सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

महोत्तरी–२ मा चुनावी चहलपहल : उम्मेदवारलाई मतदाताको प्रश्न, बाढी–सिँचाइ समस्या कहिले समाधान ?’

जलसरोकार
आइतबार, माघ १८, २०८२ | ११:५९:३१ बजे

 

महोत्तरी, : प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै महोत्तरी–२ मा चुनावी चहलपहल बढ्न थालेको छ । घरआँगन र टोल–बस्तीमा उम्मेदवार तथा दलका नेता–कार्यकर्ताको आवतजावत बढेसँगै चुनावी माहोल तातेको भए पनि यहाँका मतदाता भने उम्मेदवारलाई समस्या देखाउनेभन्दा बढी असन्तुष्टि पोख्न थालेका छन् ।

मतदाताका गुनासाको मुख्य विषय नदीजन्य विपद्, कटान–डुबान, सिँचाइ अभाव र खानेपानी संकट रहेको छ । क्षेत्र भएर बग्ने रातु नदीको बाढी र कटानले जिल्लाका सात स्थानीय तहका बासिन्दा प्रभावित हुँदै आएका छन् ।

भङ्गाहा नगरपालिका–६ हतिसर्वा मजराका ५५ वर्षीय सुरेश सर्दारले बर्खायाममा नदीको बाढीले बस्ती र खेत जोखिममा पार्दै आएको बताए । “हाम्रो बस्ती नदीका कारण समस्यामा छ । बर्खामा आउने बाढीका कारण बस्ती र खेत जोखिममा पर्दै आएको छ,” उनले भने,। नदी नियन्त्रणका लागि पक्की तटबन्ध तथा कुलो–नहरका बाँध नबन्दा बर्सेनि दुःख झेल्नुपरेको उनको भनाइ छ ।

यस्तै, बलवा नगरपालिका–११ भगवतीपुरकी मरनी माझी मुसहरले दीर्घकालीन समाधान नपहिल्याइँदा समस्या जस्ताको त्यस्तै रहेको बताए । “बर्खा लाग्यो कि घर बाढीले लाने हो कि भन्ने त्रास हुन्छ,” उनले गुनासो गरे । विगतमा केही स्थानमा तटबन्ध बने पनि त्यसले कटान र डुबानको समस्या पूर्ण रूपमा समाधान नगरेको स्थानीयको भनाइ छ ।

बर्खामा बाढी, हिउँदमा पानीको अभाव

जिल्लाको पूर्वी मध्यभेग पर्ने महोत्तरी–२ क्षेत्रमा बिग्ही, रातु, मरहा र ओक्सीसहितका नदीपीडित समूहको मुख्य समस्या नै बर्खामा कटान–डुबान र हिउँदमा पानीको अभाव रहेको छ । खेती मुख्य पेसा भए पनि सिँचाइको समुचित व्यवस्था नहुँदा अधिकांश खेती आकासे पानीकै भरमा निर्भर रहेको स्थानीय बताउँछन् ।

महोत्तरी गाउँपालिका–६ गोरीगमाका ४५ वर्षीय भोला महतोले बाढी र सिँचाइ अभावका कारण वर्षेनी खेतीपातीमा ठूलो नोक्सानी हुने गरेको बताए । “हामी दुःखमा छौँ, खेतमा सिँचाइको प्रबन्ध छैन । बर्खामा बाढीले डुबाएर कहिल्यै राम्ररी अन्न थन्क्याउन पाएका छैनौँ,” उनले भने, “चुनाव त भइरहेका छन्, तर हाम्रो दुःख जहाँको त्यहीं रह्यो ।”

स्थानीयका अनुसार हिउँद अन्त्यतिर कतिपय वर्ष सिँचाइ मात्र होइन, खानेपानीकै हाहाकार पर्ने गरेको छ । लोहारपट्टी–१ का रामसागर यादवले सरकारले सिँचाइ सुविधा, समयमा बीउ–विजन, मलखाद, सुलभ कृषि ऋणको व्यवस्था गर्नुपर्ने र बाढीबाट जोगाउन पक्की बाँध÷तटबन्ध निर्माण गर्नुपर्ने माग गरे ।

३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा

आसन्न निर्वाचनका लागि महोत्तरी–२ मा १५ राजनीतिक दलका उम्मेदवार र २२ स्वतन्त्र गरी ३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रचारप्रसारका क्रममा जनताबाट यस्तै गुनासा आउने गरेको नेकपा (संयुक्त) का उम्मेदवार इदरिस मोमिनले बताए । “योजनाबद्ध तरिकाले काम हुन नसक्दा जनताका गुनासा बढेका हुन् । अब सबैको साझा सङ्कल्पले समाधान पहिल्याउनुपर्छ,” उनले भने, ।

महोत्तरी–२ मा जसपा नेपाल, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा नेपाल, नेपाल मजदुर किसान पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, उज्यालो नेपाल पार्टी, नेकपा (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनादेश पार्टी नेपाल, राष्ट्र निर्माण दल, जनमत पार्टी, श्रम संस्कृति पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन र नेकपा संयुक्तका उम्मेदवार दलगत प्रतिस्पर्धामा छन् ।

१ लाख ७ हजारभन्दा बढी मतदाता

यस क्षेत्रमा १ लाख ७ हजार ५९४ मतदाता रहेका छन् । निर्वाचनका लागि ६२ मतदानस्थलमा १३३ मतदान केन्द्र तोकिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिए । निर्वाचन अभियानसँगै यसलाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था सुदृढ गरिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । 

प्रकाशित मिति : आइतबार, माघ १८, २०८२ | ११:५९:३१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया