सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सञ्चालनसँगै काबेलीको आम्दानीमा उछाल, एक वर्षमै २७ करोड ६९ लाख रुपैयाँ नाफा

जलसरोकार
शनिबार, भदौ २७, २०८३ | १५:५७:२१ बजे

काठमाडौं । सञ्चालनबाट नियमित रूपमा विद्युत् उत्पादन तथा बिक्री सुरु गरेसँगै काबेली हाइड्रोपावर कम्पनी लिमिटेडको आम्दानी र नाफामा उल्लेख्य वृद्धि भएको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा २७ करोड ६९ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीको लेखापरीक्षण गरिएको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा विद्युत् बिक्रीबाट ६८ करोड ९३ लाख ७१ हजार रुपैयाँ आम्दानी भएको छ। बिक्रीसम्बन्धी लागत कटौतीपछि कम्पनीको कुल नाफा ६४ करोड ५ लाख ३२ हजार रुपैयाँ पुगेको देखिन्छ।

अन्य आम्दानी तथा खर्च समायोजनपछि कम्पनीको कुल आम्दानी ६३ करोड ७३ लाख ६५ हजार रुपैयाँ पुगेको छ।

कर्मचारी सुविधा, प्रशासनिक तथा मूल्यह्रास र अमूर्त सम्पत्तिको खर्च कटौतीपछि कम्पनीले सञ्चालनबाट ४८ करोड ७८ लाख ११ हजार रुपैयाँ नाफा गरेको छ। तर, कम्पनीले उक्त अवधिमा १९ करोड ९३ लाख ९१ हजार रुपैयाँ वित्तीय लागत व्यहोरेको छ।

वित्तीय लागत कटौतीपछि बोनस, कर तथा सामाजिक उत्तरदायित्वसम्बन्धी खर्चअघिको नाफा २८ करोड ८४ लाख २१ हजार रुपैयाँ रहेको छ।

कर्मचारी बोनसका लागि ५७ लाख ६८ हजार रुपैयाँ, सीएसआर खर्चका लागि २८ लाख २७ हजार रुपैयाँ तथा वातावरणसम्बन्धी खर्चका लागि थप २८ लाख २७ हजार रुपैयाँ व्यवस्था गरेपछि कम्पनीको करअघिको नाफा २७ करोड ६९ लाख ९९ हजार रुपैयाँ कायम भएको वित्तीय विवरणमा उल्लेख छ।

स्थगित करसम्बन्धी ७८ हजार ५२१ रुपैयाँ खर्च समायोजनपछि कम्पनीको आर्थिक वर्ष २०८२/८३ को खुद नाफा २७ करोड ६९ लाख २० हजार ७७३ रुपैयाँ पुगेको हो।

अघिल्लो वर्ष ६० लाख रुपैयाँ नाफा

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कर तथा सीएसआरपछिको नाफा ६० लाख २३ हजार ९९७ रुपैयाँ मात्र थियो।

यसअनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको देखिन्छ। अघिल्लो वर्ष कम्पनीको आम्दानी तथा सञ्चालन अवस्था अहिलेको तुलनामा निकै सीमित रहेको वित्तीय विवरणबाट देखिन्छ।

प्रति सेयर आम्दानी १६ रुपैयाँ ७८ पैसा

कम्पनीको आर्थिक वर्ष २०८२/८३ को प्रति सेयर आम्दानी पनि १६ रुपैयाँ ७८ पैसा पुगेको छ। अघिल्लो आर्थिक वर्षमा प्रति सेयर आम्दानी ३ रुपैयाँ ६५ पैसा मात्र थियो।

कम्पनीको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ यथावत् रहेको छ भने सञ्चित कोष तथा जगेडा रकम बढेर ५ करोड ४४ लाख ७५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो रकम २ करोड ७० लाख ७० हजार रुपैयाँ थियो।

यससँगै कम्पनीको कुल स्वपुँजी २१ करोड ९४ लाख ७५ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १९ करोड २० लाख ७० हजार रुपैयाँ थियो।

कुल सम्पत्ति ५७ करोड ७७ लाख रुपैयाँ

कम्पनीको कुल सम्पत्ति आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ५७ करोड ७६ लाख ८४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीको कुल सम्पत्ति ५१ करोड ३४ लाख ७ हजार रुपैयाँ थियो।

कम्पनीसँग आर्थिक वर्षको अन्त्यमा नगद तथा बैंक मौज्दात ६ करोड ६० लाख ७२ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मौज्दात १ करोड ३३ लाख १८ हजार रुपैयाँ थियो।

कम्पनीको दीर्घकालीन ऋण भने अघिल्लो वर्षको ३१ करोड ४१ लाख रुपैयाँबाट घटेर २९ करोड रुपैयाँ मा झरेको छ।

सञ्चालनबाट ४९ करोड ७३ लाख रुपैयाँ नगद प्रवाह

कम्पनीको नगद प्रवाह विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गतिविधिबाट ४९ करोड ७३ लाख ५ हजार रुपैयाँ खुद नगद प्रवाह भएको छ।

लगानी गतिविधिमा भने कम्पनीबाट १३ करोड ३८ लाख ८ हजार रुपैयाँ खुद नगद बाहिरिएको छ। यस अवधिमा कम्पनीले सम्पत्ति तथा अमूर्त सम्पत्तिमा लगानी गरेको छ भने एउटा आयोजना बिक्रीबाट समेत रकम प्राप्त गरेको वित्तीय विवरणमा उल्लेख छ।

त्यस्तै, ऋण तथा अन्य वित्तीय गतिविधिबाट १६ करोड ४० लाख ४४ हजार रुपैयाँ खुद नगद प्रवाह भएको छ।

सबै गतिविधिको समायोजनपछि कम्पनीको नगद तथा बैंक मौज्दात वर्षको सुरुआतको १ करोड ३३ लाख रुपैयाँबाट बढेर वर्षको अन्त्यमा ६ करोड ६० लाख रुपैयाँ पुगेको छ।

कम्पनीको पछिल्लो वित्तीय विवरणले विद्युत् उत्पादन तथा बिक्रीबाट नियमित आम्दानी हुन थालेपछि काबेलीको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको संकेत गरेको छ। विद्युत् बिक्रीबाट करिब ६९ करोड रुपैयाँको आम्दानी गर्दै कम्पनीले पहिलो पूर्ण सञ्चालन अवधिमै कर तथा सीएसआरपछिको २७ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

प्रकाशित मिति : शनिबार, भदौ २७, २०८३ | १५:५७:२१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको