काठमाडौँ : विद्युत् नियमन आयोगका दुई सदस्यको गठबन्धनले करिब ६० अर्ब रुपैयाँ लगानी हुने पाँचवटा जलविद्युत् आयोजना विद्युत् खरिद सम्झौता (पीपीए) सम्बन्धी प्रस्ताव रोकेका छन् । नेपाल विद्युत् प्राधिकरणले गत चैतमा २९७.५ मेगावाटका ती आयोजनाको पीपीएका प्रावधान संशोधन गरेर अनुमोदनका लागि आयोगमा पठाएको थियो । आयोगका सदस्य रामेश्वर कलवार र अर्का सदस्य भागीरथी ज्ञवालीले अनुमोदन नगर्ने अडान लिएपछि ती आयोजनाको भविष्य अन्यौलमा परेको हो ।
विद्यमान ऐन, कानुन, नियमावली र आयोग आफैले जारी गरेको निर्देशिकाविपरीत गएर कलवार र ज्ञवालीले निर्णय हुन नदिएर प्रस्ताव अड्काउँदा ती आयोजनाको वित्तीय व्यवस्थापन हुन सकेको छैन । पाँच सदस्यीय आयोगमा अहिले अध्यक्षसहित चार पदाधिकारी छन् । रामकृष्ण खतिवडाले राजीनामा दिएपछि रिक्त सदस्य पद पूर्ति भएको छैन । आयोगको ऐनमा मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिने उल्लेख छ । तर यतिखेर चार सदस्यीय आयोगमा दुई सदस्य प्रस्ताव सदर गर्ने पक्षमा भएकाले बराबर मत हुने तर निर्णायक मत दिने प्रावधानबारे ऐन र नियमावली मौन रहेकाले प्रस्ताव अड्केको हो ।
आयोग स्थापना भएपछि विगतमा भएका विद्युत् खरिद सम्झौता र आयोग क्रियाशील भएपछि हुने त्यस्ता सम्झौतालाई निर्देशिकाले मान्यता दिएको थियो । आफैले हस्ताक्षर गरेर लागू गराएको उक्त निर्देशिका नै गलत भएको कलवार बताउन थालेका छन् । उक्त निर्देशिकाका आधारमा प्राधिकरणले गरेको ६ हजार मेगावाटको पीपीए वैध भएका छन् ।
आफैले हस्ताक्षर गरेर लागू गराएको निर्देशिकाविपरीत गएर कलवारले अहिले आएर उक्त निर्देशका नै गलत भएको अत्तो थाप्न थालेका छन् । ‘निर्देशिका नै गलत छ, हामीलाई थाहा थिएन,
विद्युत् प्राधिकरणले एकाएक १७ प्रतिशतभन्दा बढी ‘रिटर्न अन इक्वीटी’ (पुँजीको प्रतिफल दर- आरवोई) नहुने गरी पीपीए गर्ने नियम ल्याएको थियो । प्रवर्द्धकहरूले आफ्नो लाइसेन्स जोगाउन उक्त प्रावधान बाध्य भई मानेर पीपीए गरेका थिए । पछि प्राधिकरणले कोहीलाई यो नियम लाग्ने, कोहीलाई नलाग्ने भनेर गत भदौमा सञ्चालक समितिको बैठकबाट हटाएको थियो ।
प्राधिकरणले गरेको उक्त निर्णय आयोगबाट सदर गराउनुपर्ने ऐनमा छ । प्राधिकरणले सोही प्रावधान अनुसार बोर्डबाट पारित भएलगत्तै आयोगमा अनुमोदनका लागि पठाएको थियो । आयोगले यो पुगेन र ऊ पुगेन भनेर पत्राचार गर्दागर्दै गत चैतमा माग गरेको विवरण पूर्ण भएको थियो ।
स्रोतका अनुसार आयोग आन्तरिक छलफल गर्ने क्रममा कलवारले भाँजो हाल्दै आएका छन् । कलवार तिनै सदस्य हुन् जो प्राधिकरणका फाइलप्रति नकारात्मक भाव राख्छन् र प्राधिकरणलाई दुःख दिने सदस्यका रुपमा आयोगभित्र चर्चित छन् । प्राधिकरणबाटै ११ तहको निर्देशक पदबाट सेवा निवृत्त भइसकेपछि मधेसीको कोटामा कलवार आएका हुन् ।
विद्युत् आयोग ऐन, २०७४ को दफा ६ (ङ) मा आयोगको सदस्य हुन तीन वर्षको ‘कुलिङ पिरियड’ अनिवार्य हुनुपर्छ । कलवार प्राधिकरणबाट निवृत्त भएको २ वर्ष ११ मात्र भएको थियो । उनको नियुक्ति त्यतिबेलै विवादित भएको थियो ।
आयोगको नियमावलीमा पनि सय मेगावाटभन्दा माथिका आयोजनाको पीपीए गर्दा रिटर्न अन इक्वीटी १७ प्रतिशतभन्दा बढी हुन नहुने उल्लेख छ । त्योभन्दा बढी भएमा पीपीए दर घटाउनुपर्छ । प्राधिकरणले सामान्यतया सय मेगावाटसम्मको आयोजना स्वदेशी लगानीबाट हुने र स्वदेशी लगानीकर्तालाई आकर्षित गर्न यस्तो प्रावधान हटाउनुपर्ने भन्दै सञ्चालक समितिबाट पारित गराएको हो ।
यस सम्बन्धमा आयोगकी सदस्य भगिरथी ज्ञवालीले आफूलाई यससम्बन्धी खासै ज्ञान नभएको तर आगामी एक साताभित्र निर्णय हुने बताइन् । ‘म यसको पक्षमा छु कि विपक्षमा म आयोगमै भनुँला,’ ज्ञवालीले भनिन्, ‘तर हामी विकास विरोधी भने होइन ।’
आयोगमा निर्णयका बेला अर्थशास्त्र पृष्ठभूमि भएकी ज्ञवाली कलवारले जसो जसो भन्यो उसो उसो गर्ने र उनीमाथि कलवारबाट निर्देशित हुने गरेको आरोप लाग्दै आएको छ । आयोग स्रोतका अनुसार यी पाँचवटा आयोजनाका प्रवद्र्धकहरू आफूसमक्ष आएर ‘एकल वार्ता’ गरुन् भन्ने पक्षमा कलवार रहेका छन् । ‘कुनै ऐन, कानुन, कार्यविधि, निर्देशकाले यो प्रस्ताव अड्काउन मिल्दैन,’ स्रोतले भन्यो, ‘कलवारजी यसमा आफ्नो केही स्वार्थ पूरा गराउने दाउमा देखिनुहुन्छ ।’
यी आयोजना दुई वर्षअघि नै निर्माणमा जानुपर्ने थियो । ‘प्राधिकरणले १७ प्रतिशतको सीमा हटाउन दुई वर्ष लगाइदियो । बल्लबल्ल संशोधन गरियो, आयोगले टाङ अडाइदियो,’ एकजना प्रवद्र्धकले भने, ‘आयोगले अनुमोदन नगरेसम्म बैंकहरूसित वित्तीय सम्झौता हुँदैन ।’
प्राधिकरणले नदी प्रवाही (आरओआर) प्रकृतिका आयोजनामा १७ प्रतिशतको सीमा लगाएको छैन । तर यी पाँचवटै आयोजना अर्धजलाशययुक्त हुन् । यो भनेका विद्युत् प्रणालीमा उच्चतम माग (सामान्यतया साँझ) भएका बेला जडित क्षमताअनुसार तीनदेखि चार घण्टासम्म बिजुली उत्पादन गर्न सक्छन् । यही साँझका बेला माग धेरै भएर प्राधिकरणले भारतबाट आयात गरिरहेको छ । यस्तो बिजुली प्राधिकरणको वर्षको २४ अर्ब रुपैयाँको आयात गर्छ ।
यी आयोजना निर्माण भएमा भारतबाट आउने बिजुलीमा आधाभन्दा बढी कटौती हुनेछ । कलवार-ज्ञवाली गठबन्धनको मारमा परेका यी आयोजनाहरूमा दोलखाको ल्याप्चे खोला (९९.४ मेगावाट), खोटाङको सापसुप खोला (६.६ मेगावाट), ताप्लेजुङको मध्यमेवा (४९ मेगावाट), संखुवासभाको इशुवाखोला (९७.२ मेगावाट) र संखुवासभाकै कसुवाखोला (४५ मेगावाट) । यिनको कूल जडित क्षमता २९७.२ मेगावाट छ ।
प्रतिमेगावाट २० करोड रुपैयाँका दरले यी आयोजनामा ५९ अर्ब ४४ करोड रुपैयाँ लगानी हुँदैछ । यसका लागि प्रवर्द्धकहरूले न्यूनतम १७ अर्ब ८३ करोड २० लाख रुपैयाँ लगानी गर्दैछन् । बैंकहरूले ४१ अर्ब ६० करोड रुपैयाँ लगानी गर्न तयार छन् ।
देशमा वैदेशिक लगानीका लागि सरकारले रातो कार्पेट ओच्छ्याइरहेका बेला आयोगका दुई सदस्यको गठबन्धनले यति धेरै लगानी रोकिरहेको छ । हजारौं व्यक्तिले रोजगारी पाउने र सरकारलाई करोडौं रुपैयाँ कर तथा रोयल्टी प्राप्त हुने अवसर गठबन्धनका कारण गुम्ने अवस्थामा पुगेको छ । यस सम्बन्धमा आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह सम्पर्कमा आउन चाहेनन् । तर प्रवक्ता डा. रामप्रसाद धितालले भने आयोगमा छलफल गरिने बताए ।
नाेट : पत्रकार विकास थापा द्वारा लिखित विचारहरूकाे संग्रह
असार ४, २०७८ शुक्रवार ६:५६ बजे
प्रदेश र स्थानीय सडक सुधार्न पनि विश्व बैंकको १७ अर्ब १५ करोड ऋण
३४ वर्ष रजगज गरेका दलहरुले एउटा जलाशययुक्त आयोजना बनाउन सकेनन्
राजस्व सङ्कलनमा १७ प्रतिशतले वृद्धि, पाहिलो चार महिनामा उठ्यो तीन खर्ब २३ अर्ब
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का