सुपर काबेली सञ्चालनको पहिलो वर्षमै २० प्रतिशत लाभांश, थप जलविद्युत्मा लगानी बढाउँदै हिलटन हाइड्रो
जलसरोकार
१२ मेगावाटको आयोजना सञ्चालनपछि २० प्रतिशत लाभांश प्रस्ताव, थप जलविद्युत् कम्पनीमा लगानी विस्तार गर्दै हिलटन हाइड्रो
काठमाडौं : हिलटन हाइड्रो इनर्जी लिमिटेडले आफूले प्रवर्द्धन गरेको सुपर काबेली खोला जलविद्युत् आयोजना (१२ मेगावाट) सञ्चालनमा आएपछि शेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले आयोजना सञ्चालनबाट नियमित आम्दानी सुरु भएसँगै अन्य जलविद्युत् कम्पनीमा समेत लगानी विस्तार गरेको जनाएको छ।
कम्पनीका अध्यक्ष मोहन विक्रम कार्कीले आज आयोजित पाँचौँ वार्षिक साधारण सभामा प्रस्तुत मन्तव्यमा सुपर काबेली खोला जलविद्युत् आयोजना सफलतापूर्वक निर्माण सम्पन्न भई २०८१ चैत २ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएर सञ्चालनमा आएको बताएका छन्।
नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) बमोजिम आयोजनाले निरन्तर विद्युत् उत्पादन गरिरहेको र त्यसले कम्पनीको वित्तीय स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दै नियमित आम्दानीको ढोका खोलेको उनको भनाइ छ।

७.१९ करोड युनिट विद्युत् उत्पादन
अध्यक्ष कार्कीका अनुसार गत आर्थिक वर्षमा प्राधिकरणसँग भएको विद्युत् खरिद-बिक्री सम्झौतामा उल्लेख गरिएको वार्षिक कुल ७.४३ करोड युनिटमध्ये ७.१९ करोड युनिट विद्युत् उत्पादन गरी कम्पनीले वार्षिक क्षमताको ९६.७८ प्रतिशत उपलब्धि हासिल गरेको छ। उनले आगामी वर्षमा विद्युत् उत्पादन अपेक्षित अवधिमा हासिल गरी तोकिएको रकम वृद्धि गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।
२० प्रतिशत नगद लाभांश प्रस्ताव
कम्पनीले प्रस्तुत आर्थिक वर्षमा आर्जित आम्दानीबाट शेयरधनीलाई चुक्ता पुँजीको करसहित २० प्रतिशतका दरले १३ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
अध्यक्ष कार्कीले यसलाई केवल एउटा आयोजना सफलतापूर्वक निर्माण सम्पन्न गरेको उपलब्धिका रूपमा मात्र नभई कम्पनीको क्षमता, प्रतिबद्धता र चुनौतीसँग जुध्ने सामर्थ्यको परिणामका रूपमा उल्लेख गरेका छन्।
१७ करोड रुपैयाँको आईपीओ प्रक्रिया अन्तिम चरणमा
कम्पनीले आफ्नो वित्तीय आधार थप मजबुत बनाउन र कम्पनीको स्वामित्वमा आम जनताको सहभागिता सुनिश्चित गर्न आयोजना प्रभावित क्षेत्र तथा सर्वसाधारणका लागि प्रारम्भिक शेयर निष्कासन (आईपीओ) गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण शेयर निष्कासनका लागि सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष निवेदन पेस गरिसकेको अध्यक्ष कार्कीले बताएका छन्।
उनले आईपीओ प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिंदै कम्पनीको सञ्चालक समिति तथा व्यवस्थापन पक्षले उक्त प्रक्रियालाई निरन्तर नियालिरहेको बताएका छन्। यथाशीघ्र स्वीकृति प्राप्त गरी आईपीओ निष्कासन प्रक्रिया सुरु गर्न कम्पनी प्रतिबद्ध रहेको उनको भनाइ छ।
आईपीओको रकम जलविद्युत् कम्पनीको शेयरमा लगानी गर्ने योजना
आईपीओबाट प्राप्त हुने रकम कम्पनीको वित्तीय आधार थप बलियो बनाउन उपयोग गरिने अध्यक्ष कार्कीले बताए। न्यूनतम लागतमा तथा छोटो समयमा निर्माण सम्पन्न भई उच्च प्रतिफल दिन सक्ने उपयुक्त जलविद्युत् आयोजनाको शेयरमा लगानी गर्ने कम्पनीको योजना छ। कम्पनीले यसअघि नै अन्य जलविद्युत् कम्पनीमा लगानी सुरु गरिसकेको पनि अध्यक्ष कार्कीले जानकारी दिए।
सञ्चालक समितिको २०८२ माघ २६ गतेको बैठकको निर्णयअनुसार कम्पनीको दीर्घकालीन वित्तीय स्थिति मजबुत बनाउने उद्देश्यले श्री कालिका इनर्जी लिमिटेडको शेयरमा रु. ४ करोड ५० लाख तथा श्री हाइड्रो भिलेज लिमिटेडको शेयरमा रु. ४ करोड ५० लाख लगानी गरिएको छ। यसरी कम्पनीले दुई कम्पनीमा गरी कुल रु. ९ करोड लगानी गरेको जनाएको छ।
बाढीपीडितका लागि १० लाख सहयोग
अध्यक्ष कार्कीले हालै आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्। प्रभावित जलविद्युत् प्रवर्द्धक, प्रभावित जनसमुदाय तथा आयोजनामा कार्यरत कर्मचारीप्रति ऐक्यबद्धता र सहानुभूति व्यक्त गर्दै उनले पीडितको शीघ्र पुनर्स्थापना तथा प्रभावित आयोजनाको पुनर्स्थापनाको कामना गरेका छन्।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढी प्रभावितको उद्धार तथा राहतका लागि आफ्नो तर्फबाट रु. १० लाख आर्थिक सहयोग गरेको जानकारी पनि उनले दिएका छन्।
सहयोगी सबैप्रति आभार
अध्यक्ष कार्कीले कम्पनीको यात्रामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने शेयरधनी, सञ्चालक समिति, नेपाल सरकारका विभिन्न निकाय, आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी, बैंक तथा वित्तीय संस्था र कर्मचारीप्रति आभार व्यक्त गरेका छन्।
सुपर काबेली खोला जलविद्युत् आयोजना सञ्चालनमा आएपछि नियमित विद्युत् उत्पादन र आम्दानी सुरु गरेको हिलटन हाइड्रोले अब आईपीओ निष्कासनमार्फत आफ्नो वित्तीय आधार थप सुदृढ बनाउँदै उच्च प्रतिफल दिन सक्ने अन्य जलविद्युत् कम्पनी तथा आयोजनामा लगानी विस्तार गर्ने रणनीति अघि सारेको देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सञ्चालनसँगै काबेलीको आम्दानीमा उछाल, एक वर्षमै २७ करोड ६९ लाख रुपैयाँ नाफा
-
सुपर काबेली सञ्चालनको पहिलो वर्षमै २० प्रतिशत लाभांश, थप जलविद्युत्मा लगानी बढाउँदै हिलटन हाइड्रो
-
सञ्चालन सुरु गरेको ११ महिनामै लाभांश, अब हकप्रदबाट थप जलविद्युत्मा लगानी गर्दै काबेली
-
विद्युत् प्राधिकरणको एकाधिकारबाट प्रतिस्पर्धात्मक बजारतर्फः खुला पहुँच कार्यान्वयनका थप आधार तयार
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी भवनको खोजी जारी, ए-१, ए-२ र डी क्षेत्रमा अझै कुनै संरचना भेटिएन
-
२५ वर्षअघि ९/११ बाट जोगिएका ७३ वर्षीय अमेरिकी नागरिक अहिले रसुवा–तिब्बत सीमाको विपद्पछि बेपत्ता