भारी हिमपातले कोरलानाका ठप्प, नेपाल–चीन व्यापार प्रभावित
जलसरोकार
काठमाडौं: मङ्गलबार परेको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल–चीन उत्तरी कोरलानाकाबाट हुने निकासी तथा पैठारी प्रभावित बनेको छ । भारी हिमपातका कारण बुधबारदेखि यस नाकाबाट हुने आयात–निर्यात कारोबार पूर्ण रूपमा ठप्प भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।
माथिल्लो मुस्ताङमा मङ्गलबार राति तेस्रोपटक हिमपात भएको हो । यसअघि यस वर्ष दुईपटक हिमपात भइसकेको छ । लोमान्थाङ–२ न्हेचुङछोसेरस्थित भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा जीवन देवकोटाका अनुसार जोमसोम–कोरला सडकखण्डमा दुई फिटभन्दा बढी बाक्लो हिउँ जमेकाले कोरलानाकाबाट हुने सबै प्रकारका निकासी तथा पैठारी कारोबार ठप्प भएको हो। सडक पूर्ण रूपमा अवरुद्ध हुँदा भन्सार कार्यालयको नियमित कामकाजसमेत प्रभावित भएको छ ।
चीनतर्फ मालवस्तु पैठारी गर्न गएका एक दर्जनभन्दा बढी कन्टेनर लोमान्थाङ–२ छोसेरस्थित मुस्ताङ भन्सार कार्यालय परिसरमै रोकिएका छन् । केही कन्टेनरको भन्सार जाँचपास भइसकेको र केहीको घोषणा प्रक्रिया चलिरहे पनि कागबेनी–कोरला सडक अवरुद्ध रहेकाले गन्तव्यतर्फ जान नसकी थन्किएको देवकोटाले जानकारी दिए ।
हिमपातअघि नै कोरलानाकास्थित चिनियाँ भन्सारतर्फ पुगेका केही कन्टेनर उतै रोकिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार भारी हिमपातका कारण कागबेनी–कोरला सडक पूर्ण रूपमा अवरुद्ध छ। करिब ९० किलोमिटर दूरीमा बाक्लो हिउँ जमेकाले सडक सञ्चालनमा आउन केही दिन लाग्ने अनुमान गरिएको छ ।
कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले अवरुद्ध सडक जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन आयोजना प्रतिबद्ध रहेको बताउँदै आजदेखि वारागुङ मुक्तिक्षेत्र–३ छुसाङबाट हिउँ पन्छाउने उपकरण परिचालन गरिने जानकारी दिए ।
छोसेरस्थित सशस्त्र प्रहरी बल नेपाल (बीओपी) का इन्चार्ज प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार भारी हिमपातका कारण कोरलानाकामा पाल टाँगेर बसेका स्थानीय व्यापारीसमेत घर फर्किएका छन् । हिमपातपछि अत्यधिक चिसो बढेकाले जनजीवन कष्टकर बनेको छ । हाल माथिल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनस २० डिग्री सेल्सियस र तल्लो मुस्ताङमा माइनस १२ डिग्री सेल्सियससम्म झरेको छ ।
चिसो अत्यधिक बढेसँगै पशुचौपाया तथा गोठालालाई समेत समस्या परेको स्थानीयले बताएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रतितोला २० हजार ५०० रुपैयाँले घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सम्पन्न, कर्णालीमा गुणस्तरीय विद्युत् आपूर्तिको नयाँ युग : घिसिङ
-
एमसीसी अन्तर्गत बन्ने प्रसारण लाइन दायाँ–बायाँ संरचना र रुख रोप्न रोक
-
सुपर मादी हाइड्रोपावरको नाफा ६९ प्रतिशतले बढ्यो
-
पाँचथर पावर नाफामा, छ महिनामा २४ करोडको विद्युत बिक्री
-
भारी हिमपातले कोरलानाका ठप्प, नेपाल–चीन व्यापार प्रभावित