माथिल्लो त्रिशूली-३ ‘ए’ उद्धारमा बढ्यो आशा : २० हजार घनमिटर माटो-लेदो हटाइयो, ; सुरुङको बाहिरपट्टि अगाडि ५० मिटर खुल्यो
सुरुङको भित्री भाग तुलनात्मक रूपमा सुरक्षित रहेको हुनसक्ने प्रारम्भिक अनुमान
जलसरोकार
काठमाडौँ : भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत पावरहाउसमा सम्पर्कविहीन कर्मचारी तथा कामदारको उद्धारका लागि भइरहेको प्रयासमा महत्वपूर्ण प्रगति भएको छ। उद्धार टोलीले सुरुङको प्रवेश क्षेत्रमा थुप्रिएको करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा तथा अन्य संरचनाजन्य वस्तुहरु हटाइसकेको छ।
सुरुङ विशेषज्ञ इन्जिनियर श्रीराम न्यौपानेले आज बिहान दिएको जानकारीअनुसार १६० मिटर लामो केबल डक्ट सुरुङको बाहिरी प्रवेशद्वार (पोर्टल) क्षेत्रमा थुप्रिएका दुई दर्जनभन्दा बढी ठूला बोल्डर (विशाल ढुंगा) नियन्त्रित विस्फोटमार्फत हटाइसकिएको छ। केबल डक्ट सुरुङ पावरहाउसबाट विद्युत् प्रसारण तथा नियन्त्रणका लागि आवश्यक केबल लैजान बनाइएको छुट्टै सुरुङ हो, जसलाई अहिले उद्धारका लागि वैकल्पिक पहुँचमार्गका रूपमा प्रयोग गर्न खोजिएको हो।
बाढीका कारण सुरुङको प्रवेश क्षेत्रमा ढुंगा, माटो, बालुवा, लेदो तथा भत्किएका संरचनाका अवशेष ठूलो मात्रामा थुप्रिएका थिए। यिनै अवरोधका कारण उद्धार टोली सुरुङभित्र सहज रूपमा प्रवेश गर्न सकेको थिएन। ठूला ढुंगा सामान्य एक्स्काभेटरले हटाउन कठिन हुने भएकाले आवश्यक ठाउँमा ब्रेकर (ढुंगा फुटाउने उपकरण) र नियन्त्रित विस्फोट प्रयोग गरिएको हो।
भाद्र १३ गतेदेखि नियमित रूपमा दुईवटा एक्स्काभेटर परिचालन गरेर पाँच दिनमा करिब २० हजार घनमिटर माटो, लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बीम, पिलर तथा ठूला ढुंगा हटाइएको छ। यसबाट सुरुङको प्रवेश क्षेत्रमा रहेको अवरोध ठूलो परिमाणमा हटिसकेको र उद्धार टोली १६० मिटर लामो सुरुङभित्र पावरहाउसतर्फ क्रमशः अगाडि बढ्ने अवस्था बनेको बुझिन्छ।
उद्धारका क्रममा आवश्यक ठाउँमा ब्रेकर प्रयोग गर्ने तथा नियन्त्रित विस्फोटमार्फत ठूला ढुंगा फुटाउने काम चौबीसै घण्टा भइरहेको न्यौपानेले जानकारी दिए। यसले सुरुङको मुखबाट भित्रतर्फ जाने बाटो क्रमशः खुल्दै गएको छ।
हाल पोर्टलको माथिल्लो भाग अर्थात् सुरुङको छतबाट करिब २.५ मिटर तलसम्मको करिब ५० मिटर लामो भाग सफा भइसकेको न्यौपानेले बताएका छन्। ५.५ मिटर अग्लो सुरुङमा बाँकी करिब ३ मिटर भागमा पहुँच तथा पानी निकासको व्यवस्था निर्माण भएपछि सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम अघि बढाइनेछ।
न्यौपानेकाअनुसार उद्धारका लागि सबैभन्दा महत्वपूर्ण संकेत भनेको सुरुङभित्र पानी जमेको अवस्था नरहेको देखिनु हो। अहिले सुरुङबाट करिब दुई लिटर प्रतिसेकेन्डका दरले पानी बाहिर निस्किरहेको छ। यसले सुरुङभित्र ठूलो मात्रामा पानी जमेको अवस्था नरहेको संकेत गरेको छ।
त्यस्तै, पोर्टल क्षेत्रमा गेटको स्ल्याब, काठका दुई ठूला ठुटा र ठूला बोल्डरले अवरोध गरेको भेटिएको छ। सुरुङको मुखमा रहेको स्ल्याबले भित्र ठूलो ढुंगा प्रवेश गर्न रोकिदिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यदि सुरुङभित्र ठूलो ढुंगा प्रवेश नगरेको पुष्टि भयो भने उद्धारका लागि यो महत्वपूर्ण सकारात्मक संकेत हुन सक्छ।
सुरुङको कुल १६० मिटर दूरीमध्ये करिब ६० मिटरमा एउटा मोड रहेको छ भने पावरहाउसतर्फ सुरुङ उकालो दिशामा गएको छ। यही संरचनाका आधारमा सुरुङको भित्री भाग तुलनात्मक रूपमा सुरक्षित रहेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि वास्तविक अवस्था सुरुङभित्रको ढुंगा-माटो, लेदो आि हटाएर टोली प्रवेश गरेपछि मात्र यकिन हुनेछ।
उद्धार अभियानमा अहिलेको प्रगतिले पावरहाउसतर्फ जाने बाटो खुल्ने सम्भावना बढाएको छ। सुरुङको मुखमा रहेका मुख्य अवरोध हटिसकेका छन् र लेदो पन्छाउने काम क्रमशः भित्रतर्फ अघि बढिरहेको न्यौपानले जानकारी दिएका छन्
घटनास्थलसम्म सडक पहुँच नभएकाले आवश्यक मेसिन तथा उपकरण र तिनको मर्मतका सामग्री हवाई माध्यमबाट पुर्याउनुपर्ने चुनौती भने कायमै छ। यस्तो अवस्था रहे पनि उद्धार कार्य निरन्तर सञ्चालन भइरहेको छ।
सम्पर्कविहीन ४२ कर्मचारी तथा कामदारको अवस्था अझै यकिन भएको छैन। तर सुरुङको मुख खुल्दै जानु, ठूलो परिमाणको ढुंगा-माटो, लेदो हटाइनु, पानी जमेको नदेखिनु र ठूलो ढुंगा सुरुङभित्र नछिरेको हुनसक्ने संकेतले उद्धार अभियानमा आशा भने थपेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बिहीबार सुन प्रतितोला ७ हजार ६०० रुपैयाँले बढ्यो
-
भोटेकोशी बाढी : नुवाकोटको विद्युत् आपूर्ति ९० प्रतिशतसम्म पुनर्स्थापित
-
भोटेकोशी-त्रिशूली बाढी : एचआइडीसीएलले १ करोड १ लाख सहयोग गर्दै पुनरुत्थानका लागि छुट्टै वित्तीय संरचना बनाउने
-
भोटेकोशी बाढीकाे नाै दिन : क्षतिग्रस्त जलविद्युत् आयोजनाका ९४७ जना कर्मचारी र कामदार अझै सम्पर्कविहीन
-
चिलिमे उद्धारमा पूर्वसीईओ भट्टराईको प्राविधिक सुझाव : ‘मुख्य पहुँच सुरुङ खोलौँ, पावरहाउस क्याभर्नसम्म पुग्ने सबै सम्भावित बाटा खोजौँ’
-
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज वर्षाको सम्भावना