कालिन्चोक हाइड्रोपावरकाे आईपीओ निष्काशन तथा बिक्री खुला
जलसरोकार
काठमाडौं : कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज फागुन १३ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै सेयर सार्वजनिक निष्काशन प्रक्रिया अघि बढाएको हो। जलविद्युत् क्षेत्रमा सक्रिय यो कम्पनीले आफ्नो जारी पूँजीको २५ प्रतिशत हिस्सा सर्वसाधारणका लागि छुट्याउने स्वीकृति प्राप्त गरेसँगै आईपीओ प्रक्रिया सुरु गरेको जनाएको छ।
कम्पनीको जारी पूँजी ५५ करोड रुपैयाँ रहेको छ। सोही पूँजीको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरका १३ लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति कम्पनीले पाएको थियो। यसमध्ये ५ करोड ५० लाख रुपैयाँबराबरका ५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। दोलखा जिल्लाको बिगु नगरपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का बासिन्दाले उक्त सेयरका लागि आवेदन दिन सक्नेछन्।
त्यसैगरी, सर्वसाधारण समूहअन्तर्गत छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात ८२ लाख ५० हजार रुपैयाँबराबरका ८२ हजार ५०० कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुरक्षित गरिएको छ। श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीले यस समूहअन्तर्गत आवेदन दिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन अवधि छिटोमा फागुन २७ गतेसम्म रहनेछ भने आवश्यक परेमा चैत १३ गतेसम्म लम्बिन सक्नेछ। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन अवधि छिटोमा फागुन १७ गतेसम्म र ढिलोमा फागुन २७ गतेसम्म कायम गरिएको छ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी (CARE-NP BB) इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने विश्लेषण गरिएको छ। यसले लगानीकर्तालाई सम्भावित जोखिम र प्रतिफलको अवस्थाबारे संकेत दिने अपेक्षा गरिएको छ।
कालिन्चोक हाइड्रोपावरले दोलखा जिल्लामा ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत् आयोजना सञ्चालनमा ल्याएको छ। आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ निर्धारण गरिएको छ। आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अवधि अझै २९ वर्ष ५ महिना बाँकी रहेको छ, जसले दीर्घकालीन आम्दानी सुनिश्चित गर्ने आधार प्रदान गर्छ। कम्पनीका अनुसार साधारण लगानी फिर्ता अवधि ९.१९ वर्ष रहेको छ भने छुट दर (डिस्काउन्टेड) आधारमा लगानी फिर्ता अवधि १५.३६ वर्ष अनुमान गरिएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका अतिरिक्त कालिन्चोक हाइड्रोपावरको कार्यालय, बिगु गाउँपालिका–८, नेपाल बैंक, सिन्धु विकास बैंक तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सिङगटी शाखामार्फत आवेदन दिन सक्नेछन्। स्थानीय आवेदकले दरखास्त फारामका लागि २ रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
विदेशमा कार्यरत नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सि–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।
ऊर्जा क्षेत्रको विस्तार र स्थानीय सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित सार्वजनिक निष्काशनमा आएको कालिन्चोक हाइड्रोपावरको आईपीओले जलविद्युत् लगानीतर्फ सर्वसाधारणको चासो कत्तिको आकर्षित गर्छ भन्ने विषय अब आवेदन अवधिको प्रतिसादले स्पष्ट पार्नेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
२५.१२ गुणा आवेदन पाएको रिज लाइन इनर्जी: कत्तिको बलियो छ वित्तीय आधार?
-
रणनीतिक ऊर्जा परियोजनामा ठूलो निर्णय: बूढीगण्डकी अघि बढाउने मन्त्रिपरिषद्को संकेत
-
तीन प्रसारण लाइन आयोजनाले राष्ट्रिय वन प्रयोग गर्न पाउने, मन्त्रिपरिषद्काे बैठकबाट स्वीकृति
-
रिजलाइन इनर्जीको आईपीओ बाँडफाँट भोलि, २५.१२ गुणा बढी आवेदन
-
कञ्चनपुरको मणिकाधाममा पहिलोपटक विद्युत् सेवा
-
मौद्रिक नीतिको मध्यावधि समीक्षा : मूल्य स्थायित्व कायम राख्दै आर्थिक गतिविधि विस्तारमा जोड