ग्यासको कृत्रिम अभाव नियन्त्रण गर्न कुलमानको माग, विद्युत्मा लगाइएको भ्याट फिर्ता गर्न आग्रह
जलसरोकार
काठमाडौं । देश प्राकृतिक विपत्तिको पीडामा रहेका बेला आमनागरिक खाना पकाउने अत्यावश्यक एलपी ग्यासको चरम अभाव झेल्न बाध्य भएको भन्दै पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले सरकारको ध्यानाकर्षण गराएका छन्।
एउटा सिलिन्डर ग्यास पाउनसमेत ठूलो संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले संकटका बेला पनि आमउपभोक्ताको पीडाप्रति राज्य संयन्त्र संवेदनशील नदेखिएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले एलपी ग्यासको कृत्रिम अभाव, कालोबजारी र मनपरी मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। विद्यमान एलपी ग्यास विनियमावली, २०६५ ले समय–समयमा ग्यासको मूल्य समायोजन गर्ने अधिकार नेपाल आयल निगमलाई दिएको उल्लेख गर्दै उनले ढुवानी खर्च बढेको भन्दै व्यवसायीहरूले आफूखुसी मूल्य वृद्धि गर्नु गम्भीर विषय भएको बताएका छन्।
प्राकृतिक विपत्तिका कारण नागरिक संकटमा रहेका बेला ग्यासको आपूर्ति अवरुद्ध हुनु र मूल्य वृद्धि गरिनु झनै आपत्तिजनक भएको उनको भनाइ छ।
घिसिङले अर्कोतर्फ खाना पकाउनेलगायत घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोग बढाउनुपर्ने समयमा विद्युत् खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर विद्युत् प्रयोगलाई निरुत्साहित गरिएको टिप्पणी गरेका छन्।
‘एकातर्फ ग्यास छैन, अर्कोतर्फ विद्युत् प्रयोग महँगो बनाइएको छ,’ उनले भनेका छन्, ‘यसको प्रत्यक्ष मारमा आमउपभोक्ता र सर्वसाधारण परिवार परेका छन्।’
नेपाल आयल निगमसँग हालसम्म आफ्नै एलपी ग्यास बोटलिङ प्लान्टसमेत नहुनुलाई उनले दुःखद् र दुर्भाग्यपूर्ण अवस्था बताएका छन्। आयातित एलपी ग्यासमाथिको परनिर्भरता क्रमशः अन्त्य गर्दै नेपालमै उत्पादन भएको स्वच्छ तथा भरपर्दो विद्युतीय ऊर्जाको अधिकतम उपयोग गर्नुपर्नेमा उनले जोड दिएका छन्।
विद्युतीय चुलोको प्रयोगलाई व्यापक र व्यवस्थित रूपमा प्रवर्द्धन गर्दै एलपी ग्यासको विकल्पका रूपमा अघि बढाउनु आजको आवश्यकता रहेको घिसिङको भनाइ छ।
पाँच बुँदे माग
घिसिङले ग्यास संकट समाधानका लागि सरकारसमक्ष पाँच बुँदे माग पनि अघि सारेका छन्। सरकारी संयन्त्रलाई तत्काल प्रभावकारी रूपमा परिचालन गरी एलपी ग्यासमा भइरहेको कालोबजारी, कृत्रिम अभाव र मनपरी मूल्यवृद्धि नियन्त्रण गर्न उनले माग गरेका छन्।
त्यस्तै, अधिकारप्राप्त निकायको स्वीकृतिबिना गरिएको ग्यासको मूल्यवृद्धि तत्काल फिर्ता लिन, देशभर ग्यासको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न तथा संकटका बेला उपभोक्तामाथि थप आर्थिक भार थोपर्ने कार्य रोक्न उनको माग छ।
खाना पकाउनेलगायत घरायसी प्रयोजनमा विद्युत्को प्रयोगलाई प्रोत्साहन गर्न विद्युत् खपतमा लगाइएको भ्याट पनि तत्काल फिर्ता लिनुपर्ने उनको अर्को माग छ।
प्राकृतिक विपत्तिले थलिएका नागरिकलाई राज्यले राहत र सहुलियत दिनुपर्ने समयमा अत्यावश्यक वस्तुमै कृत्रिम अभाव, कालोबजारी र मनपरी मूल्यवृद्धि हुन दिनु स्वीकार्य नहुने घिसिङले बताएका छन्।
उनले हालको असहज परिस्थितिका कारण अवरुद्ध भएका राजमार्ग तथा सडकको तत्काल वैकल्पिक व्यवस्था गर्न तथा दीर्घकालीन रूपमा भरपर्दो वैकल्पिक मार्ग निर्माणलाई उच्च प्राथमिकता दिन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
आमनागरिकले सहज, नियमित र उचित मूल्यमा एलपी ग्यास प्राप्त गर्ने व्यवस्था तत्काल मिलाउनुपर्ने उल्लेख गर्दै उनले सरकार गम्भीर बन्न र उपभोक्ताले राहतको अनुभूति गर्ने गरी प्रभावकारी कदम चाल्न माग गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चार दिनको वृद्धिपछि नेप्से १५ अंकले घट्यो
-
विदेशी विज्ञसहितको उद्धार टोलीलाई सघाउन कुलमान घिसिङ चिलिमे पुगे
-
राष्ट्र बैंकले ५५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्दै
-
सुन र चाँदीकाे मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीको दुई सातापछि पनि भएन जलविद्युत्मा कार्यरत ९१७ जनाकाे उद्धार, अवस्था अझै अज्ञात
-
रसुवागढी र तातोपानी नाका बन्द भएपछि मुस्ताङ भन्सारको राजस्व बढ्यो