म्याग्दीमा जलविद्युत्काे सम्भावना र चुनावी मुद्दा
जलसरोकार
म्याग्दी,: म्याग्दी जिल्लामा पछिल्लो १० वर्षयता २८६ मेगावाट क्षमताका नौ वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भई केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् । यसै वर्षभित्र थप ६२.५ मेगावाट क्षमताका दुई आयोजना राष्ट्रिय प्रणालीमा जोडिने तयारीमा छन् ।
हाल जिल्लामा २८२.२५ मेगावाट क्षमताका नौ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । उत्पादन भएका तथा निर्माणाधीन आयोजनालाई केन्द्रीय ग्रिडमा जोड्न २२० केभी क्षमताको कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन निर्माण सम्पन्न भइसकेको छ भने १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन र सबस्टेशन निर्माणाधीन अवस्थामा छ ।
प्रसारण लाइन र सबस्टेशन निर्माणले जलविद्युत् आयोजना अघि बढ्न सहज वातावरण बनेको हो । कालीगण्डकी, राहुघाट र म्याग्दी नदी जलाधार क्षेत्रले म्याग्दीलाई जलविद्युत्को ठूलो सम्भावना बोकेको जिल्लाका रूपमा स्थापित गरेको छ ।
चुनावी एजेन्डामा जलविद्युत् र स्थानीय सेयर
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै म्याग्दीका राजनीतिक दलका उम्मेदवारहरूले जलविद्युत्बाट स्थानीयको जीवनस्तर सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी) ले जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकता दिँदै जिल्लाभर विद्युत् पहुँच विस्तार गर्ने बताएका छन् ।
नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण श्रेष्ठ ले सामाजिक क्षेत्रमा खर्च हुने बजेट पारदर्शी बनाउने र जिल्लावासीलाई लगानीमैत्री वातावरण तयार गर्ने नीति निर्माणमा भूमिका खेल्ने बताए ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापा ले प्रभावित बासिन्दाका लागि व्यवस्था गरिएको कुल लागतको १० प्रतिशत संस्थापक सेयर वितरणमा भएको ढिलाइप्रति चासो व्यक्त गरे ।
“नीतिगत समस्या पहिचान गरी समाधान गर्नु मेरो प्राथमिकता हुनेछ,” थापाले भने, “थोरै पुँजी भएका सर्वसाधारणले पनि सेयर लगानीको अवसर पाए आर्थिक अवस्था सुधारमा टेवा पुग्छ ।”
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनामा संस्थापक सेयर लगानी गरेका स्थानीयले राम्रो प्रतिफल पाउँदै आएका छन् । तर मिस्त्रीखोला र पाँच मेगावाटको घलेम्दीखोला बाहेक अन्य आयोजनाले अझै संस्थापक सेयर जारी गरेका छैनन् ।
महाविर पुनः जलविद्युत् रोजगारी र समृद्धिको आधार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका डा. महाविर पुन ले जलविद्युत् आयोजनालाई आर्थिक समृद्धि र रोजगारीको मुख्य आधारका रूपमा विकास गर्नुपर्ने बताए ।
म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव नारायण जिसी ले प्रभावित बासिन्दालाई शीघ्र सेयर लगानीको वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याए ।
कुन क्षेत्रमा कति आयोजना?
अन्नपूर्ण गाउँपालिकामा निलगिरि दोस्रो (७१ मेगावाट), मिस्त्रीखोला (४२), निलगिरि पहिलो (४०.७), घारखोला (१४), घलेम्दीखोला (५), रेलेखोला (६) आयोजना निर्माण सम्पन्न भएका छन्। कालीगण्डकी नदीमा १८४ मेगावाटको कालीगण्डकी गर्ज सुरु भइसकेको छ भने ६६.५ मेगावाटको मध्य कालीगण्डकी निर्माणाधीन छ ।
रघुगङ्गा गाउँपालिकामा मङ्गले राहुघाट (३७.५), माथिल्लो राहुघाट (४८.५) र ठूलोखोला (२१.३) आयोजना सम्पन्न भएका छन्। ४० मेगावाटको राहुघाट र २२.५ मेगावाटको ठूलोखोला माथिल्लो ‘ए’ अन्तिम चरणमा छन् ।
उत्तरी म्याग्दीमा १७३.५३ मेगावाट क्षमताका तिप्ल्याङ, अपरकालीगण्डकी र बेनी कालीगण्डकी आयोजना निर्माण प्रक्रियामा छन्। बेनी कालीगण्डकीको ‘एलाइन्मेन्ट’ विवादका कारण प्रक्रिया रोकिएको छ ।
सडक र स्थानीय विकासमा योगदान
जलविद्युत् आयोजनाका पहुँचमार्गले नारच्याङ, दग्नाम, चिमखोला, खिवाङ, बगर लगायत दुर्गम बस्तीमा सडक पहुँच पुर्याएको छ। सामुदायिक उत्तरदायित्व कार्यक्रमले स्थानीय विकासमा समेत योगदान पुगेको छ।
एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८६ हजार ३९७ मतदाता, ८२ मतदानस्थल र १२० मतदान केन्द्र रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा जलविद्युत्काे सम्भावना र चुनावी मुद्दा
-
महासंघको पहलमा नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे मन्त्रालयमा छलफल
-
नेपाल–कतार व्यापार सहकार्य विस्तार गर्न कतारी टोली काठमाडौं आइपुग्यो
-
आज पनि बढ्यो सुनको भाउ, बजारमा कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बहुसूचक सर्वेक्षण : ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् पहुँच, गण्डकीमा धेरै, कर्णालीमा कम
-
वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम र सवारी आयातमा निर्भर, छ महिनामा रु १ खर्ब १६ अर्ब सङ्कलन