सोचेर मात्र लगानी गर्नुहोस्’ : युवालाई सेयर बजारमा प्रवेश गर्दा सावधानी अपनाउन धितोपत्र बोर्डको सुझाव
जलसरोकार
काठमाडौं : लगानीकर्ताको बढ्दो आकर्षणसँगै धितोपत्र बजारमा जोखिम पनि बढ्दै गएको भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले युवासहित सर्वसाधारण लगानीकर्तालाई सूचनामा आधारित निर्णय लिन आग्रह गरेको छ।
विश्वव्यापी रूपमा मनाइने ग्लोबल मनी विक २०२६ को अवसर पारेर बोर्डले सार्वजनिक गरेको सन्देशमा धितोपत्र बजारमा लगानी गर्दा बजारको उतारचढाव, कम्पनीको वास्तविक अवस्था र व्यक्तिगत लगानी क्षमतालाई ध्यानमा राख्नुपर्नेमा जोड दिएको छ।
धितोपत्र बजारमा पछिल्ला वर्षहरूमा युवाको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ। तर सामाजिक सञ्जाल, अफवाह र अनौपचारिक स्रोतका आधारमा गरिने लगानी निर्णयले जोखिम बढाउने भएकाले लगानीअघि पर्याप्त अध्ययन आवश्यक रहेको बोर्डको भनाइ छ।
बोर्डका अनुसार प्राथमिक बजारमा लगानी गर्दा कम्पनीको आह्वान–पत्र, व्यवस्थापन समूह, वित्तीय अवस्था तथा परियोजनाको सम्भाव्यता जस्ता पक्षको अध्ययन गर्नुपर्छ। यस्तै दोस्रो बजारमा कारोबार गर्दा कम्पनीले सार्वजनिक गर्ने वित्तीय विवरण, लाभांश घोषणा, व्यवस्थापन परिवर्तन तथा उद्योग क्षेत्रको समग्र अवस्थाले सेयर मूल्यमा पार्ने प्रभावलाई विश्लेषण गर्नुपर्ने बताइएको छ।
धितोपत्र बजारमा लगानी गर्दा व्यक्तिगत लगानी लक्ष्य, समयावधि र जोखिम सहन सक्ने क्षमतालाई स्पष्ट रूपमा मूल्यांकन गर्नुपर्ने बोर्डको सुझाव छ। लगानीकर्ताले छोटो समयमै अत्यधिक नाफा हुने अपेक्षामा निर्णय गर्नुको सट्टा दीर्घकालीन दृष्टिकोण अपनाउनुपर्नेमा पनि बोर्डले जोड दिएको छ।
बोर्डले सामाजिक सञ्जालमार्फत फैलिने अनुमान, अफवाह वा भ्रामक प्रचारको आधारमा लगानी नगर्न पनि सचेत गराएको छ। फेसबुक, युट्युब, टिकटक वा अन्य अनलाइन माध्यममा आउने अपुष्ट सूचना र ‘हट टिप्स’ का आधारमा गरिएको लगानीले ठूलो वित्तीय क्षति निम्त्याउन सक्ने चेतावनी दिइएको छ।
यस्तै, बजारमा देखिने अचानक मूल्य उतारचढाव, आन्तरिक सूचना प्रयोग, कृत्रिम कारोबार जस्ता गतिविधिप्रति पनि सजग रहन लगानीकर्तालाई आग्रह गरिएको छ। लगानीकर्ताले धितोपत्र कारोबार गर्दा बैंकिङ माध्यमबाट मात्र रकम लेनदेन गर्नुपर्ने र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायीमार्फत मात्र कारोबार गर्नुपर्ने व्यवस्था रहेको बोर्डले स्मरण गराएको छ।
बोर्डले लगानीकर्तालाई जोखिम व्यवस्थापनका लागि लगानी विविधीकरण गर्न तथा आकस्मिक अवस्थाका लागि छुट्टै कोष राख्न पनि सुझाव दिएको छ। वित्तीय साक्षरता अभिवृद्धिका लागि बोर्ड, नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण तथा अन्य नियामक निकायका आधिकारिक स्रोतबाट जानकारी लिनुपर्ने पनि बोर्डको सन्देशमा उल्लेख गरिएको छ।
धितोपत्र बजारको तीव्र विस्तारसँगै लगानीकर्ताको संख्या बढिरहेको अवस्थामा वित्तीय साक्षरता र सूचनामा आधारित लगानी संस्कार विकास गर्नु आवश्यक भएको बोर्डले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मध्य र पूर्वी नेपालका २५ जिल्ला वर्षाको पहेँलो चेतावनीमा, मौसम विभागले सतर्क रहन आग्रह
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?