सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकको नयाँ विभाग

जलसरोकार
बिहीबार, फागुन २८, २०८२ | १६:२८:५३ बजे

 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि समर्पित र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग स्थापना गरी शुभारम्भ गरेको छ।

बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरे।

नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत बैंकले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका आफ्ना ग्राहकहरूलाई विशेष प्राथमिकताका साथ एकद्वार प्रणालीमार्फत सेवा प्रदान गर्नेछ।

बैंकका अनुसार, यस विभागबाट विदेशमा रहेका नेपालीहरूलाई बैंक खाता खोल्ने, कर्जा उपलब्ध गराउने, ट्रान्जेक्सन बैंकिङसम्बन्धी सेवा दिने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापनलगायतका सेवाहरू उपलब्ध गराइनेछ।

विदेशमा रहेका नेपालीहरूलाई सेवा उपलब्ध गराउन बैंकले ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौंको नक्सालस्थित यस विभागको कार्यालयमार्फत विभिन्न सेवाहरू उपलब्ध गराउनेछ।

विभिन्न देशमा रहेका नेपालीहरूको सेवामा सहजीकरणका लागि बैंकले सहायता कक्ष स्थापना गरी बैंकिङ सेवा सञ्चालन गर्नेछ। साथै, भविष्यमा यस सेवा कक्षमार्फत ग्राहकहरूलाई २४सै घण्टा सेवा प्रदान गरिने जनाइएको छ।

सन् २००७ मा स्थापना भएदेखि ग्लोबल आइएमई बैंकले विश्वभर रहेका नेपाली आप्रवासी तथा डायस्पोराको सेवालाई निरन्तर प्राथमिकता दिँदै बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ। बैंकले विगत दुई दशकमा विश्वव्यापी रूपमा रेमिट्यान्स सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय बैंकहरूसँगको सहकार्य सुदृढीकरण, संयुक्त अधिराज्य, अस्ट्रेलिया र भारतमा प्रतिनिधि कार्यालय स्थापना, आप्रवासी–केन्द्रित बैंकिङ सेवाहरूको विकास तथा १० भन्दा बढी देशमा रहेका बैंकका कर्मचारीहरूमार्फत बैंकिङ सेवाहरूलाई प्राथमिकताका साथ प्रदान गर्दै आएको छ।

विदेशमा रहेका ग्राहकहरूले भौगोलिक दूरी वा भौतिक उपस्थितिको कुनै अवरोधबिना नेपालमा सहज र झन्झटरहित बैंकिङ सेवा पाउनुपर्छ भन्ने बैंकको बुझाइ रहेको छ।

विभागको औपचारिक उद्घाटन गर्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारी तथा अन्य कामको सिलसिलामा विदेशमा बसोबास गर्ने हरेक नेपाली नागरिक नेपालको विकास र प्रगतिका महत्वपूर्ण साझेदार रहेको बताए। उनले यस नयाँ विभागबाट बैंकले प्रदान गर्ने सेवाले विदेशमा बस्ने नेपालीलाई आफ्नो मातृभूमिसँग जोडिन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

“यस नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत ग्लोबल आइएमई बैंकले विदेशमा रहेका नेपाली नागरिकहरूलाई उहाँहरूको आवश्यकताअनुरूप पूर्ण बैंकिङ सेवाहरू प्रदान गर्नेछ। यस विभागले विभिन्न सेवामार्फत उहाँहरूको सपना, लगानी र स्वदेशमा रहेका परिवारसँग जोडिन सहयोग पुर्‍याउनेछ। नेपालीहरू जहाँ भए पनि सहज, द्रुत र पारदर्शी रूपमा पूर्ण बैंकिङ सेवा प्रदान गर्ने यो हाम्रो महत्वपूर्ण प्रयास हो,” उनले भने।

यसै अवसरमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस विभागबाट प्रदान हुने सेवाले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई नेपालसँग जोडिन थप सहज हुने बताए।

“यस नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत ग्लोबल आइएमई बैंकले रेमिट्यान्स सेवाका अतिरिक्त विदेशमा रहेका नेपालीहरूलाई विदेशमै रहँदा नेपालमा लगानी गर्न र उहाँहरूको आवश्यकता तथा चाहना पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ,” उनले भने।

उनले यस पहलसँगै ग्लोबल आइएमई बैंक विदेशमा रहेका नेपाली नागरिकहरूसँग पूर्ण तथा दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्ने नयाँ चरणमा प्रवेश गरेको बताए।

उक्त शुभारम्भ कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।

बैंकले आफूलाई अग्रणी रेमिट्यान्स साझेदार मात्र नभई नेपाली डायस्पोराका लागि भरपर्दो बैंकिङ सेवा प्रदायकका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।

यस विभागको कार्यालय ग्लोबल आइएमई बैंकको काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा रहनेछ। साथै, विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूले नन्–रेसिडेन्ट एन्ड ओभरसिज बैंकिङ विभागमा प्रत्यक्ष फोन, इमेल, ह्वाट्सएप वा भाइबरमार्फत सम्पर्क गरी बैंकिङ सेवा लिन सक्नेछन्।

बैंकका प्रत्यक्ष टेलिफोन नम्बरहरू ९७७–०१४५४४५१५ र ९७७–०१४५३८१०५/०७, इमेल ठेगाना [email protected]
तथा ह्वाट्सएप वा भाइबर नम्बर ९७७–९८५११९९६४० मार्फत ग्राहकहरूले सम्पर्क गरी बैंकिङ सेवा लिन सक्नेछन्।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरोमनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकका रूपमा सम्मानित बैंक हो। साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट फरक–फरक विधामा सम्मानित हुँदै आएको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर, साथै ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।

प्रकाशित मिति : बिहीबार, फागुन २८, २०८२ | १६:२८:५३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया