मुस्ताङमा विदेशी पर्यटकको आगमन बढ्यो, सन् २०२५ मा १८.७१ प्रतिशतले वृद्धि
जलसरोकार
काठमाडौं : धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२४ को तुलनामा सन् २०२५ मा विदेशी पर्यटकको सङ्ख्या २५ हजार ४०३ ले वृद्धि भएको छ ।
एक्याप जोमसोम कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार सन् २०२५ को जनवरीदेखि डिसेम्बर ३१ सम्म मुस्ताङमा कुल एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक भित्रिएका छन् । अघिल्लो वर्ष सन् २०२४ मा एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटक मुस्ताङ आएका थिए । यस आधारमा सन् २०२५ मा समग्र विदेशी पर्यटक आगमन १८ दशमलव ७१ प्रतिशतले वृद्धि भएको हो ।
गत वर्ष मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकमध्ये सार्क राष्ट्रबाट एक लाख ३२ हजार ८४७ जना र अन्य मुलुकबाट २८ हजार २७५ जना रहेका छन् । सन् २०२४ मा भने सार्क राष्ट्रबाट एक लाख नौ हजार ५४९ र अन्य राष्ट्रबाट २६ हजार १७० जना पर्यटक आएको तथ्याङ्क छ ।
एक्यापका अनुसार सन् २०२४ को तुलनामा सन् २०२५ मा सार्क राष्ट्रतर्फ २३ हजार २९८ र अन्य राष्ट्रतर्फ दुई हजार १०५ जना विदेशी पर्यटक थपिएका छन् । यसअनुसार सार्क राष्ट्रतर्फ १७ दशमलव ५७ प्रतिशत र अन्य राष्ट्रतर्फ सात दशमलव ४४ प्रतिशतले पर्यटक सङ्ख्या बढेको हो ।
हिमाली जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य दुवै प्रकारका पर्यटकको आकर्षण बढ्दो रहे पनि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको प्रभावले अपेक्षित दरमा विदेशी पर्यटक वृद्धि हुन नसकेको एक्याप प्रमुख गुप्ताले बताए ।
सन् २०२५ मा करिब ३० प्रतिशत विदेशी पर्यटक वृद्धि हुने अनुमान गरिए पनि सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा पर्यटक आगमन घट्दा अनुमानअनुसार वृद्धि हुन सकेन । तथ्याङ्कअनुसार सन् २०२५ को सेप्टेम्बरमा सन् २०२४ को तुलनामा तीन हजार ६३८, अक्टोबरमा ८५४ र नोभेम्बरमा ७० जना विदेशी पर्यटक कम आएका थिए ।
तर जनवरीदेखि अगस्टसम्म र डिसेम्बर महिनामा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको एक्यापले जनाएको छ ।
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी भारतीय नागरिक रहेका छन् । एक्यापका अनुसार कुल विदेशी पर्यटकमध्ये ८२ प्रतिशत सार्क राष्ट्रका छन् भने १८ प्रतिशत अन्य मुलुकका हुन् । सार्क राष्ट्रबाट आउने पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी भारतीय रहेको तथ्याङ्कमा उल्लेख छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार