विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो
जलसरोकार
काठमाडौं : गत आर्थिक वर्ष २०८२/०८३ मा विद्युत् उत्पादनतर्फ सरकारले लिएको लक्ष्य पूरा हुन नसकेको पाइएको छ। सरकारले उक्त अवधिमा थप ९४२ मेगावाट विद्युत् उत्पादन गरी देशको कुल जडित क्षमता चार हजार ८०० मेगावाट पुर्याउने लक्ष्य राखेको भए पनि लक्ष्यको करिब ५९ प्रतिशत अर्थात् ५६१ मेगावाट मात्र राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा विभिन्न २५ वटा आयोजनाको निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको छ। ती आयोजनाबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै देशको कुल जडित क्षमता करिब चार हजार ३०० मेगावाट पुगेको छ।
उत्पादन सुरु भएका आयोजनामध्ये २३ वटा जलविद्युत् आयोजना र दुई वटा सौर्य ऊर्जा आयोजना रहेका छन्। उत्पादनमा जोडिएका आयोजनामध्ये १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना सबैभन्दा ठूलो रहेको छ।
प्राकृतिक विपत्ति र निर्माण सामग्री अभाव मुख्य कारण
विद्युत् उत्पादनको लक्ष्य हासिल हुन नसक्नुमा प्राकृतिक विपत्ति र व्यवस्थापकीय चुनौतीहरू प्रमुख कारणका रूपमा देखिएका छन्। मनसुनका बेला आएको बाढी तथा पहिरोले निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा क्षति पुर्याउनुका साथै निर्माण कार्यमा अवरोध सिर्जना गरेको थियो।
यस्तै, सिमेन्ट, डण्डी लगायतका निर्माण सामग्री समयमै उपलब्ध नहुँदा आयोजनाको काम प्रभावित भएको थियो। सडक पूर्वाधारमा आएको क्षति तथा ढुवानी व्यवस्थामा देखिएका समस्याले आवश्यक उपकरण तथा सामग्री आयोजनास्थलसम्म पुर्याउन ढिलाइ भएको प्राधिकरणले जनाएको छ।
ऊर्जा क्षेत्रमा सकारात्मक संकेत
लक्ष्यअनुसार विद्युत् उत्पादन थप्न नसकिए पनि गत आर्थिक वर्षमा २५ वटा आयोजनाबाट उत्पादन सुरु हुनु ऊर्जा क्षेत्रका लागि सकारात्मक उपलब्धि मानिएको छ। निजी तथा सरकारी क्षेत्रको लगानीमा निर्माण सम्पन्न भएका यी आयोजनाले देशको विद्युत् उत्पादन क्षमता विस्तारमा महत्वपूर्ण योगदान पुर्याएका छन्।
ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार आगामी वर्षहरूमा प्रसारण लाइन, सबस्टेसन तथा अन्य पूर्वाधार निर्माणलाई तीव्रता दिन सके विद्युत् उत्पादन वृद्धिसँगै आन्तरिक खपत विस्तार र विद्युत् निर्यातको सम्भावना अझ बलियो बन्नेछ।
| क्र.सं. | आयोजनाको नाम | क्षमता (मेगावाट) | उत्पादन/सञ्चालन मिति |
|---|---|---|---|
| १ | सागु खोला–१ | ५.५ | २०८२.०४.०८ |
| २ | माथिल्लो तादी | ११ | २०८२.०४.१२ |
| ३ | राहुघाट मंगले | ३५.५ | २०८२.०४.२० |
| ४ | लोअर सोलु | ८२ | २०८२.०४.२४ |
| ५ | काबेली–३ | २१.९३ | २०८२.०५.०८ |
| ६ | ठुलो खोला | २१.३ | २०८२.०५.०९ |
| ७ | बुकु कपाती | ५ | २०८२.०५.१४ |
| ८ | माथिल्लो पिलुवा खोला–३ | ४.९५ | २०८२.०६.०४ |
| ९ | मध्य भोटेकोशी | १०२ | २०८२.०६.२० |
| १० | सागु खोला | २० | २०८२.०६.२५ |
| ११ | माथिल्लो राहुघाट | ४८.५ | २०८२.०७.०७ |
| १२ | माथिल्लो गडिगाड | १.५५ | २०८२.०७.०९ |
| १३ | दरम खोला | ९.६ | २०८२.०७.२३ |
| १४ | खोरुङ्गा खोला | ४.८ | २०८२.०९.०१ |
| १५ | मदमे खोला | २४ | २०८२.०९.१२ |
| १६ | दुहबी सोलार प्रोजेक्ट | ८ | २०८२.१०.२८ |
| १७ | माथिल्लो ठुलो खोला–ए | २२.५ | २०८२.१२.१६ |
| १८ | बुकु खोला | ६ | २०८२.१२.१८ |
| १९ | तल्लो इर्खुवा | १३.०४ | २०८२.१२.२७ |
| २० | सिद्धि खोला एचईपी | १० | २०८३.०१.२४ |
| २१ | मेवा खोला | ५० | २०८३.०२.२८ |
| २२ | सोलार पीभी प्रोजेक्ट, ढल्केबर | ५ | २०८३.०२.३० |
| २३ | हिदी खोला | ६.८२ | २०८३.०३.१२ |
| २४ | लाङटाङ खोला | २० | परीक्षण प्रसारण |
| २५ | सेती खोला | २२ | परीक्षण प्रसारण |
कुल आयोजना: २५ वटा
कुल क्षमता: ५६१.४९ मेगावाट (परीक्षण प्रसारणमा रहेका लाङटाङ खोला र सेती खोला सहित) ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै