सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

‘ग्यास उद्योगीलाई पाता कस्नुपर्ने’ उद्योगमन्त्रीको अभिव्यक्तिप्रति उद्योगीको आपत्ति

जलसरोकार
बुधबार, भदौ २४, २०८३ | १६:४१:३५ बजे

 

काठमाडौं : ग्यास अभावको सम्पूर्ण दोष उद्योगीमाथि थोपर्दै उद्योगमन्त्री गौरी यादवले ‘ग्यास उद्योगीलाई पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भन्दै नेपाल एलपि ग्यास उद्योग संघले कडा आपत्ति जनाएको छ ।

संघले मन्त्री यादवलाई आरोप प्रमाणित गरेर कारबाही गर्न वा उद्योगीसँग सार्वजनिक रूपमा माफी माग्न चेतावनी दिएको छ । संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले मन्त्रीको अभिव्यक्ति गम्भीर भएकाले त्यसलाई सामान्य रूपमा नलिइने बताए ।

‘मन्त्रीले हामीमाथि निकै ठूलो आरोप लगाउनुभएको छ । यो हामीले सहेर बस्ने कुरा होइन । कि मन्त्रीले आरोप प्रमाणित गरेर कारबाही गर्नुपर्‍यो, होइन भने उहाँले माफी माग्नुपर्‍यो,’ घिमिरेले भने, ‘यो विषय वारपार नभई सेलाउँदैन ।’

घिमिरेका अनुसार मन्त्रीको अभिव्यक्तिबारे छलफल गर्न संघको बैठक बुधबार साँझ बस्दै छ । बैठकले मन्त्रीको भनाइको प्रतिकार कसरी गर्ने भन्नेबारे निर्णय गर्ने उनले बताए । मन्त्रीले गम्भीर आरोप लगाएकाले संघले पनि सोहीअनुसार सशक्त रूपमा प्रतिवाद गर्ने उनको भनाइ छ ।

 

उद्योगमन्त्री गौरी यादवको भनाइ जस्ताको तस्तैः
हामीसँग ग्यास उद्योग ५८ वटा छ । अब ५९ वटा बनाउने हो कि होइन ? हाम्रो जस्तो देशमा दुई वटाभन्दा बढी ग्यास उद्योग चाहिएको छैन । साँच्चिकै सोध्नुहुन्छ भने धेरैमा दुइटा । सबै खारेज गर्नुपर्छ ।

 

मैले पनि हात जोडेरै सबलाई भनेको छु कि ग्यासको आपूर्ति सहज बनाइदिनुस् । सबै उद्योगीहरूलाई बसाएर भनेको छु । तर हात जोडेर नहुँदोरहेछ भनेर बुझियो ।

 

उहाँले भन्नुभो, विधेयकहरू ल्याउनुस् । विधेयक के को लागि, कहाँ ल्याउनुहुन्छ ? तपाईं विधेयक बनाउन कर्मचारीलाई भन्नुहुन्छ, कर्मचारीहरू के गर्छन् ? सबै उद्योगीलाई राखेर हाम्रो देशलाई उनीहरूको हिसाबले चलाउने बनाइदिएको छ । यो चाहे तपाईं हुनुस्, अर्को पार्टी होस्, चाहे हाम्रो पार्टी होस् । सबै उद्योगीहरूको हिसाबले हाम्रो कर्मचारीतन्त्रले चाइराखेको छ । तपाईं भन्नुस्- यो चेन्ज गरेर ल्याउनुस्- ‘हुँदैन, मिल्दैन हजुर भन्छन् ।’ तपाईं १० चोटि भन्नुस्, ‘मिल्दैन’ भनेर भन्छ । के गरौँ ।

यस्तो बलियो सरकारमा त यो हाल छ भने कर्मचारीहरूको… अरू सरकारलाई म दोष दिँदिनँ । त्यो बेला त बिचरा सबै मिलेर बनाएको सरकार थियो । अहिले यस्तो बलियो सरकारमा त कर्मचारीहरूले केही चल्न दिएको छैन ।

विधेयक लिएर आउनुस् भन्यो, जस्ताको त्यस्तै आउँछ । चेन्ज गर्न भन्नुस्, मान्दैन कर्मचारी । यहीँ हुनुहुन्छ सचिवज्यूहरू, मान्दैनन् । जे उद्योगीहरूले भन्छ, त्यही राख्न भन्छन् । उहाँहरूसँग छलफल गर्ने, उहाँहरूको सल्लाह-सुझाव लिने हो नि ! उहाँहरूले भनेको हामीले राख्नै पर्छ रे ?

मानौँ न, यो कलमको हाम्रो मार्केटमा २ रुपैयाँ छ, तर यसको कच्चा पदार्थ तपाईं लिएर आउनुभयो भने ४ रुपैयाँ पर्छ । के हाम्रो उद्योगले कम्पिट गर्न सक्छ ? त्यो तयारी माल बाहिरबाट २ रुपैयाँमा, त्यही ४ रुपैयाँमा ल्याएर र मेटेरियल बनाएर को उद्योगीले बनाउन सक्छ ? यहाँ उद्योगधन्दा खोल्ने वातावरण छैन, किनभने उद्योगीहरूको हिसाबले यहाँ बनाइएको छ, सबै नियम-कानुन त्यसरी छ ।

चेन्ज गर्न खोज्दा तपाईं सबैको आँखाको तारो म बनेको छु । सबै उद्योगीहरूले मलाई टार्गेट गरिरहेका छन् । म धेरै चेन्ज गर्न खोजिरहेको छु, तर गर्न सकिरहेको छैन । कर्मचारीले साथ नदिएसम्म तपाईं केही पनि गर्न सक्नुहुन्न । तपाईं भन्नुहुन्छ नि लोकसेवाको ब्रेन छ, त्यो ब्रेन गलत दिशामा लागेको छ। त्यो ब्रेन सही दिशामा लाग्दियो भने यो देश कहाँबाट कहाँ पुग्थ्यो ! तर पुग्दैन, किनभने तपाईंलाई साथ दिँदैन त्यहाँ । एक्लै तपाईं केही पनि गर्न सक्नुहुन्न । यो कर्मचारीतन्त्रलाई सुधार्नुपर्ने बेला आएको छ ।

युवाहरूले चाह्यो भने यो कर्मचारीहरूलाई ठीक पारेर अगाडि बढ्न सक्छ । तर मैले आदेश दिने हो, त्यो आदेशको पालना भएन भने म के गर्न सक्छु ? यस्तो बलियो सरकारको मलाई साथ छ, तर पनि मलाई कर्मचारीहरूले यति दुःख दिएको छ कि, म केही पनि गर्न सक्दिनँ । त्यस्तो अवस्थामा पुर्‍याएको छ ।

सबै समितिबाट उद्योगीहरूलाई निकाल्नुपर्छ । यहाँ आफ्नै हिसाबले, सरकारको हिसाबले, जो देशहितमा छ, राष्ट्रहितमा छ त्यसरी कानुन बनाउनुपर्छ भन्दाखेरी के भन्छ- ‘हजुर मैले सकिनँ, योभन्दा बढी म गरेर ल्याउन सक्दिनँ’ भनेर सिधै जवाफ फर्काउँछ । सबैको अगाडि भनिरा’छु । यहीँ हुनुहुन्छ, कोही मान्दैन ।

५८ वटा हाम्रो देशमा चाहिएको होइन नि ! ठूलो-ठूलो कन्ट्रीमा तीन वटाभन्दा बढी छैन ग्यास उद्योग, यहाँ किन ५८ वटा छ ? किनभने करोडौँ लिएर उनीहरूलाई लाइसेन्स दिएको छ । उद्योगीहरू पनि त्यो करोडौँ त उठाउनुपर्‍यो नि ! उनीहरू उठाइरहेको छ ।

मैले धेरै अगाडिसम्म गएर बोलेँ, किनभने म यो देशलाई हाँसेको हेर्न चाहन्छु । यसले मलाई धेरै प्रभाव पनि पार्छ, मलाई थाहा छ। मलाई एकदमै नराम्रो बनाउला, आज म यो विषयमा यति अगाडिसम्म बढेर बोल्दा । तर देशको लागि गर्ने हो भने यो हामीले बुझ्नैपर्ने कुरा हो । पार्टीको कुरा होइन, देशको कुरा हो । जब देशको कुरा आउँछ नि, त्यो पार्टीभन्दा अगाडि बढेर गर्नैपर्छ । अब जे भन्नुहुन्छ म त्यही गर्छु, तर त्यो उद्योगीहरूलाई पाता नफर्काएसम्म यो ग्यास सहज हुँदैन भनेर मेरो अन्तिम विश्लेषण यही हो । हस, धन्यवाद ।

प्रकाशित मिति : बुधबार, भदौ २४, २०८३ | १६:४१:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया