सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

स्थानीयलाई जलविद्युत् सेयर अंकित मूल्यमै उपलब्ध गराउन इप्पानको आग्रह

जलसरोकार
आइतबार, साउन १७, २०८३ | १५:४७:२४ बजे

 

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई उपलब्ध गराइने सेयर अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउनुपर्ने धारणा सार्वजनिक गरेको छ।

इप्पानले आइतबार जारी गरेको विज्ञप्तिमा केही जलविद्युत् आयोजनाको साधारण सेयर (आईपीओ) निष्काशन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भएपछि कतिपय प्रवर्द्धक कम्पनीहरूले स्थानीय प्रभावित बासिन्दाका लागि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संस्थाले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ९ को उपनियम ४ मा स्थानीय बासिन्दालाई लाभान्वित गर्ने उद्देश्यले १० प्रतिशत सेयर छुट्याउने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै सोही व्यवस्था अनुरूप स्थानीयलाई अंकित मूल्यमै सेयर उपलब्ध गराउन सम्पूर्ण सदस्य कम्पनीलाई आग्रह गरेको छ।

इप्पानका अनुसार जलविद्युत् आयोजना केवल लगानीको माध्यम मात्र नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकासको अभियान हो। आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव सहने तथा आयोजनाको सफल कार्यान्वयनमा सहयोग गर्ने स्थानीय समुदायलाई स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीयका लागि सेयरको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ।

संस्थाले स्थानीयका लागि छुट्याइएको सेयर प्रिमियम मूल्यमा निष्काशन गरिए उनीहरूको पहुँच सीमित हुने, अपनत्वको भावना कमजोर हुने तथा आयोजना र समुदायबीचको विश्वासमा नकारात्मक असर पर्न सक्ने जनाएको छ।

इप्पानले स्थानीयलाई अंकित मूल्यमा सेयर उपलब्ध गराउँदा उनीहरू आयोजनाका वास्तविक साझेदार बन्ने, स्वामित्वको भावना बढ्ने, सामाजिक विवाद तथा अवरोध कम हुने र आयोजना निर्माण तथा सञ्चालनमा स्थानीय सहयोग थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ। यसबाट जलविद्युत् आयोजनाहरू समयमै सम्पन्न गर्न सहज वातावरण निर्माण हुने र स्थानीय समुदायले दीर्घकालीन आर्थिक लाभ प्राप्त गर्ने अवसर सुनिश्चित हुने संस्थाको भनाइ छ।

इप्पानले नेपाल सरकार, नियामक निकाय तथा प्रवर्द्धक कम्पनीहरूलाई स्थानीय प्रभावित बासिन्दाको हित, आयोजनाको दीर्घकालीन स्थायित्व तथा निजी क्षेत्र र स्थानीय समुदायबीचको सुमधुर सम्बन्धलाई प्राथमिकतामा राख्दै स्थानीयका लागि छुट्याइने सेयर अंकित मूल्यमै उपलब्ध गराउने नीति कायम राख्न आग्रह गरेको छ।

साथै, संस्थाले साधारण सेयर निष्काशनसँग सम्बन्धित नियामकीय प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन तथा सेयर निष्काशनमा भइरहेको ढिलाइका कारण जलविद्युत् आयोजनाले भोगिरहेका समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

प्रकाशित मिति : आइतबार, साउन १७, २०८३ | १५:४७:२४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया