चालु खर्च नियन्त्रणमा सरकारको जोड, संघीय खर्च ८.२१ प्रतिशतमा सीमित
जलसरोकार
काठमाडौं : अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै चालु खर्च नियन्त्रणलाई प्राथमिकतामा राखिएको जनाएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा कुल विनियोजनको ८ प्रतिशत हाराहारीमा मात्र चालु खर्च भएको छ ।
प्रतिवेदनअनुसार चालु खर्चलाई आर्थिक वृद्धिदर र उपभोक्ता मुद्रास्फीतिको लक्ष्यसँग मेल खाने गरी सीमित राख्ने उद्देश्यसहित बजेट कार्यान्वयन गरिएको छ । चालु खर्चमा अनावश्यक वृद्धि रोक्न प्राथमिकता निर्धारण, खर्च कटौती तथा मितव्ययिताका उपायहरू अवलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कर्मचारी तलबभत्ता, सामाजिक सुरक्षा, क्षतिपूर्ति भुक्तानी तथा अन्तरसरकारी वित्त हस्तान्तरणजस्ता कारणले चालु खर्चमा दबाब रहने गरेको छ । साथै आयोजनाको पूर्वतयारी कमजोर, जग्गा प्राप्ति र वन क्षेत्रको प्रयोगमा जटिलता तथा निर्माण कार्यमा सुस्तताले पनि चालु खर्चको प्रभावकारितामा चुनौती थपिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा भौतिक संरचनाको निर्माण, सञ्चालन तथा मर्मतसम्भारलाई प्रभावकारी बनाउँदै चालु खर्च व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । साथै, बैठक भत्ता, यात्रा खर्च, सवारी साधनको प्रयोग तथा सेवासुविधामा नियन्त्रण गर्ने उपायहरू अघि सारिएको छ ।
अर्धवार्षिक अवधिसम्म संघीय चालु खर्चतर्फ १ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ विनियोजनमध्ये ११ अर्ब १० करोड ३१ लाख रुपैयाँ खर्च भएको छ, जुन कुल विनियोजनको ८.२१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
सरकारले चालु खर्च नियन्त्रण गर्दै बजेट कार्यान्वयनलाई थप मितव्ययी र परिणाममुखी बनाउने नीति लिएको प्रतिवेदनमा उल्लेख छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु