ऊर्जा मन्त्रीले बनाए ६ सहसचिवलाई कामविहीन


काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ६ जना सहसचिवहरुलाई टेबल कुर्सीसमेत नदिई मन्त्रालयको ‘कोरिडर’ मा थन्क्याएको छ । कोरिडर भन्नाले मन्त्रालयका विभिन्न कोठा, चोटामा छिर्ने बाटो हो । मन्त्रालयले पछिल्लोपटक सिंचाइ विभागका महानिर्देशक र उपमहानिर्देशकलाई समेत हिजो सोमबार सरुवा गरी काम र जिम्मेवारी नपाउने सहसचिवहरुको संख्या ६ जना पु¥याएको हो ।
सिंचाइ विभागको महानिर्देशकबाट तानिएका चूर्णबहादुर ओलीलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा, विभागको योजना महाशाखाका उपमहानिर्देशक दिनेश रजौरियालाई कोरिडरमा राखिएको छ । ओली र अर्का सहसचिव रजौरिया गत भदौ १ गतेदेखि विभागको जिम्मा पाएका थिए ।
ओलीले आफ्नो कार्यकालमा विभागको विकास खर्च ६२ प्रतिशत पु¥याएका थिए । जबकि देशभरको विकास खर्च हालसम्म ३० प्रतिशत मात्र छ । ओलीले नै सिंचाई नीति स्वीकृत गराएका थिए भने सिंचाई गुरुयोजना अन्तिम चरणमा पु¥याएका थिए । उनले जिम्मेवारी पाएदेखि वर्षौंदेखि ठप्प रहेको भेरी बबई डाइभर्सन आयोजनाले गति लिएको थियो ।
यसअघि मन्त्रालयले प्रदेशका दुई जना सचिव सुनिल पौडेल र अरुणकुमार झालाई पनि यस्तै कोरिडरमा राखेको थियो । उनीहरु केही महिनाअघि मात्र प्रदेश सचिव भएका थिए ।
त्यसैगरी विद्युत् नियमन आयोगका सचिव सागरराज गौतमलाई पनि हिजो सोमबार मन्त्रालय तानिएको छ । गौतम दुई महिनअघि मात्र आयोगको सचिवका रुपमा कार्यरत थिए । गौतमलाई पनि टेबल, कुर्सी नदिएर कोरिडरमै राखिएको हो ।
राजपत्रांकित प्रथम श्रेणीको कर्मचारीको सरुवा अधिकार विभागीय मन्त्रीको मात्र हुन्छ । यस हिसाबले ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले यी सहसचिवहरुलाई अवधि नै नपुगी सरुवा गरेका हुन् ।
मन्त्री बस्नेतले विद्युत् विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौतलाई तानेर बिना जिम्मेवारी राखेका छन् । चटौतलाई दुई वर्ष नपुग्दै विभागबाट तानिएको हो । चटौतको स्थानमा विभागकै उपमहानिर्देशक जीवछ मण्डललाई महानिर्देशक बनाइएको छ । मण्डल महानिर्देशक भएयता विभिन्न अनुमति पत्र जारी हुने काम ठप्प गरिएको छ ।
सिचाईंतर्फका रमेशकुमार सिंहलाई पनि मन्त्रालयको ‘कोरिडर महाशाखा’ मा तानिएको छ । सिंह तीन महिना अघि मात्र प्रदेशको सचिवका रुपमा कार्यरत थिए । मन्त्री बस्नेतले सिंचाइ विभागको महानिर्देशकमा विभागकै उपमहानिर्देशक सञ्जीव बराललाई नियुक्त गरेका छन् । बराल सिंचाईका ‘क्याडर’ होइनन् । उनी विद्युत् विकास विभागबाट सिंचाइ विभाग पुगेका थिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणमा गाडीको चरम दुरुपयोग, सञ्चालकलाई अनधिकृत र पाँच तहकी आफ्नी पीएलाई पनि गाडी
-
ग्लोबल आइएमई क्यापिटलको ‘समुन्नत योजना २’ म्युचुअल फन्ड असार २२ गतेदेखि निष्कासनमा
-
‘ऊर्जा सम्मेलन २०२५’ आगामी असोज १ र २ मा
-
ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह
-
मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना
-
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो