नेपाल-कतार संयुक्त व्यवसाय परिषद्को पहिलो बैठक काठमाडौंमा सम्पन्न
द्विपक्षीय लगानी र व्यापार विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
जलसरोकार
काठमाडौं : नेपाल र कतारबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित गठन गरिएको नेपाल-कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) को पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ। चन्द्रागिरीमा सम्पन्न बैठकले दुई देशबीच आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
कतारका महामहिम अमिर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा सन् २०२४ अप्रिलमा परिषद् स्थापना सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। परिषद् नेपाल र कतारका निजी क्षेत्रबीच संवाद, व्यवसायिक सहकार्य तथा प्रत्यक्ष साझेदारी प्रवर्द्धन गर्ने मञ्चका रूपमा स्थापित गरिएको हो।
बैठकमा दुवै देशका निजी क्षेत्रका प्रतिनिधिहरूले लगानी प्रवर्द्धन, व्यापार विस्तार, निजी क्षेत्र-निजी क्षेत्र (बी-टु-बी) सहकार्य तथा सरकार-सरकार (जी-टु-जी) समन्वयका विषयमा छलफल गरेका थिए। सहभागीहरूले नेपाल-कतार आर्थिक सम्बन्धलाई दीर्घकालीन र परिणाममुखी बनाउने प्रतिबद्धता जनाएका छन्।
नेपाली पक्षले ऊर्जा, खनिज, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि प्रशोधन तथा सूचना प्रविधि लगायतका क्षेत्रमा कतारी लगानीको सम्भावना रहेको उल्लेख गर्दै लगानीका लागि आग्रह गरेको छ। साथै, लगानीमैत्री वातावरण सुधार गर्न कानुनी संशोधन, डिजिटल प्रणालीमार्फत स्वीकृति प्रक्रिया सरल बनाउने तथा सार्वजनिक-निजी साझेदारी प्रवर्द्धनमा सरकारको प्राथमिकता रहेको जानकारी गराइएको थियो।
कतारी प्रतिनिधिमण्डलले नेपालमा लगानी वातावरण सकारात्मक रहेको धारणा राख्दै निजी क्षेत्रबीच प्रत्यक्ष सहकार्य र व्यवसायिक आदान-प्रदान विस्तार गर्न इच्छुक रहेको जनाएको छ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिषद्ले नेपाल-कतार आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। महासंघ विदेशी लगानी सहजीकरण, संस्थागत सहकार्य सुदृढीकरण तथा व्यवसाय-देखि-व्यवसाय सम्पर्क प्रवर्द्धनमा प्रतिबद्ध रहेको उनको भनाइ थियो।
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले परिषद्लाई औपचारिकतामा सीमित नराखी व्यवहारिक र परिणाममुखी बनाउनु पर्नेमा जोड दिए।
कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका बोर्ड सदस्य तथा प्रतिनिधिमण्डलका प्रमुख मोहद अहमद एम.ए. अलोबैदेलीले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण भए कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार रहेको बताए ।
नेपाल भ्रमणका क्रममा कतारी प्रतिनिधिमण्डलले अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योग मन्त्री, पर्यटन मन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग भेटवार्ता गरेको थियो। भेटमा लगानी प्रवर्द्धन, व्यापार विस्तार, सहकार्य तथा हवाई कनेक्टिभिटीका विषयमा छलफल भएको बताइएको छ।
बैठकले नेपाल-कतारबीच व्यापार, लगानी र निजी क्षेत्रको प्रत्यक्ष साझेदारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँ बढ्यो
-
यस्तो छ आजको मौसम पूर्वानुमान
-
विद्युत् प्राधिकरणको नयाँ रणनीति : निजी क्षेत्र थिच्दै नाफा बढाउने
-
पूर्वऊर्जामन्त्री खड्कालाई थुनामै राख्न आदेश
-
नयाँ वर्षको पहिलो दिन सेयर बजार उत्साहित, नेप्से ३३ अंकले बढ्यो
-
कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी