भारतले दियो थप १२ जलविद्युत् आयोजनालाई निर्यात स्वीकृति
नेपालले अब २८ आयोजनाका ९४१ मेगावाट निर्यात गर्न पाउने
जलसरोकार
काठमाडौं : भारतले नेपालबाट थप २५१ मेगावाटका १२ वटा जलविद्युत् आयोजनाहरुबाट उत्पादित बिजुली निर्यातका लागि स्वीकृत गरेको छ ।
यसअघि भारतले १६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ६९० मेगावाटको निर्यातका लागि अनुमति दिएको थियो । थप १२ सहित अब नेपालले २८ वटा आयोजनाबाट उत्पादन भएका तथा हुने ९४१ मेगावाट बिजुली निर्यात गर्ने जानकारी भारतीय दूतावासले नेपाल विद्युत् प्राधिकरणलाई आज दिएको हो ।
दूतावासले निर्यातका लागि अनुमति दिइएको थप १२ वटा आयोजनाका नाम भने उल्लेख गरेको छैन तर नेपालले डेढ दर्जनभन्दा बढी आयोजनाबाट उत्पादित बिजुली निर्यातका लागि सूचीसहित अनुरोध पठाएको थियो ।
यो २५१ मेगावाट स्वीकृत हुनु अगावै नै गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत बिक्री गरी नेपाल खुद विद्युत निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ ।
सन् २०२१ अक्टोबरमा भारतले पहिलोपटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणाभन्दा बढीले बढेको छ ।
इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलोपटक ऊर्जा निर्यात सुरु गरेको थियो । त्यसयता भारतले ‘रियल टाइम मार्केट’ (आरटीएम) मा समेत पहुँच प्रदान गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ ।
भारतले भारतका खरिदकर्ताहरुका लागि जलविद्युत खरिद दायित्व (एचपीओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको छ जसले खरिदकर्ताहरुलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्दछ ।
नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ । यो सम्झौताको पहिलो वर्ष हो र झण्डै एक हजार मेगावाट निर्यात भइसकेको छ ।
यी गतिविधिसँगै नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने बाटोमा छ । बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता टुङ्गो लागी गत साउन १३ गते हस्ताक्षर गर्ने योजना थियो तथापि बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सो स्थगित भयो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो
-
आर्थिक वर्ष २०८२/८३ मा ३,२११ मेगावाट क्षमताका ९९ जलविद्युत् आयोजनाले पाए सर्वेक्षण अनुमति
-
केही स्थानमा भारी वर्षाको सम्भावना