दाना खोला जलविद्युत् (४९.९५ मेगावाट) मा ९ अर्ब ९६ करोडको लगानी सम्झौता

जलसरोकार
शनिबार, पुस २०, २०८१ | १३:१९:१८ बजे

काठमाडौं : लालुपाते हाइड्रोपावर कम्पनी प्रा.लि.ले प्रवर्द्धन  गरेको दाना खोला जलविद्युत् आयोजना (४९.९५ मेगावाट) को ९ अर्ब ९६ करोड रुपैयाँको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ । 
प्रवर्द्धकहरुकाे तर्फबाट २ अर्ब ४९ करोड र बैंकहरुको तर्फबाट ७ अर्ब ४७ करोड रुपैयाँ लगानी हुने गरी हिजो साँझ होटेल याक एण्ड यतिमा आयोजित एक कार्यक्रममा सम्झौता भयो । 
सम्झौता पत्रमा प्रवर्द्धकहरुकाे तर्फबाट लालुपाते हाइड्रोपावरका कार्यकारी अध्यक्ष मोहन डाँगी र नेतृत्वकर्ता सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले हस्ताक्षर गरे । 
सम्झौता अनुसार नेतृत्वकर्ता सानिमा बैंकले एक अर्ब ९७ करोड, नबिल बैंकले १ अर्ब ५० करोड, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, एचआइडीसीएल र नेपाल एसबीआई बैंकले एक, एक अर्ब रुपैयाँ लगानी गर्नेछन् ।
स्वपुँजीको रुपमा लगानी गरिने दुई अर्ब ४ढ करोडको १० प्रतिशत २४ करोड ९० लाख रुपैयाँ स्थानीयको लागि शेयर जारी गरिने, स्वपुँजीको २० प्रतिशत ४९ करोड ८० लाख रुपैयाँ सर्वसाधरणका लागि शेयर जारी गरिने कम्पनीले जनाएको छ । 
स्थानीय र सर्वसाधरणबाट ७४ करोड ७० लाख रुपैयाँ संकलन गरेर बाँकी रहने स्वपुँजी एक अर्ब ७४ करोड ३० लाख रुपैयाँ प्रवर्द्धकबाट  संकलन गरिने भएको छ ।
कार्यक्रममा कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार हालसम्म लगभग एक अर्ब रुपैयाँ स्वपुँजी संकलन गरी ८३ करोड रुपैयाँ खर्च भइसकेको छ । 
कम्पनीका कार्यकारी अध्यक्ष मोहनकुमार डाँगीले यो आयोजना प्राविधिक जनशक्ति र व्यापारिक घरानालाई मिलाएर निर्माण गर्न लागिएको हो । 
नेपाल विद्युत् प्राधिकरणसँग २०८० मंसिर ५ गते यसको विद्युत् खरिद सम्झौता (पीपीए) भएको हो । पीपीएअनुसार यो आयोजनाले ४९.९५ मेगावाट हिउँदयाममा ३०.७० प्रतिशत र वर्षायाममा ६९.३० प्रतिशत बिक्री गरी पहिलो वर्षक एक अर्ब ७७ करोड र ८ वर्षसम्म ३ प्रतिशतका दरले वृद्धि गरी नवौं वर्षमा २ अर्ब २० करोड रुपयाँ प्राप्त हुनेछ । 


हाल यो आयोजना क्यू ४३.७ मा डिजाइन गरिएको छ । यसलाई क्यू ३४.११ अनुसार डिजाइन गर्दा यसको क्षमता ८३.३ मेगावाट हुने देखिएको छ । 
नेपाल र भारतसरकारबीच बी टू बी (दुई व्यावसायिक निकायबीच हुने कारोबार) व्यापार गर्न सक्ने वातावरण बनाएमा वर्षायामको ४.५ महिना ८३.३ मेगावाट उत्पादन गरी ११ करोड १९ लाख युनिट बिजुली भारतमा निर्यात गर्ने गरी भारतयि कम्पनी मणिकरण पावरसँग समझदारी भएको छ ।
यसरी समग्रमा आयोजना लात ११ अर्ब २६ करोड र वार्षिक आय नवौं वर्षदेखि तीन अर्ब हुनेछ भने मेगावाटको हिसाबले प्रतिमेगावाट लाग १३ करोड ५० लाख हुने कम्पनीले जनाएको छ । यसका लागि नेपाल सरकारकाले यथाशीघ्र नीतिगत व्यवस्था (निजी क्षेत्रलाई विद्युत् निर्यात अनुमति) गर्न अत्यावश्यक रहेको कम्पनीले उल्लेख गरेको छ । 
यो आयोजना गण्डकी प्रदेश मनाङ जिल्ला नासौं गाउँपालिकामा रहेको डोना खोला (दाना खोला) को पानी प्रयोग गरी निर्माण गर्न लागिएको हो । आयोजनाको जलाधार क्षेत्रमा डोना लोक रहेको छ । 
काठमाडौंबाट २ सय ५५ किलोमिटर दूरीमा रहेको विद्युत् गृह स्थलमा सरदर ८ घण्टाको निजी गाडीको यात्रामा पुग्न सकिन्छ । यो आयोजना नासौं गाउँपालिकाको वडा नं. २, ३ र ५ मा रहेको छ । 
नासौं गाउँपालिकाको सुन्दर गाउँ वडा नं. २ नाँचै मुख्य प्रभावित क्षेत्र हो । यो वडामा जम्मा ४२ घरधुरी रहेका छन् र शतप्रतिशत गुरुङ वस्ती छ । 


कम्पनीले ४२ घरधुरीलाई बैंकबाट ऋण दिलाएर भए पनि शेयर लगानी गराउने र सकेसम्म तालिम गराएर स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने कम्पनीका अध्यक्ष डाँगीले बताए । उनले वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत हुनुपूर्व आयोजित सार्वजनिक सुनुवाईमा गरिएको प्रतिबद्धताबमोजिम शेयर दिन लागिएको बताए । 
यो आयोजनाको बाँधस्थल समुद्री सतहदेखि २८२१.५ मिटर उचाइमा छ । उक्त बाँधमा दुईवटा मुहान हुँदै दाना खोलाको पानी भूमिगत डिस्यान्डर (बालुवा थिग्य्राउने पोखरी) मा पठाइनेछ । डिसेन्डरबाट तीन किलोमिटर हेडरेस टनेल हुँदै पानी १.६ किलोमिटर पेनस्टक सुरुङ (टर्बाइनसम्म पुर्‍याउने पाइप) मा प्रवेश गराइनेछ । 
हेडरेस र पेनस्टकको बचि २४० मिटर लम्बाईको सर्ज सुरुङ (अकस्मात विद्युत् गृह बन्द गर्दा फर्केको पानीको दबाबलाई कम गराउने खालि सुरुङ) रहनेछ । पेनस्टकपश्चात् भूमिगत विद्युुत् गृह र भूमिगत स्वीचयार्ड रहनेछ । 
हालसम्मको प्रगति
आयोजनास्थलमा विद्युत् गृहको क्याम्प, आर्मी क्याम्प निर्माण सम्पन्न भएको कम्पनीले जनाएको छ । पहुँच मार्ग द्रुत गतिमा निर्माण भइरहेको र आयोजनाका लागि आवश्यक निजी जग्गा खरिद गरिएको कार्यकारी अध्यक्ष डाँगीले बताए 
प्रारम्भिक वातावरणीय परीक्षण अनुसार आयोजनालाई आवश्यक पर्ने ४.८ हेक्टर जग्गा मन्त्रिपरिषद्मा जाने प्रक्रियामा रहेको छ । 
कम्पनीले ठेक्का प्रक्रियालाई पारदर्शी बनाउने उद्देश्यले गत असोज २२ गते सूचना प्रकाशित गरी सिभिल कार्यका लागि प्राविधिक रुपमा छनौट भउका ६ वटा कमपनहिरुलाई आर्थिक प्रस्ताव माग गरिएको र सबैले पेश गरिसकेको कम्पनीले जनाएको छ । 
त्यसैगरी आयोजनाको हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकाल कार्यका लागि प्राविधिक प्रस्तावहरु पेश भएका छन् । सिभिलको छनौट पछि यी दुई लटका प्रस्तावहरु छनौट गरी आर्थिक प्रस्ताव माग गरिने कम्पनीले जनाएको छ ।
अबको एक महिनाभित्र सिभिल ठेकेदार छनौट गरी सुरुङ खन्ने कार्य प्रारम्भ गरिने र त्यसको तीन महिनाभित्र बाँकी ठेकेदार पनि छनौट गरिने भएका छन् ।
 

प्रकाशित मिति : शनिबार, पुस २०, २०८१ | १३:१९:१८ बजे

प्रतिक्रिया