यिनीहरुको प्रस्ताव उपर अध्ययन भइरहेको र आगामी दुई साताभित्र प्रक्रियामा लगिने जानकारी स्रोतले दिएको छ । यसका लागि प्राधिकरणले करिब २ अर्ब रुपैयाँ लागत अनुमान गरेको छ ।
बर्दिया र कैलालीको चिसापानी भन्ने ठाउँमा पर्ने यो आयोजनाको विस्तृत अध्ययन गर्ने निर्णय पुष्पकमल दाहालको मन्त्रिपरिषद्ले गत २०८० कात्तिक २५ गते निर्णय गरेको थियो । प्राधिकरणलाई यसको सर्वेक्षण अनुमति पत्र (लाइसेन्स) नदिई मन्त्रिपरिषद् निर्णयबाट अध्ययन गर्न जिम्मा दिने निर्णय भएको थियो । अध्ययन र डीपीआर सकिएपछि प्राधिकरणलाई नै दिने वा अन्य विकल्प खोज्नेबारे त्यतिबेला निर्णय भएको थिएन ।
मन्त्रिपरिषद्बाट निर्णय गर्नुअघि तत्कालीन प्रधानमन्त्री दाहालले गत २०८० भदौ १ गते नेपाल विद्युत् प्राधिकरणको ३८ औं वार्षिकोत्सवमा यसको अध्ययन तथा विकास गर्ने घोषणा गरेका थिए । उनले त्यतिबेला सरकारी निकाय प्राधिकरणका योग्य र सक्षम मानव स्रोत कर्णाली चिसापानीको अध्ययनमा संलग्न हुने बताएका थिए ।
यसको सामाजिक र वातावरणीय प्रभाव मूल्यांकन गरेपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने र लगानी जुटाउने तत्कालीन दाहाल सरकारले निर्णय गरेको हो । अध्ययनबाट नै सामाजिक, वातावरणीय र आर्थिक रुपमा लगानी योग्य छ छैन थाहा हुनेछ ।
प्राधिकरणले यो आयोजनाको अध्ययनकै क्रममा यसको लगानी जुटाउने पहलकदमीका लागि छलफल गर्ने बताउँदै आएको छ ।
कर्णाली चिसापानीको अद्यावधिक सम्भाव्यता अध्ययन प्रतिवेदन सन् १९८९ मै तयार भएको थियो । यसको पछिल्लो अध्ययन भने सन् १९८६ मा भएको थियो । त्यतिबेला हिमालय पावर कन्सलट्यान्टको संयुक्त उपक्रममा क्यानाडाको एक्रेस, एसएनसी र साविनिगन/लाभालिन) र अमेरिकाको इब्यास्कोले यसको अध्ययन गरेका थिए ।
उक्त अध्ययनले कर्णाली चिसापानी आर्थिक रुपमा व्यवहार्य र धेरै आकर्षक रहेको निष्कर्ष निकालेको थियो । यो आयोजना त्यतिबेला भनेकै समयमा बन्ने हो भने प्रत्येक वर्ष ७० करोड अमेरिकी डलर (प्रतिदिन २ डलर) आम्दानी हुने प्रतिवेदनको ठहर थियो । आयोजनाको अनुमानित लागत चार अर्ब ८९ करोड अमेरिकी डलर थियो ।
अध्ययनले ६०० मेगावाटका १८ वटा युनिट (कुल १०८०० मेगावाट) राख्न भनेको थियो र यसबाट उत्पादन हुने बिजुली ७६५ केभीका पाँचवटा प्रसारण लाइनबाट भारतको नर्दन ग्रीडमा जोडिन सकिने भनिएको थियो । यसबाट वार्षिक २० अर्ब ८४ करोड २० लाख युनिट बिजुली उत्पादन हुने अनुमान थियो । कर्णाली चिसापानीको यो बिजुली प्राधिकरणले आव २०८०/८१ मा बेचेकोभन्दा झन्डै सात अर्ब युनिट बढी हो ।
के पहाडी मूलका नेपालीहरु भारतविरोधी भएकै हुन् त ?
माथिल्लो तमोर (२८५ मेगावाट) ले भित्र्यायो विश्वकै ठूलो इलेक्ट्रो मेकानिकल कम्पनी
'ग्रीन ट्याक्सोनोमी' र 'क्लाइमेट फाइनान्सिङ' बारे अध्ययन गर्न इप्पान र पायोनियर ल बीच समझदारी
वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाऔँ : अर्थमन्त्री पौडेल
जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान
राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस