काठमाडौं : विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत साता इकागजसँग भनेका थिए- नेपालले अझै ६ वर्षसम्म बिजुली आयात गरिरहनुपर्नेछ । यो आयात हिउँदका लागि मात्र हो । बर्खायाममा नेपालमै उत्पादित बिजुली बढी हुन्छ।
भारतबाट बिजुली आयात गरेर भए पनि प्राधिकरणले मुलुकलाई ‘लोडसेडिङमुक्त’ भने तुल्याएको छ । नेपालले खपत गर्ने कूल विद्युत ऊर्जामा भारतीय आयातको अंश २१ प्रतिशत छ ।
तर विगतमा सरकार र प्राधिकरणले भारतबाट आयात हुने बिजुलीलाई उच्च प्राथमिकता दिएकाले नेपाल आत्मनिर्भर हुन नसकेको तथ्यांकहरुले देखाउँछन् । पूर्वदेखि पश्चिमसम्म भारतसँग बिजुली आयात गर्न निर्मित प्रसारण लाइन, त्यसबाट प्रवाह हुने बिजुलीको परिमाण र नेपालले चाहेजति दिने गरी भएका सम्झौताले नेपालको विद्युत् प्रणाली भारतको तीन तिरबाट घेरिएको देखिन्छ ।
नेपालले सीमा नाकास्थित एक दर्जनभन्दा बढी द्विदेशीय प्रसारण लाइनबाट बिजुली आयात-निर्यात गर्दै आएको छ । निर्यात भने नगण्य छ । भारतसँग आयात गर्ने बिजुलीमा सम्झौता गरिएको छ भने नेपालले निर्यात गर्नेबारे कुनै सम्झौता भएको छैन ।
व्यापारिक तवरमा बिजुली आयात गर्न सुरु गरिएको टनकपुरबाट ७० मेगावाट बिजुली आयात हुन्छ । यसको प्रतियुनिट लागत ४.१४ भारु (६ रुपैयाँ ६२ पैसा) छ । टनकपुरबाटै महाकाली सन्धिअन्तर्गत बहुचर्चित सात करोड युनिट (बढीमा १६ मेगावाट) बिजुली पनि आउने गरेको छ । महाकाली सन्धिमा उल्लिखित यो बिजुलीलाई प्राधिकरणले पैसा तिर्नु पर्दैन ।
२५ वर्षसम्म बिजुली ल्याए पनि, नल्याए पनि वर्षको एक अर्ब आठ करोड रुपैयाँ प्रसारण शुल्क (व्हिलिड्ङ चार्ज) तिर्नुपर्ने गरी सम्झौता गरिएको ढल्केबर-मुजफ्फपुरबाट डिसेम्बर (आज) देखि अप्रिलसम्म ३५० मेगावाटको विद्युत् खरिद सम्झौता गरिएको छ । ‘पीपीएमा ३५० मेगावाट लेखिए पनि हामीले हाम्रो आवश्यकताअनुसार मात्र लिने हो,’ प्राधिकरणका एक अधिकारी भन्छ्न, ‘अहिले २५० मेगावाट लिने भनिएको छ ।’
उनका अनुसार जाडो छिप्पिंदै जाँदा विद्युतको माग पनि बढ्न थाल्छ । तर यही बेला नदीको सतहमा पानीको मात्रा भने घट्दै जान्छ, जसले बिजुली उत्पादनलाई घटाउँछ । ‘त्यसले गर्दा ढल्केबरबाट ३५० मेगावाटसम्म आयात गर्नुपर्ने हुन्छ,’ उनले भने ।
ढल्केबर-मुजफ्फपुर अन्तर्देशीय प्रसारण लाइन हो । गत महिना यसलाई ४०० केभीमा चार्ज गरिएको छ । यो लाइनले एक हजार मेगावाटसम्म बिजुली प्रवाह गर्न सक्छ । तर विभिन्न प्रणाली सञ्चालकहरुको नियम, लाइनको सुरक्षाका लागि अपनाइएका पध्दति र मापदण्ड अनि विद्युतको भरपर्दोपनका लागि भारतले उक्त लाइनमा ६ सय मेगावाटसम्म बिजुली दिने ती अधिकारीले बताए ।
‘ढल्केबाट यति उति लिनैपर्छ भन्ने छैन, हामीलाई २४ घण्टा चाहिने यति, बेलुका मात्र चाहिने यति भनेर स्वघोषणा गर्न सकिने सुविधा छ,’ उनले भने ।
ढल्केबरबाट आउने बिजुली पूर्वी नेपालको माग धानिदिन सक्छ । जसले गर्दा प्रसारण लाइन समयमा नबनेर स्वदेशी निजी उत्पादकका बिजुली खेर फाले पनि भारतीय बिजुलीले नेपालको बजार भने लिइरहेको छ ।
यसैगरी कटैया–कुसाहा १३२ केभीका दुईवटा लाइन छन् । प्रत्येकबाट सय मेगावाट आउने गर्छ । अझ यो लाइनलाई डबल सर्किट बनाउन लागिएको छ । यसमा थप सय मेगावाट बिजुली थप हुन्छ । यसले पनि पूर्वको बिजुली आपूर्तिलाई सुनिश्चित बनाएको छ ।
प्राधिकरणको लोड सेन्टर विराटनगरमा छ । विराटनगरलाई चाहिने बिजुली ढल्केबरदेखि कटैया-कुसाहासम्मका प्रसारण लाइनले थेग्दै आएका छन् । तर विराटनगरका लागि बिजुली ल्याउने प्रसारण लाइन (कोसी कोरिडर) भने स्थानीयले बनाउन नदिंदा स्वदेशीको खेर फालेर आयात भने गरिरहनु परेको छ ।
तराई क्षेत्रमा बल्ने बिजुलीको स्वीच पनि भारतकै हातमा छ । रक्सौल-परवानीपुर १३२ केभी लाइनबाट हाल ८० मेगावाट बिजुली आयात हुन्छ । यसको क्षमता विस्तार भइरहेको छ । भारतीय खण्डमा १५ किलोमिटर लाइन तान्ने काम बाँकी छ । यसको क्षमता विस्तार भएपछि अन्य १३२ केभी सरह यो प्रसारण लाइनले पनि बिजुली बोक्छ ।
बीरगञ्जपछि गण्डक क्षेत्रलाई पनि भारतीय बिजुली ल्याउन सक्ने गरी प्रसारण लाइन बनाइएको छ- गण्डक-रामनगर । यो पनि १३२ केभीको हो । यसबाट हाल ४० मेगावाट बिजुली आयात हुने गर्छ । नेपाली भूभागमा निर्मित गण्डक नहरमा भारतले आफ्नो इच्छाअनुसार पानी छाड्दा प्राधिकरण स्वामित्वको गण्डक विद्युतगृहले जडित क्षमतामा बिजुली उत्पादन गर्न पाउँदैन । तर त्यही क्षेत्रको सीमापार प्रसारण लाइनमार्फत् भारतबाट आयात हुने गर्छ ।
सीमा नाकामा प्राधिकरणको ६६ केभीको लाइन छैन । विगतमा कुनै शहर लक्ष्यित गरी ३३ केभीका लाइन निर्माण गरिएका थिए । ३३ केभीबाट बिजुली आयात हुने क्षेत्रहरुमा रक्सौल, सिरहा, जलेश्वर, विराटनगर, राजविराज, नानपारा-नेपालगञ्ज हुन् ।
३३ केभीको क्षमताको प्रसारण लाइनबाट आयात हुने बिजुलीको भाउ अन्यभन्दा महँगो छ । प्राधिकरणका अनुसार यसबाट आयातीत बिजुलीको प्रतियुनिट भाउ ६.६८ भारु (१० रुपैयाँ ६८ पैसा) छ । लाइनमा प्राविधिक चुहावट बढी हुने भएकाले ३३ केभीबाट आउने बिजुली महँगो भएको हो । यस्तो लाइनबाट बढी १० मेगावाटसम्म बिजुली आयात हुन्छ ।
भारतसँगको बिजुली सञ्जाल ४०० केभीदेखि ११ केभीसम्ममा विस्तारित छ । उत्तराखण्डबाट नेपालले ११ केभीमा पनि आयात गर्ने गर्छ । यसमा लाली, हुटी, जौलीजिवी छन् । नेपालमा हुरी बतास आएर पोल ढलेको, ट्रान्सफरमर बिग्रेर आपूर्ति हुन नसकेका बेला दार्चुलामा उत्तराखण्डबाट लिने गरिएको छ । यस्तो लाइनबाट ९ सय किलोवाटसम्म बिजुली आयात हुन्छ । यसको प्रतियुनिट दर भने ७.११ भारु (११ रुपैयाँ ३७ पैसा) पर्छ ।
नाेट : पत्रकार विकास थापा द्वारा लिखित विचारहरूकाे संग्रह
मंसिर १६, २०७७ मगलवार १८:१६ बजे
प्रदेश र स्थानीय सडक सुधार्न पनि विश्व बैंकको १७ अर्ब १५ करोड ऋण
३४ वर्ष रजगज गरेका दलहरुले एउटा जलाशययुक्त आयोजना बनाउन सकेनन्
राजस्व सङ्कलनमा १७ प्रतिशतले वृद्धि, पाहिलो चार महिनामा उठ्यो तीन खर्ब २३ अर्ब
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का