आर्थिक वर्ष २०८२/८३ मा ३,२११ मेगावाट क्षमताका ९९ जलविद्युत् आयोजनाले पाए सर्वेक्षण अनुमति
जलसरोकार
काठमाडौं : विद्युत् विकास विभागले आर्थिक वर्ष २०८२/८३ मा जलविद्युत् क्षेत्रका ९९ वटा आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ। ती आयोजनाको कुल जडित क्षमता तीन हजार २११ मेगावाट रहेको विभागले जनाएको छ।
विभागका अनुसार सोही अवधिमा सौर्य ऊर्जातर्फ सात वटा आयोजनाले सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेका छन्। ती आयोजनाको कुल क्षमता ३११ मेगावाट बराबर रहेको छ।
प्रसारण लाइनतर्फ २२० केभी क्षमताको १७९ सर्किट किलोमिटर, १३२ केभी क्षमताको २७० सर्किट किलोमिटर तथा ३३ केभी क्षमताको १३२ सर्किट किलोमिटर बराबरका आयोजनालाई सर्वेक्षण अनुमतिपत्र प्रदान गरिएको विभागले जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ मा विभागले जलविद्युत्तर्फ २९ वटा आयोजनालाई उत्पादन अनुमतिपत्र पनि जारी गरेको छ। ती आयोजनाको कुल क्षमता एक हजार ८५७ मेगावाट रहेको छ। यस्तै, सौर्य ऊर्जातर्फ तीन वटा आयोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गरेका छन्, जसको कुल क्षमता ३१ मेगावाट छ।
विद्युत् विकास विभागले वार्षिक रूपमा करिब तीन अर्ब ५० करोड रुपैयाँ बराबरको रोयल्टी सङ्कलन गर्दै आएको जनाएको छ। उक्त रोयल्टी प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने गरेको र त्यसबाट प्रदेश तथा स्थानीय तहको आर्थिक उन्नयन तथा विकासमा महत्वपूर्ण योगदान पुगेको विभागको भनाइ छ।
विभागका महानिर्देशक मनदेवी श्रेष्ठका अनुसार हालसम्म विभागले जलविद्युत्तर्फ कुल २६४ वटा आयोजनालाई उत्पादन अनुमतिपत्र जारी गरिसकेको छ। ती आयोजनाको कुल क्षमता १२ हजार ३३६ मेगावाट रहेको छ। सौर्य ऊर्जातर्फ भने हालसम्म १० वटा आयोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गरेका छन्, जसको कुल क्षमता ७४ दशमलव ६ मेगावाट रहेको छ।
निर्माण अनुमतिपत्र प्राप्त प्रसारण लाइन आयोजनामध्ये ४०० केभी क्षमताका एक हजार ९७ सर्किट किलोमिटर, २२० केभी क्षमताका ६५६ सर्किट किलोमिटर तथा १३२ केभी क्षमताका एक हजार ६०८ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरिएको छ। साथै, ३३ केभी क्षमताको ३३७ सर्किट किलोमिटर बराबरको प्रसारण लाइन आयोजनाले पनि अनुमति प्राप्त गरेको विभागले जनाएको छ।
विभागका अनुसार ऊर्जा उत्पादन, प्रसारण तथा वितरण पूर्वाधार विस्तारसँगै देशको ऊर्जा सुरक्षालाई बलियो बनाउन तथा निजी क्षेत्रको लगानी आकर्षित गर्न अनुमतिपत्र वितरणलाई प्राथमिकतामा राखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै