साढे सात महिनायताकै उच्च कारोबार, नेप्से ३२ अंकले घट्यो
जलसरोकार
काठमाडौँ : मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साढे सात महिनायताकै उच्च कारोबार भएको छ। यस दिन सेयर बजारमा कुल २१ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। यसअघि गत साउन ११ गते २६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। त्यसयता मंगलबार भएको कारोबार रकम नै सबैभन्दा उच्च मानिएको छ। नेप्सेमा अहिलेसम्मकै उच्च कारोबार भने २०८१ भदौको अन्तिम दिन २९ अर्ब ९५ करोड रुपैयाँ पुगेको रेकर्ड रहेको छ।
चुनावपछि खुलेको बजारमा अघिल्लो कारोबार दिन लगातार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेपछि कारोबार स्थगित भएको थियो। सर्किट ब्रेकका कारण धेरै लगानीकर्ताले चाहेर पनि किनबेच गर्न नपाएको अवस्था बनेको थियो। त्यस दिन जम्मा ५५ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो। त्यसको भोलिपल्ट मंगलबार भने कारोबार रकम एकैपटक उच्च स्तरमा पुगेको देखिएको हो।
यद्यपि कारोबार रकम उल्लेख्य रूपमा बढे पनि बजारको समग्र परिसूचक भने घटेको छ। मंगलबार नेप्से परिसूचक ३२.०८ अंक अर्थात् १.११ प्रतिशतले घटेर २८४३ बिन्दुमा कायम भएको छ। अघिल्लो दिन नेप्से करिब ६ प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेर कारोबार रोकिएको थियो।
मंगलबारको कारोबार अवधिभर बजारमा तीव्र उतारचढाव देखिएको थियो। कारोबार सुरु भएपछि नेप्से परिसूचक लगातार ओरालो लाग्दै १२:३५ बजे २७९६ अंकसम्म झरेको थियो। त्यसपछि बजार केही सम्हालिँदै अन्त्यसम्म सोही आसपासमा कायम रह्यो।
यस दिन ७८ कम्पनीको सेयर मूल्य बढ्दा १७८ कम्पनीको मूल्य घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर रहेको छ। क्षेत्रगत सूचकतर्फ निर्जीवन बीमा र जीवन बीमा समूहमा सामान्य वृद्धि देखिएको छ भने अन्य अधिकांश समूहमा गिरावट आएको छ। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, अन्य तथा व्यापार समूहका सूचकहरू घटेका छन्।
मंगलबार दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको हो। त्यस्तै थ्रीस्टार हाइड्रोपावर, कालिका पावर र लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। यसैबीच हिमस्टार ऊर्जाको सेयर मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशतले घटेको देखिएको छ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र शिवम् सिमेन्ट मंगलबार सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन्। समग्रमा हेर्दा अघिल्लो दिनको तीव्र वृद्धिपछि लगानीकर्ताले नाफा सुरक्षित गर्ने प्रवृत्ति बढ्दा कारोबार रकम उच्च भए पनि बजार परिसूचक भने घटेको विश्लेषण गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मध्य र पूर्वी नेपालका २५ जिल्ला वर्षाको पहेँलो चेतावनीमा, मौसम विभागले सतर्क रहन आग्रह
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?