मेलम्चीको नआउँदासम्म वैकल्पिक माध्यमबाट काठमाडौंमा पानी वितरण गर्न निर्देशन
जलसरोकार
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिएका छन् । शनिबार सुन्दरीजलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्ने क्रममा उनले वर्षायाममा मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्थामा अरू स्रोतबाट व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।
उनले काठमाडौंवासीका निम्ति बाह्रै महिना सफा, शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आग्रह गरे । उनले भने, “मानिसको जीवनमा सबैभन्दा महत्त्वपूर्ण पानी हो । काठमाडौंमा वर्षभरि सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न जे आवश्यक पर्छ, त्यो गर्नूस् । बजेट, आधुनिक उपकरण र जनशक्ति जे चाहिन्छ, मन्त्रालयबाट म व्यवस्था गर्छु ।”
मन्त्री यादवले हाल काठमाडौंमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गरे । वैकल्पिक स्रोत प्रयोग गरेर पानी आपूर्ति गर्न उनले निर्देशन दिए । उनले वाग्मती नदीको र भूमिगत पानीलाई प्रशोधन गरी वितरणको व्यवस्था मिलाउन आग्रह गरे ।
मन्त्री यादवले काठमाडौंमा आधुनिक पानी प्रशोधन केन्द्रहरूको स्थापना, पुराना पाइपलाइनको मर्मत तथा पुनर्निर्माण, डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्ने योजना पनि सुनाए । उनले भने, “पानी वितरणलाई प्रभावकारी बनाउन र जनतालाई सन्तुष्ट पार्न हामीले डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्नेछौँ ।”
मन्त्री यादवले काठमाडौंमा मात्र नभएर देशका अरू स्थान, विशेष गरी तराई–मधेसमा देखिएको पानीको समस्याप्रति पनि चिन्ता व्यक्त गरे । उनले मधेसमा चापाकल (ह्यान्ड पम्प) सुक्दा निम्तिएको समस्यालाई समाधान गर्न पनि काम गरिरहेको जानकारी दिए ।
उनले भने, “कुनै जमानामा तराई–मधेस क्षेत्रमा ८० फिट खन्दा पानी आउँथ्यो । तर, अहिले ४०० फिट खन्दा पनि पानी आइरहेको छैन । समस्या विकराल छ । यसलाई समाधान गर्न हामीले काम गरिरहेका छौँ ।”
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो
-
आर्थिक वर्ष २०८२/८३ मा ३,२११ मेगावाट क्षमताका ९९ जलविद्युत् आयोजनाले पाए सर्वेक्षण अनुमति
-
केही स्थानमा भारी वर्षाको सम्भावना