काठमाडौं : भारतको केन्द्र सरकारले नेपालको कोसी ब्यारेजमा बर्खाको पानी जम्मा गरी हिउँदमा उसको मेची नदीमा मिसाउने बृहत् योजना स्वीकृत गरेको छ । नेपालको मेची नदी भारतको महानन्दामा मिसिन्छ । यसबाट भारतमा बाढी नियन्त्रण हुने र सुख्खायाममा नियन्त्रित पानीले उसको दुई लाख हेक्टरभन्दा बढी जमिनमा सिंचाइ गर्ने योजना छ । डुबान र नदी कटानको समस्या भने नेपालले झेल्नुपर्नेछ । भारतको केन्द्रीय जलशक्ति मन्त्रालयअन्तर्गत जलस्रोत विभाग, नदी विकास, गंगा कायाकल्प (रिजुभेनेसन) सम्मिलित ‘इन्भेष्टमेन्ट क्लियरेन्स कमिटी’ को १४ औं बैठकले गत अक्टोबर १० तारिखमा यस योजनालाई स्वीकृत गरेको हो ।
कमिटीको उक्त निर्णय कार्यान्वयन गर्न जलशक्ति मन्त्रालयले मातहतका निकायलाई हिजो मंगलबार परिपत्र गरेको छ । जलस्रोत विभाग, नदी विकास र गंगा कायाकल्पअन्तर्गतको स्टेट प्रोजेक्ट वीङका उपनिर्देशक आर. साराभनानले हस्ताक्षर गरी कार्यान्वयन गर्न सम्बध्द निकाय गरेको परिपत्र इकागजले प्राप्त गरेको छ ।
उक्त परिपत्रअनुसार नेपालको कोसी ब्यारेजमा पानीको क्षमता बढाई त्यसबाट ५७३ क्यूमेक्स पानी पूर्वी कोशी मुख्य नहरमार्फत् भारतीय भूमिमा पर्ने मेची नदीमा मिसाउने (रिभर लिंकिङ) योजना छ । यसका लागि भारतीय केन्द्र सरकारले ४९ अर्ब रुपैयाँ स्वीकृत गरेको पनि परिपत्रमा उल्लेख छ ।
कोसीको अतिरिक्त दुई अर्ब पाँच करोड घन मिटर पानी महानन्दा नदी बेसिनअन्तर्गतको मेची नदीमा मिसाउने भारतीय योजना छ । जूनदेखि अक्टोबरसम्म वर्षाको बाढी जम्मा पारी बिहारको अररिया, पूर्णिया, किसानगञ्ज र कटिहारको सिंचाइको आवश्यकता परिपूर्ति गरिने उल्लेख छ ।
यसबाट बिहारका यी चार जिल्लाको २ लाख १० हजार पाँच सय १६ हेक्टर जनिमा सिंचाइ सुविधा पुग्नेछ । यो पानी उसले विद्यमान संरचना (पूर्वी कोसी मुख्य नहर) बाट लैजाने र नहरको अन्त्यदेखि मेची नदीसम्म ४१.३० किलोमिटर थप नहर बनाइने मिसाइने उल्लेख छ । ‘यो योजनाको अन्य मुख्य उल्लेखनीय फाइदामा कोसी नदीको तल्लो तटीय क्षेत्रमा बाढी नियन्त्रण हो,’ निर्णय परिपत्रमा छ ।
यो योजनालाई भारतको केन्द्रीय जल आयोगले परीक्षण गरेको र आर्थिक-प्राविधिक रुपमा कार्यान्वयनयोग्य ठहर्याएपछि स्वीकृत गरेको जनाएको छ । भारतको जलस्रोत विभाग, सिंचाइ बाढी नियन्त्रण तथा बहुउद्देश्यीय योजनाको गंगा कायाकल्प, नदी विकासको सल्लाहकार समूहले सन् २०१६ को जुलाई ८ मा स्वीकृत गरेको थियो ।
यसअघि यो योजना इन्भेष्टमेन्ट क्लिरेन्स कमिटीको ११ औं बैठकमा छलफल भएको थियो । यसलाई निधो गर्न नेपालसँग विद्यमान सम्झौताको ढाँचाभित्र रही सम्बध्द सरोकारवाला निकायहरुसित छलफल गर्ने निर्णय भएको थियो ।
नेपालसँग हालसम्म कुनै परामर्श र जानकारी नदिईकन स्वीकृत भएको यो योजनासम्बद्ध उसका सरोकारवालाहरुको बैठकले कोशी गण्डक संयुक्त, समितिलाई यससम्बन्धी जानकारी दिइएको जनाएको थियो । नेपाल र भारतबीच सम्पन्न कोसी र गण्डक सम्झौताअनुसार यसको कार्यान्वयनमा देखापरेका समस्या समाधान गर्ने दुवै मुलुकको प्रतिनिधित्व हुने गरी ‘कोसी गण्डक संयुक्त समिति’ अस्तित्वमा छ ।
उक्त बैठकले अन्तर राज्य नदी जोड्ने यो योजनाअन्तर्गत कोसी ब्यारेजमा बढोत्तरी हुने पानीको परिमाणयुक्त पोखरी (पन्डोज) को निकासका लागि आवश्यक योजना बनाउन पनि निर्देश गरेको परिपत्रमा उल्लेख छ ।
उक्त निर्देशअनुसार कोसीको पानी मेचीमा मिसाउनेसम्बन्धी प्रस्ताव, कोसी ब्यारेजमा आवश्यक पर्ने पोखरीको विस्तार र पूर्वी नहरबाट निकास हुने ५ सय ७३ क्यूमेक्स पानीको परिमाणबारे बिहार सरकारले गत अगष्ट १४ मा नेपाल-भारत कोसी गण्डक संयुक्त समितिलाई जानकारी गराइएको पत्र दिइएको पनि उल्लेख गरेको छ ।
योजनाबाट निर्णयअनुसार ५७३ क्यूमेक्स पानी पूर्वी कोशी मुख्य नहरमार्फत् भारतीय भूमिमा पर्ने मेची नदीमा मिसाउने (रिभर लिंकिङ) योजना छ । यसका लागि भारतीय केन्द्र सरकारले ४९ अर्ब रुपैयाँ स्वीकृत गरेको पनि परिपत्रमा उल्लेख छ ।
यता सिंचाइ विभागले भारतीय प्रस्तावबारे औपचारिक तथा अनौपचारिक रुपमा कहींबाट जानकारी नआएको जनाएको छ । उक्त निर्णयअनुसार जलशक्ति मन्त्रालयअन्तर्गतको नेशनल वाटर डेभलपमेन्ट एजेन्सी, केन्द्रीय जल आयोगले लगानीसम्बन्धी निर्णयका लागि प्रस्ताव गरेको थियो । ‘यी सबै विस्तृत विवेचनापछि कमिटीले लगानी गर्ने निर्णयमा पुगेको हो,’ परिपत्रमा उल्लेख छ ।
परिपत्रमा यो योजना सुरु गर्नुअघि नेपाल-भारत द्विपक्षीय सन्धिमा उल्लिखित प्रावधान पूरा गर्नुपर्ने पनि भनिएको छ । यो योजना उसले पाँच वर्षभित्र पूरा गर्ने भनेको छ ।
भारतले पानी भएको क्षेत्रबाट नभएको क्षेत्रमा आपूर्ति गर्न बहुचर्चित एवं विवादास्पद ‘रिभर लिंकिङ प्रोजेक्ट’ लागू गरेको छ । यो प्रोजेक्टअन्तर्गत पहिलो रिभर लिंकिंङ मध्य प्रदेशको केन–बेटवा हो । पानी धेरै भएको केन नदी मध्य प्रदेशमा पर्छ भने बेटवा उत्तर प्रदेशमा ।
नेपाललाई पर्ने असर
नेपालले पनि सुनकोसी १ र २ गरी बृहत् बाँधयुक्त जलविद्युत् आयोजना अध्ययन गरिरहेको छ । यी दुई आयोजना कार्यान्वयन भएमा सुनकोसीको बर्खायामको सबै पानी थुनी भारतको बाढी नियन्त्रणलाई निकै सघाउ पुग्ने नेपालको जलस्रोत क्षेत्रका अधिकारीहरु बताउँछन् ।
त्यसैगरी लगानी बोर्डले ७६२ मेगावाटको अर्को जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि अन्तर्राष्ट्रिय बिडिङ गरिसकेको छ भने उपयुक्त प्रवद्र्धकको छनौट अन्तिम चरणमा पुगेको छ ।
भारतीय सरकारी कम्पनी सतलजले अरुण तेस्रोमा ९०० मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यसले पनि बर्खायामको पानी छेक्छ । ‘सुनकोसी, तमोर अरुण नदीमा ठूला बाँध बनाएपछि भारतलाई कोसी उच्च बाँध बनाउनै पर्दैन,’ सिंचाइ मन्त्रालयका एक अधिकारीले इकागजसित भने, ‘उसको सप्तकोसी उच्च बाँध नबनाइकन बर्खायामको बाढी नियन्त्रण र हिउँदयामको अमृतसमान पानी लैजाने योजना छ । यी तीन प्रमुख नदीको पानी नियन्त्रण गर्न सकिने हुन्छ ।’
भारतले नेपाललाई कोसीका दुवै तटबन्ध मर्मत गरी ‘बलियो पारिदिने’ अनौपचारिक प्रस्ताव पनि गरेको छ । नेपालले यो प्रस्ताव स्वीकार गरेमा कोसी क्षेत्र डुबान र कटानको चपेटामा पर्ने निश्चित छ । भारत स्वयंले पनि कोसी ब्यारेजको पन्ड लेभल (पानीको परिमाणयुक्त तह) बढाउनुपर्ने उल्लेख गरेको छ । भारतले बलियो पारिदिने भनेको यही तटबन्ध २०६४ सालमा फुटेर सुनसरीमा ठूलो जनधनको क्षति भएको थियो । कोसी सम्झौता अनुसार तटबन्ध मर्मत तथा ब्यारेज सञ्चालन भारतीय नियन्त्रणमा छ ।
नाेट : पत्रकार विकास थापा द्वारा लिखित विचारहरूकाे संग्रह
मंसिर १०, २०७७ बुधवार १७:२६ बजे
प्रदेश र स्थानीय सडक सुधार्न पनि विश्व बैंकको १७ अर्ब १५ करोड ऋण
३४ वर्ष रजगज गरेका दलहरुले एउटा जलाशययुक्त आयोजना बनाउन सकेनन्
राजस्व सङ्कलनमा १७ प्रतिशतले वृद्धि, पाहिलो चार महिनामा उठ्यो तीन खर्ब २३ अर्ब
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का