नेपालको जलविद्युतमा लगानीका लागि कोरियन लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह
जलसरोकार
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले दक्षिण कोरियाली लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।
दक्षिण कोरियामा आयोजित 'नेपाल इन्भेष्टर सेमिनार'लाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको र नेपालको कन्ट्री रेटिङसमेत दक्षिण एसियामा भारत बाहेक सबैभन्दा राम्रो रहेकोले नेपालमा ढुक्कसँग लगानी गरी सहज र सुरक्षित प्रतिफल लिन आग्रह गरेका हुन् ।
नेपालको जलविद्युत क्षेत्रमा कोरियन लगानीमा २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाको निर्माण अघि बढाएकोमा धन्यवाद दिंदै अध्यक्ष कार्कीले नेपालमा ऊर्जा उत्वपादनको ठूलो सम्भावनालाई साकार पार्न कोरियाबाट धेरै ठूलो लगानीको अपेक्षा गरेको बताए ।
कोरियामा बसेका नेपालीहरुले समेत नेपालको ऊर्जा क्षेत्रमा प्रवर्द्धक तथा साधारण शेयर होल्डर भएर लगानी गरेको स्मरण गर्दै कार्कीले राष्ट्र र व्यक्तिगत फाइदाका लागि समेत कोरियामा बस्ने नेपालीबाट थप लगानीका लागि आग्रह गरेका छन् ।
हाल नेपालको जलविद्युत्को जडित क्षमता २०० आयोजनाबाट ३२ सय मेगावाट पुगेकोमा झण्डै ८० प्रतिशत अर्थात २६ सय मेगावाट निजी क्षेत्रबाट उत्पादन भइरहेको छ । ४ हजार मेगावाट निर्माणाधीन र त्यति नै क्षमताका आयोजना वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको, १० हजार मेगावाट क्षमताका आयोजना विद्युत खरिद विक्री सम्झौता (पीपीए) को पर्खाइमा रहेको र २८ हजार मेगावाट क्षमताका आयोजना विभिन्न चरणमा रहेको कार्कीले बताए । यी आयोजनाको क्षमताले नेपाल विश्वबजारमा क्लिन इनर्जीको हबको रुपमा स्थापित हुने पनि उनको भनाई थियो ।
नेपालले अहिले वर्षायाममा १ हजार मेगावाट भारत र ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात गरिरहेको छ भने भारतबाट हिउँदमा ७०० मेगावाटसम्म विद्युत आयात गरिरहेको छ । नेपालका ६ हजार साना ठूला नदीनालाबाट २ लाख मेगावाट जलविद्युत उत्पादनको सम्भावना रहेको कार्कीले बताए ।
'विदेशी लगानी विशेष गरी कोरियन लगानीका लागि नेपालमा धेरै ठूलो अवसर छ । नेपालको क्षेत्रीय बजारमा भइरहेको विद्युत् व्यापारले क्षेत्रीय ऊर्जा सहकार्यलाई दर्शाइरहेको छ । यसले नेपाल एसियामा ठूलो ऊर्जा निर्यातकर्ता मुलुक बन्न सक्ने देखाउँछ,' कार्कीले भने ।
सन २०३५ सम्म नेपालले २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएकोमा १५ हजार मेगावाट निर्यात गर्ने र १३ हजार ५०० मेगावा६ आन्तरिक खपत गर्ने लक्ष्य लिएको छ । यसका लागि नेपाललाई ५० बिलियन डलर उत्पादनमा र ८ बिलियन डलर प्रसारण र वितरण संरचना निर्माणमा लगानी चाहिने कार्कीले बताए ।
यो लक्ष्य प्राप्तिका लागि नेपालले लगानीकर्तालाई मात्रै आमन्त्रण गरेको छैन, त्यहाँ आयोजनाका लागि आवश्यक पर्ने कन्सल्ट्यान्ट सेवा, उपकरण उत्पादक, उपकरण आपूर्तिकर्ता, डिजाइनर, बैंकर, बीमक, पुनर्मबीमक लगायतका सेवा प्रदायकका लागि पनि ठूलो अवसर रहेको कार्कीले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र र अर्थमन्त्रीसँग कतारी प्रतिनिधिमण्डलको भेट, नेपाल–कतार द्विपक्षीय लगानी र निजी क्षेत्र सहकार्यमा छलफल
-
कतारी लगानी आकर्षणबारे राष्ट्र बैंकका गभर्नरसँग छलफल
-
नेप्से दोहोरो अंकले घट्यो, ८ अर्बभन्दा बढीको कारोबार
-
अबदेखि जलाशययुक्तको पीपीए दर घटीमा प्रतियुनिट ८.४५ रुपैयाँ र बढीमा प्रतियुनिट १४.८० रुपैयाँ
-
बजेट अर्धवार्षिक समीक्षा : लक्ष्यमा भारी कटौती, विकास खर्च निराशाजनक
-
विद्युत् बिक्री घट्दा मोदी इनर्जीकाे नाफा खुम्चियो