कालिन्चोक हाइड्रोपावरले फागुन १३ देखि आईपीओ निष्काशन गर्ने
जलसरोकार
काठमाडौं : कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ५ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। उक्त शेयर खरिदका लागि दोलखा जिल्लाको बिगु नगरपालिका–८ तथा कालिन्चोक गाउँपालिका–१ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।
त्यस्तै, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ८२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ८२ हजार ५०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन छिटोमा फागुन २७ गते र ढिलोमा चैत १३ गते बन्द हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने निष्काशन छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गते बन्द हुने कम्पनीले जनाएको छ ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले सञ्चालन गरेको ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि २९ वर्ष ५ महिना बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.१९ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १५.३६ वर्ष रहेको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसहित कालिन्चोक हाइड्रोपावर, बिगु गाउँपालिका–८, नेपाल बैंक, सिन्धु विकास बैंक तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सिङ्गटी शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फाराम लिन २ रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्बा’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन पनि सकिने व्यवस्था गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँ बढ्यो
-
यस्तो छ आजको मौसम पूर्वानुमान
-
विद्युत् प्राधिकरणको नयाँ रणनीति : निजी क्षेत्र थिच्दै नाफा बढाउने
-
पूर्वऊर्जामन्त्री खड्कालाई थुनामै राख्न आदेश
-
नयाँ वर्षको पहिलो दिन सेयर बजार उत्साहित, नेप्से ३३ अंकले बढ्यो
-
कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी