सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चितवन राष्ट्रिय निकुञ्जको राजस्व सङ्कलनमा वृद्धि

जलसरोकार
आइतबार, साउन ०३, २०८३ | १४:०२:३५ बजे

 

चितवन : चितवन राष्ट्रिय निकुञ्ज तथा त्यसको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गत आर्थिक वर्षमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा पर्यटक सङ्ख्यामा वृद्धि भएसँगै निकुञ्जको राजस्व सङ्कलनमा पनि सकारात्मक प्रभाव परेको छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ७२ हजार ९२३ पर्यटकले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको भ्रमण गरेका छन्। अघिल्लो आर्थिक वर्षमा भने दुई लाख ३१ हजार ३२९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए।

गत आर्थिक वर्षमा सार्क राष्ट्रका २२ हजार ८८३ तथा अन्य मुलुकका ८८ हजार ६६५ विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक चितवन पुग्ने गरेका छन्।

पर्यटक आगमन बढेसँगै निकुञ्जको आम्दानीमा समेत वृद्धि भएको छ। निकुञ्जले जनाएको अनुसार गत आर्थिक वर्षमा पर्यापर्यटन गतिविधिबाट रु २७ करोड ६३ लाख ३९ हजार ९५० राजस्व सङ्कलन गरेको छ।

त्यसैगरी काठदाउरा, गैरकाष्ठ वन पैदावार बिक्री, जरिवाना तथा अन्य शीर्षकबाट रु ३१ करोड एक लाख ६४ हजार ५५१ राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ।

निकुञ्ज प्रशासनले पर्यटक आकर्षणका प्रमुख आधार वन्यजन्तु संरक्षण, प्राकृतिक सौन्दर्य तथा पर्यावरणीय पर्यटन गतिविधि रहेको उल्लेख गर्दै आगामी दिनमा थप पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाएको छ।

 

 

प्रकाशित मिति : आइतबार, साउन ०३, २०८३ | १४:०२:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया