सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तनहुँका एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार

जलसरोकार
बिहीबार, भदौ २५, २०८३ | ०९:३७:५५ बजे

 

दमौली : नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न क्षेत्रमा एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार गरेको छ ।

विद्युत् पहुँच नपुगेका तथा नयाँ बस्तीमा विद्युत् लाइन विस्तार गरी ती घरधुरीमा सेवा पुर्‍याइएको वितरण केन्द्रका इन्जिनियर डिलबहादुर आलेले जानकारी दिए । नयाँ घरधुरीमा सेवा विस्तारसँगै केन्द्रअन्तर्गत विद्युत् ग्राहकको सङ्ख्या ८२ हजार २४९ पुगेको छ ।

वितरण केन्द्रका अनुसार दमौली कार्यालयअन्तर्गत २८ हजार ८२९, खैरेनीटार उपवितरण केन्द्रअन्तर्गत २७ हजार ४१७, डुम्रे शाखाअन्तर्गत १२ हजार १५६, आँबुखैरेनी शाखाअन्तर्गत पाँच हजार ९२०, थर्पु नोलाइटअन्तर्गत दुई हजार ६१५ र दुईपिप्ले नोलाइटअन्तर्गत पाँच हजार ३१२ ग्राहक रहेका छन् ।

तनहुँ वितरण केन्द्रले जिल्लाका १० वटै स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रमा समेटेको छ । त्यसैगरी कास्कीको रुपा गाउँपालिका–३ र ४ का केही भाग, लमजुङको मध्यनेपाल नगरपालिका–१ देखि ५ सम्म तथा नवलपुरका बौदीकाली र बुलिङटार गाउँपालिकाका केही भागमा पनि यस केन्द्रमार्फत विद्युत् सेवा प्रवाह हुँदै आएको इन्जिनियर आलेले बताए ।

विद्युत् पहुँच विस्तारसँगै ग्रामीण तथा दुर्गम क्षेत्रका घरधुरीलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने कामलाई निरन्तरता दिइएको केन्द्रले जनाएको छ । विद्युत् सेवा विस्तारले घरायसी प्रयोगसँगै कृषि, व्यवसाय तथा स्थानीय उत्पादनमूलक गतिविधिमा समेत सहजता पुग्ने अपेक्षा गरिएको छ ।

केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा ८७ करोड ७६ लाख १३ हजार ७८७ युनिट विद्युत् बिक्री गरेको छ । विद्युत् बिक्रीबाट एक अर्ब एक करोड ११ लाख १२ हजार १२६ रुपैयाँ सङ्कलन भएको इन्जिनियर आलेले जानकारी दिए ।

तनहुँ वितरण केन्द्रअन्तर्गत छवटा सबस्टेसन, ३० वटा ११ केभी फिडर, १०७ किलोमिटर ३३ केभी लाइन, ९३९ किलोमिटर ११ केभी लाइन, चार हजार ३२८ किलोमिटर ०.४/०.२३ केभी वितरण लाइन तथा ६७३ वटा ट्रान्सफर्मर रहेका छन् ।

केन्द्रले ११/०.४ केभी लाइन विस्तार, मर्मत, सम्भार, सुदृढीकरण तथा स्तरोन्नति, आवश्यकताअनुसार विभिन्न क्षमताका लोड सेन्टर थप, ग्राहकलाई भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति तथा नयाँ मिटर जडान र मिटरसम्बन्धी गुनासो समाधानको काम गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : बिहीबार, भदौ २५, २०८३ | ०९:३७:५५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया