जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

खिम्तीको घाटा १७५.३९ प्रतिशतले बढ्यो, घाटा रकम ११ करोड ३९ लाख रुपैयाँ

जलसरोकार
सोमबार, पुस २९, २०८१ | १५:११:५८ बजे

काठमाडौं: नर्वेजियन लगानीको खिम्ती जलविद्युत् (६० मेगावाट) को प्रवर्द्धक हिमाल पावर लिमिटेडको घाटा यस वर्ष १७५.३९ प्रतिशतले बढेको छ । 
यो वर्ष हिमाल पावरको घाटा ११ करोड ३९ लाख रुपैयाँ कायम भएको छ । गत असार २८, २०७७ देखि खिम्तीको आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा आएको र प्राधिकरणले यसको बिजुली पनि अमेरिकी डलरमा किन्न छाडेपछि यसको नाफामा उल्लेखनीय गिरावट आई घाटा हुन थालेको हो ।
हाल प्रािधकरण प्राधिकरणले खिम्तीको बिजुली प्रतियुनिट २ रुपैयाँमा अन्तरिम रुपमा खरिद गर्दै आएको छ । प्राधिकरण र हिमाल पावरबीच भएको विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार खिम्तीको स्वामित्व प्राधिकरणमा ५० प्रतिशत हस्तान्तरण भएपछि छुट्टै संयुक्त कम्पनी खोल्नुपर्नेछ । हाल प्राधिकरण र हिमाल पावरबीच पीपीएको दरमा कुरो नमिलेका कारण त्यस्तो संयुक्त कम्पनी स्थापना हुन सकेको छैन ।
यो आयोजना २७ असार २०५७ देखि सञ्चालनमा आएको हो । २० वर्षसम्म पूर्ण रुपमा अमेरिकी डलरमा बिजुली खरिद गर्नुपर्ने सम्झौता रहेकोमा २०७७ सालदेखि डलर पीपीएको साटो नेपाली मुद्रामा पीपीए गरिने र आधा स्वामित्व प्राधिकरणको हुने बन्दोबस्ती छ ।
खिम्तीको आधा स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुनुअघिसम्म यसले प्राधिकरणलाई वर्ष २ अर्ब रुपैयाँभन्दा बढीको बिजुली बेच्ने गथ्र्याे । आव २०६//६५ मा खिम्तीले प्राधिकरणलाई २ अर्ब १३ करोड रुपैयाँको बिजुली बेचेको थियो ।
अमेरिकी डलरको विनिमयमा भएको वृद्धिसँगै खिम्तीको आम्दानी पनि बढ्दै गएको थियो । आव २०७६/७७ मा खिम्तीले प्राधिकरणलाई ५ अर्ब रुपैयाँभन्दा बढीको बिजुली बेचेको थियो । 
हिउँदयाममा खोलामा पानी कम भएको बखत खिम्तीलाई अधिक बिजुली (पीपीएमा उल्लेख भएको ऊर्जाभन्दा बढी ऊर्जा उत्पादन भएमा) बापत धेरै रकम प्राधिकरणले तिर्नुपर्ने गरी सम्झौता गरिएकाले प्राधिकरणलाई घाटा पर्दै आएको थियो । अझ खिम्तीले सरकारलाई तिर्नुपर्ने विद्युत् रोयल्टी पनि प्राधिकरणले नै तिर्नुपर्ने सम्झौता थियो ।
नेपाल विद्युत् प्राधिकरणलाई टाट पार्ने गरी खिम्तीसहित भोटेकोसीको डलर पीपीए नेपाली कांग्रेस, एमाले र राप्रपा मिलेर गरेका थिए । २०४९ सालमा हिमाल पावर लिमिटेड स्थापना भएपछि यसको पीपीए अमेरिकी डलरमा कांग्रेसका जलस्रोत राज्य मन्त्री लक्ष्मण घिमिरेले सुरुवात गरेका थिए भने एमाले सरकारमा पुगेपछि ‘कम्युनिष्टले सरकार बनाएपछि राजनीतिक जोखिम बढेको’ भन्दै पीपीए दर वृद्धि गरिएको थियो । 
एमालेका तत्कालीन जलस्रोत मन्त्री प्रदीप ज्ञवाली र राप्रपाबाट जलस्रोत मन्त्री भएका पशुपति शमशेर जबराले गरेका थिए ।  
खिम्तीबाट बुटबल पवार कम्पनीले आव २०६४/६५ मा लाभांश बापत मात्रै १५ करोड ६५ लाख रुपैयाँ प्राप्त गरेको थियो । खिम्तीमा बीपीसीको १६.८८ प्रतिशत शेयर छ । खिम्तीको नाफा घट्न थालेपछि बीपीसीको नाफा पनि घट्न थालेको छ ।
आव २०८०/८१ मा बीपीसीको खुद नाफा ३६.४१ प्रतिशतले घटेको छ । आव २०७९/८० मा बीपीसीको करपछिको खुद मुनाफा ३० करोड ५० लाख रुपैयाँ थियो भने आव २०८०/८१ मा उसको नाफा १९ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ । 
यता डलरमा भुक्तानी हुन छाडेको र आधा स्वामित्व प्राधिकरणमा गएका कारण हिमाल पावरको प्रतिशेयर आम्दानी पनि ऋणात्मक ६ रुपैयाँ ४६ पैसा कायम भएको छ । 
बीपीसीले हिजो सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा हिमाल पावरमा भएको आफ्नो लगानी, नाफा नोक्सानबारे विवरण दिएको छ ।

 

प्रकाशित मिति : सोमबार, पुस २९, २०८१ | १५:११:५८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया