२१ बुँदे पुँजी बजार कार्ययोजनाको प्रभाव : नेप्से ४८ अंकले उकालो, कारोबार ८ अर्ब नाघ्यो
जलसरोकार
काठमाडौं : सरकारले ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेसँगै सेयर बजारमा उत्साह देखिएको छ । २१ बुँदे कार्ययोजनाले बजारमा तरलता विस्तार, लगानी वृद्धि र बाढीपहिरोका कारण अर्थतन्त्र तथा जलविद्युत् क्षेत्रमा परेको असर न्यूनीकरण गर्ने लक्ष्य लिएपछि लगानीकर्ताको मनोबल बढेको हो ।
सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४८ दशमलव ५७ अंकले बढेर २ हजार ६३३ दशमलव ६२ विन्दुमा पुगेको छ । कारोबार सुरु भएदेखि नै उकालो लागेको बजारमा अन्तिम समयसम्म खरिदचाप कायम रहँदा नेप्से दोहोरो अंकको फराकिलो वृद्धिसहित बन्द भएको हो ।
नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स ९ दशमलव १९ अंकले बढेको छ । त्यस्तै, फ्लोट इन्डेक्स ३ दशमलव ५६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३ दशमलव १३ अंकले बढेको छ ।
बजार बढेसँगै कारोबार रकममा समेत उल्लेख्य सुधार आएको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ६८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा यस दिन ८ अर्ब २९ करोड १७ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
यस दिन ३४७ वटा कम्पनीका २ करोड ३ लाख ८७ हजार कित्ता सेयर ७८ हजार ८६९ पटकको कारोबारबाट खरिदबिक्री भएका छन् ।
कारोबार भएका अधिकांश कम्पनीको सेयरमूल्य बढ्दा धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १४ दशमलव ९६ प्रतिशतले बढेको छ । त्यस्तै, सिन्धु विकास बैंकको सेयरमूल्य ११ प्रतिशतले बढेको छ भने मल्टीपर्पस फाइनान्स कम्पनीको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
यस दिन एभरेष्ट बैंकको अपरिवर्तनीय ऋणपत्रको मूल्य भने सर्वाधिक ५ दशमलव ५५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३२ करोड ७० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । कम्पनीले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको साढे ३१ करोड रुपैयाँभन्दा बढी र अपि पावर कम्पनीको करिब साढे २८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
यस दिन नेप्सेका सबै १३ उपसमूहको परिसूचक बढेका छन् । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ८२ प्रतिशतले बढेको छ ।
त्यस्तै, वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् र लघुवित्त उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
सरकारले पुँजी बजारको सुधार र पुनरुत्थानका लागि सार्वजनिक गरेको २१ बुँदे कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजार सुधार, संस्थागत लगानी विस्तार, नयाँ वित्तीय उपकरणको विकास, ऋणपत्र बजार विस्तार, नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश गराउने तथा कर प्रणाली सुधारलगायतका विषय समेटिएका छन् ।
कार्ययोजना सार्वजनिक भएसँगै बजारमा देखिएको वृद्धिलाई लगानीकर्ताले सरकार पुँजी बजार सुधारका लागि सक्रिय रूपमा अघि बढ्न खोजेको संकेतका रूपमा लिएका छन् । तर बजारको यो उत्साहलाई दीर्घकालीन वृद्धिमा रूपान्तरण गर्न कार्ययोजनामा उल्लेख गरिएका सुधार प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने देखिन्छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
२१ बुँदे पुँजी बजार कार्ययोजनाको प्रभाव : नेप्से ४८ अंकले उकालो, कारोबार ८ अर्ब नाघ्यो
-
गण्डकीका बाँकी १ हजार ७१७ घरधुरीमा शीघ्र विद्युत् पुर्याइने मन्त्री श्रेष्ठकाे प्रतिबद्धता
-
पुँजी बजार सुधार कार्ययोजनाले लगानीकर्ताको मनोबल बढाउने विश्वास
-
चिलिमे उद्धारमा २४ सै घण्टा प्रयास, १५०–१६० मिटर सुरुङ जलमग्न
-
कुलेखानीले सिकाएको नेतृत्व, आज प्राधिकरणमा किन छैन?
-
जलविद्युत् विकास रोक्ने होइन, निर्माणको शैली परिवर्तन गर्ने समय