यालो नेपाल फर्किन सक्ने अनुभव विगतले देखाएको भन्दै उनले अब यही विश्वासलाई राजनीतिक रूपान्तरणतर्फ अघि बढाउने संकेत गरेका छन्।

प्रकाशित मिति : मंगलबार, फागुन २६, २०८२ | १२:४८:२६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया