सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

जलसरोकार
सोमबार, भदौ २२, २०८३ | ०९:३७:५५ बजे

 

काठमाडौं : भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनःस्थापना गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सक्रियता बढाएको छ ।

मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बाबजुद धादिङमा करिब ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा करिब ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको छ । बाँकी क्षेत्रमा सेवा पुर्‍याउन नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली परिचालन गरिएको छ ।

यसैबीच, प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । चिलिमे आयोजनामा मड पम्प, जेनेरेटर र वाटर पम्प हेलिकप्टरमार्फत पुर्‍याइएको छ भने रसुवागढी आयोजनामा उद्धार टोली विद्युत्गृह तथा आसपासको क्षेत्रमा पुगेको छ । लाङटाङ आयोजनाको निकास मार्गमा थुप्रिएको माटो तथा ठूला चट्टान हटाउने र माथिल्लो त्रिशूली–३ ‘बी’मा मिनी एक्स्काभेटर तथा बक्याट प्रयोग गरी भग्नावशेष हटाउने काम भइरहेको छ ।

मैलुङ खोला आयोजनामा नेपाली सेना र कोरियन विशेषज्ञ टोलीले स्थलगत रेकी गरेको छ । बाढी प्रभावित आयोजनाका सुरुङबाट उद्धार गरिएका प्राधिकरणका दुई कर्मचारी र एक चिनियाँ नागरिकको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत १३ वटा कार्यालय प्रयोजनका र ५०० वटा घरायसी प्रयोजनका सौर्य विद्युत् प्रणाली प्रभावित क्षेत्रमा पठाइएको छ । रसुवामा विद्युत् सेवा सञ्चालन हुन समय लाग्ने थप एक हजार २६८ घर पहिचान गरी सौर्य प्रणाली वितरणको तयारी भइरहेको छ ।

सडक अवरुद्ध भएका क्षेत्रमा हेलिकप्टरमार्फत सौर्य प्रणाली ढुवानी गर्ने व्यवस्था मिलाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहनकुमार शाक्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : सोमबार, भदौ २२, २०८३ | ०९:३७:५५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया