सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

गृहमन्त्री सुदन गुरुङको प्रष्टिकरण: ‘बिचौलिया भट्टसँग जोडिएको आरोप अनुमानमा आधारित’

जलसरोकार
सोमबार, वैशाख ०७, २०८३ | १५:०६:२४ बजे

 

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले आफूलाई बिचौलिया दीपक भट्टसँग जोडेर सार्वजनिक गरिएको विषयबारे सामाजिक सञ्जालमार्फत विस्तृत प्रष्टिकरण दिएका छन्। पछिल्ला दिनमा सार्वजनिक बहसको विषय बनेको उक्त प्रकरणबारे उनले तथ्यभन्दा बढी अनुमानका आधारमा आरोप लगाइएको दाबी गरेका छन्।
सामाजिक सञ्जालमा प्रकाशित स्टाटसमा मन्त्री गुरुङले उक्त विषय करिब दुई वर्षअघिको कारोबारसँग सम्बन्धित रहेको उल्लेख गर्दै आफूले लिएको रकम बैंकमार्फत आएको र त्यसको अभिलेख स्पष्ट रहेको बताएका छन्। “पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो,” उनले लेखेका छन्।
उनका अनुसार, उक्त रकम औपचारिक रूपमा ऋण (कर्जा) का रूपमा लिइएको थियो र त्यसको लिखित तमसुकसमेत तयार गरिएको थियो। उनले तोकिएको समयसीमाभित्रै उक्त रकम बैंकिङ माध्यमबाट फिर्ता गरिसकेको दाबी गरेका छन्। “मैले लिएको रकम कर्जा मार्फत जुटाइएको हो र समयमै बैंकिङ प्रणालीमार्फत फिर्ता गरिएको छ,” उनको भनाइ छ।
मन्त्री गुरुङले आफूलाई बिचौलियासँग जोडेर लगाइएका आरोपहरूलाई अस्वीकार गर्दै, कुनै व्यक्तिले गरेको सम्भावित गलत कार्यका आधारमा सबैलाई एउटै रूपमा दोषी ठहर गर्न नमिल्ने बताएका छन्। “यदि कसैले गैरकानुनी काम गरेको छ भने त्यसको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्छ,” उनले स्पष्ट पारेका छन्।
‘Conflict of interest’ सम्बन्धी उठाइएका प्रश्नबारे उनले सम्बन्धित निकायहरूले प्रक्रिया अनुसार विषयको मूल्याङ्कन गरिरहेको उल्लेख गरेका छन्। गृह मन्त्रालय वा अन्य निकायबाट कुनै निर्णय प्रक्रियामा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको पनि उनले दाबी गरेका छन्।
उनले विषयलाई अनावश्यक रूपमा राजनीतिकरण गरिएकोप्रति असन्तुष्टि जनाउँदै तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुग्न आग्रह गरेका छन्। “प्रक्रिया र प्रमाणबिना आरोप लगाउनु उचित हुँदैन,” उनले भनेका छन्।
मन्त्री गुरुङले आवश्यक परे अनुसन्धानमा सहयोग गर्न तयार रहेको पनि बताएका छन्। साथै, सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति संकेत गर्दै उनले व्यक्तिलाई बिचौलिया वा दोषीको रूपमा चित्रित गर्नु र वास्तविक रूपमा दोषी ठहर गर्नु फरक विषय भएको उल्लेख गरेका छन्।
“निर्णय भावना होइन, प्रमाणका आधारमा हुनुपर्छ,” उनले भने, “अनुमानका आधारमा कसैलाई दोषी करार गर्नु न्यायोचित हुँदैन।”

प्रकाशित मिति : सोमबार, वैशाख ०७, २०८३ | १५:०६:२४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया