बाढी-पहिरोले विद्युत्मा २.५ अर्ब, सिंचाईमा १.३५ अर्ब रुपैयाँ क्षतिको प्रारम्भिक अनुमान, ११ सय मेगावाट अवरुद्ध


काठमाडौं : गत बिहीबारदेखि शनिबारसम्म परेको अबिरल वर्षाका कारण देशभर विद्युततर्फ साढे दुई अर्ब र सिंचाइतर्फ एक अर्ब ३५ करोड रुपैयाँको क्षति भएको प्रारम्भिक विवरण ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले ऊर्जा र जलस्रोत क्षेत्रमा भएका क्षति, उद्धार, राहत र प्रतिकार्यबारे जानकारी दिन मन्त्रालय आयोजना गरेको पत्रकार सम्मेलनमा हाल ११ सय मेगावाट बराबरको जलविद्युत् रोकिएको जानकारी दिए ।
उनले पत्रकार सम्मेलनमा कुल ६२५.९६ मेगावाट जडित क्षमताका ११ वटा सञ्चालनमा रहेका आयोजनाहरुमा क्षति भएको बताए । सबै गरेर विद्युत्तर्फ साढे दुई अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उनले जानकारी दिए । ‘यो एकदमै प्रारम्भिक अनुमान हो, योभन्दा कम हुँदैन, अझ बढ्ने देखिन्छ,’ पत्रकार सम्मेलनमा मन्त्री खड्काले भने ।
मन्त्री खड्काका अनुसार कुल १०१०.२९ मेगावाट जडित विद्युत् क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत आयोजनाहरुमा क्षति भएको छ । मन्त्री खड्काले गत वर्ष पूर्वी क्षेत्रमा आएको बाढीले विद्युत् क्षेत्रमा मात्र १० अर्ब रुपैयाँभन्दा बढी क्षति भएको स्मरण गरे ।
उनका अनुसार सिंचाईं तर्फ एक अर्ब ३५ करोड रुपैयाँ बराबरको संरचना क्षति भएको र यसको थप विवरण अझ आउन बाँकी नै रहेको बताए ।
मन्त्रालयअन्तर्गतकै जल तथा मौसम विज्ञान विभागले गरेको पूर्वानुमानका कारण हाल भएको क्षति निकै कम भएको पनि बताए । ‘विभागले असोज १० देखि नै भारी वर्षा हुने पूर्वानुमान गरेकै कारण अपनाइएको सचेतनाले अझ क्षति कम हुन पुग्यो,’ उनले भने, ‘म यस दुखद घडीमा निधन भएकाहरु सबैप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्छु साथै मृतकका आफन्तप्रति समवेदना पनि ।’
विकासको आधुनिक पूर्वाधारको रुपमा रहेका जलविद्युत आयोजनाहरु तथा सिंचाईका निर्माणाधीन तथा निर्माण सम्पन्न भई संचालनमा रहेका आयोजनाहरुमा पनि बाढी र पहिरोले ठुलो क्षति पुर्याएको मन्त्रालय जनाएको छ ।

‘क्षतिसम्बन्धी विवरण एवं तथ्यांकहरु प्राप्त हुने क्रम जारी नै रहेको हुँदा पूर्णरुपमा तथ्यांकहरु संकलन भए पश्चात थप अद्यावधिक गरिने छ, ’ पत्रकार सम्मेलनमा वितरित मन्त्रालयको विज्ञप्तिमा छ ।
वंगालको खाडीमा उत्पन्न भएको जलवाष्पयुक्त वायुको सक्रिय वहावका साथै त्यस क्षेत्रमा बनेको न्यून चापिय प्रणालीको प्रभावका कारण गत असोज १० गते बेलुका देखि १२ गतेसम्म मुलुकभर निरन्तर वर्षा भएको थियो ।
निरन्तर परिरहेको अविरल वर्षाको कारण मुलुकका अधिकांश भागमा बाढी, पहिरो र डुबानको प्रकोपले ठुलो मात्रामा जनधनको क्षति पुर्याएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता