२०३५ सम्म १११ अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्य : उज्यालो नेपाल पार्टीको आर्थिक रोडम्याप
जलसरोकार
काठमाडौं : उज्यालो नेपाल पार्टीले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिबद्धता–पत्रमा देशको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै तीव्र आर्थिक समृद्धि हासिल गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ।
पार्टीले सन् २०३० सम्म नेपालको कुल गार्हस्थ उत्पादन (GDP) ७० अर्ब अमेरिकी डलर पुर्याउने र २०३५ सम्म यसलाई १११ अर्ब डलरमा विस्तार गर्ने लक्ष्य लिएको छ। साथै, २०३५ सम्म नेपाललाई उच्च मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएको छ।
घोषणापत्रअनुसार निर्यात प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै २०३० सम्म १० अर्ब डलर र २०३५ सम्म २० अर्ब डलरसम्म निर्यात विस्तार गर्ने लक्ष्य तय गरिएको छ। जलविद्युत, जडीबुटी, सिमेन्ट, पर्यटन र आईटी क्षेत्रलाई निर्यातका मुख्य आधार बनाइने उल्लेख छ।
त्यस्तै, रोजगारी सिर्जनालाई आर्थिक नीतिको केन्द्रमा राख्दै प्रत्येक वर्ष करिब १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य पार्टीले अघि सारेको छ। युवालाई आत्मनिर्भर बनाउन स्टार्टअप अनुदान र सहुलियत ऋण कार्यक्रम सञ्चालन गरिने पनि घोषणापत्रमा उल्लेख छ।
पार्टीले निजी क्षेत्र, सहकारी र समुदायबीच सहकार्य विस्तार गर्दै आवश्यक प्राथमिकता क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने नीति लिने जनाएको छ।
उज्यालो नेपाल पार्टीका अनुसार आर्थिक विकासको मूल आधार उत्पादन, निर्यात वृद्धि र रोजगारी विस्तार नै हुनेछन्।
घोषणापत्रअनुसार संघीय तहमा मन्त्रालय संख्या १५ मा सीमित गरिनेछ भने प्रदेशमा ५ देखि ७ मन्त्रालय मात्र रहने व्यवस्था गरिनेछ। साथै, राज्यमन्त्री र सहायकमन्त्री नराख्ने नीति लिने उल्लेख गरिएको छ।
पार्टीले प्रदेश सरकारको स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गर्ने प्रस्ताव पनि अघि सारेको छ।
सुशासनलाई संवैधानिक हकको रूपमा स्थापित गर्ने प्रतिबद्धता पनि पार्टीले जनाएको छ। नागरिकले समयमै सार्वजनिक सेवा पाउने, भ्रष्टाचारविरुद्ध उजुरी दिन पाउने र जवाफदेहिता खोज्न पाउने अधिकारलाई संविधानमै मौलिक हकका रूपमा समावेश गर्ने योजना रहेको घोषणापत्रमा उल्लेख छ।
पार्टीका अनुसार प्रशासनलाई डिजिटल, पारदर्शी र परिणाममुखी बनाउँदै सार्वजनिक खर्च घटाएर विकासमा केन्द्रित शासन प्रणाली निर्माण गरिनेछ।
वार्षिक १० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य, युवालाई २५ लाखसम्म सहुलियत ऋण
आगामी पाँच वर्षभित्र रोजगारी विस्तारलाई प्राथमिकतामा राख्दै प्रत्येक वर्ष करिब १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य सार्वजनिक गरेको छ। पार्टीले आर्थिक वृद्धिलाई उत्पादन र रोजगारीसँग जोड्दै युवालाई स्वदेशमै अवसर दिने प्रतिबद्धता जनाएको छ।
घोषणापत्रअनुसार ५ वर्षमा ४५ लाख रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको छ। जलविद्युत, कृषि, पर्यटन, आईटी, उद्योग, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा रोजगारी विस्तार गरिने उल्लेख गरिएको छ।
युवालाई उद्यमशील बनाउन ‘प्रत्येक घरमा रोजगारी’ अभियान सञ्चालन गरिनेछ। उद्यमशीलता कोषमार्फत १० लाख रुपैयाँसम्म बिना धितो/सहुलियत ऋण उपलब्ध गराउने र मेन्टरसिपको व्यवस्था गरिने योजना छ।
त्यस्तै, कृषि क्षेत्रमा युवालाई प्रोत्साहन गर्न २५ लाख रुपैयाँसम्म सहुलियत ऋण ५ वर्षका लागि उपलब्ध गराइने उल्लेख छ।
पार्टीले १६ देखि ३५ वर्ष उमेर समूहका युवालाई लक्षित गर्दै ‘युवा रोजगारी मेला’ आयोजना गरी निःशुल्क सीप तालिम प्रदान गर्ने कार्यक्रम पनि अघि सारेको छ। साथै, डिजिटल सीप विकासमार्फत पाँच वर्षमा ६ लाख युवालाई कोडिङ, एआई र साइबर सुरक्षा तालिम दिने योजना रहेको छ।
उज्यालो नेपाल पार्टीका अनुसार वैदेशिक पलायन घटाउँदै स्वदेशमै उत्पादन र उद्यम विस्तार गर्ने वातावरण सिर्जना गर्नु नै रोजगारी नीतिको मूल लक्ष्य हुनेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
समृद्धिको लागि विकास दशक घोषणा गर्ने ऊज्यालो नेपालको प्रतिबद्धता
-
२०३५ सम्म २५ हजार मेगावाट विद्युत उत्पादन लक्ष्य, निर्यातबाट अर्बौँ डलर आम्दानी योजना
-
२०३५ सम्म १११ अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्य : उज्यालो नेपाल पार्टीको आर्थिक रोडम्याप
-
भ्रष्टाचारविरुद्ध आजीवन प्रतिबन्धदेखि सांसद संख्या कटौतीसम्म : उज्यालो नेपाल पार्टीको कडा एजेन्डा
-
शाक्यद्वारा पटक-पटक बोर्ड निर्णय अवज्ञा, प्राधिकरण सञ्चालक समिति ‘कठपुतली’ बनाइएको आरोप
-
जलविद्युत् आयोजनाले मापदण्डअनुसार पानी नछाड्दा मोदीखोला सुक्दै