सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

जलसरोकार
शुक्रबार, भदौ २६, २०८३ | ०९:३६:५२ बजे

 

काठमाडौँ : जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग तथा वृक्षारोपणबापत बुझाएको राजस्व बढेपछि डिभिजन वन कार्यालयको आम्दानी चार गुणाभन्दा बढीले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा १ करोड १६ लाख ३५ हजार २८ रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ५ करोड ३६ लाख ५३ हजार १३६ रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

डिभिजनल वन अधिकृत बसन्तकेशव अधिकारीका अनुसार गत आर्थिक वर्षको कुल राजस्वमध्ये म्याग्दी खोलामा निर्माणाधीन ६५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाले सरकारी वन क्षेत्र उपयोग तथा वृक्षारोपणबापत मात्रै ५ करोड २९ लाख ४० हजार ३४१ रुपैयाँ बुझाएको छ ।

त्यस्तै, डाँडाखेत–राहुघाट १३२ केभी प्रसारण लाइन आयोजनाले १ लाख ९४ हजार ८८१ रुपैयाँ र राहुघाट जलविद्युत् आयोजनाले वन क्षेत्र उपयोगबापत ५ लाख १७ हजार ९१३ रुपैयाँ राजस्व बुझाएका छन् ।

कार्यालयले सङ्कलन गरेको राजस्वमध्ये २ करोड ३३ लाख ३३ हजार ३१० रुपैयाँ सङ्घीय सरकारको वन विकास कोषमा दाखिला गरेको छ । त्यस्तै, ४५ लाख ४४ हजार ७५ रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट)बापत जम्मा गरिएको छ भने २ करोड ९४ लाख २१ हजार ३२० रुपैयाँ प्रदेश सरकारको कोषमा दाखिला भएको छ ।

जलविद्युत् आयोजनाबाट वन क्षेत्र प्रयोगबापत प्राप्त राजस्वसँगै वन पैदावार तथा जडीबुटीबाट समेत कार्यालयले आम्दानी गरेको छ । गत आर्थिक वर्षमा विभिन्न प्रजातिका ३ हजार ६ सय किलोग्राम जडीबुटी, निगालोका ३० हजार टुसा र खुरुका ५ हजार वटा बिक्री गरिएको कार्यालयले जनाएको छ ।

यसैगरी, निजी आवादीको १ लाख ३५ हजार ५४० घनफिट काठ तथा १३ दशमलव ९३ चट्टा दाउरा बिक्री गरिएको छ ।

कार्यालयका अनुसार भिरमह १ हजार १०० किलोग्राम, नागबेली पाउडर ५२० किलोग्राम, रातो च्याउ ८० किलोग्राम, लालीगुराँसको फूल ११ किलोग्राम र धुपीको पात ८ किलोग्राम निकासीका लागि अनुमति दिई त्यसबापत समेत राजस्व सङ्कलन गरिएको छ ।

प्रकाशित मिति : शुक्रबार, भदौ २६, २०८३ | ०९:३६:५२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया