ओहो यस्तो राम्रो प्रस्ताव आउँदा म किन पछि हट्ने ! एउटा अर्को ठूलो आयोजनामा जाने, त्यसमा पनि प्रमुखको रूपमा जानु मेरो व्यक्तिगत करिअरको हिसाबले पनि राम्रो हुन्छ भन्ने सोँचे । ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको सुरुदेखि आयोजना सम्पन्न र सञ्चालनमा समेत दैनिक व्यवस्थापनमा लामो अनुभव भएकोले त्यस आयोजनालाई नेतृत्व सम्हाल्न मलाई कुनै गाह्रो थिएन । फेरि कुनै पनि आयोजना वा कार्यालय एकजनाले सञ्चालन गर्ने होइन, टीम-वर्कले गर्ने हो । टीममा रमाउने वा काम गर्ने मेरो बानी नै छ । तामाकोशी अघि चिलिमे र कालीगण्डकी ए जस्ता ठुला जलविद्युत आयोजनाहरूमा Field-Based प्राविधिक र व्यवस्थापकीय अनुभव लिइसकेको थिएँ । तर भित्रभित्रै मनमनै म किन फेरि अर्को आयोजनामा काम गर्न जाने ? यहाँ एउटा आयोजनाको कार्यस्थलको अनुभव नै नलिई कोही DG, MD, सचिव हुन्छन् भने कोही किन आयोजनामा नै घोटिइरहने?
नेपालमा आयोजना सञ्चालन गर्नु भनेको आयोजनास्थल वरिपरि एक प्रकारले राज्य नै सञ्चालन गर्नुपर्ने जस्तो पनि भान हुन्छ । आयोजनामा अनेक खालका विवाद, झगडा, आरोप-प्रत्यारोप, गलत प्रचारहरूको दवदबा, सरकारी कार्यालयहरूको असहयोग, अनि निर्धारित समय र लागतमा सक्नुपर्ने दबाब एकातिर हुन्छ भने अर्कातिर ठेकेदारहरूको समय र लागत थप गर्नुपर्ने अनुचित दाबीहरू ! त्यसमाथि उजुरबाजुरले तपाईंको जागिर र करिअर नै धरापमा पर्ने ! म फेरि कति यस्तै दुनियाँमा बसिरहने ? फेरि यहाँ नेपालमा मैले देखेको छु – १० वटामध्ये ९ वटा राम्रा काम गर्नुहोस् तर केवल एउटामा मात्र थोरै कमी कमजोरी भयो भने त्यसै कमजोरीलाई समातेर तपाईंलाई भूईंमै लडाउने हर्कत ! त्यसैले मैले मनमा अर्को आयोजनामा नजाने नै सोंच बनाइरहेको थिएँ ।
यस्तै बेला एमडी साबले एक/दुई महिनापछि फेरि फोन गरेर कार्यालयमा बोलाउनुभयो । उहाँले मलाई तपाईंले के सोच्नुभयो त भनेर सोध्नुभयो । मैले “नेपालमा ठूला आयोजना निर्माणमा होमिनु भनेको एक प्रकारले फलामको चिउरा खानु बराबर नै हुन्छ । बरू मलाई सरअन्तर्गत नै केन्द्रीय कार्यालयमा राखेर सरलाई ठूला आयोजनाहरूको अनुगमन र तयारीहरूमा पूर्ण सहयोग गर्छु” भनेर भनेँ । उहाँले तपाईं जत्तिको अनुभव भएको मान्छे केन्द्रीय कार्यालयमा बसेर हैन ठूलो आयोजना हाँक्न जानुपर्छ, तपाईं जानुहोस् भनेर एकप्रकारले निर्देशन र पेशागत वरिष्ठ व्यक्तित्वको हिसाबले सल्लाह पनि दिनुभयो । तपाईं हामीले नै काम नगर्ने हो भने यो देशमा कसले काम गर्छ भनेर भन्नुभयो । मेरो संस्थाको मुख्य व्यक्तिले नै यसरी अनुरोध वा सल्लाह दिइरहँदा पनि सो निर्देशन वा सल्लाह नमान्नु संस्थाकै अवज्ञा गर्नुजस्तै भएको थियो । तर मैले अझै जान्छु पनि भनिनँ, जादिनँ पनि भनिनँ ।
त्यसै बेला २०७९ को मंसिर/पुसमा मेरो बढुवा भयो । अनि त उहाँले मलाई अब तपाईं जानै पर्छ भनेर तेस्रो पटक आग्रह गर्नुभयो र म दूधकोशी जलाशययुक्त आयोजनामा जान तयार भएँ । तर मैले उहाँलाई मेरो एउटा शर्त राखेँ – “तपाईंले मलाई पूर्ण साथ र सहयोग दिनुपर्छ, जुन दिन तपाईंले मलाई साथ दिन छाड्नुहुन्छ वा मप्रति विश्वास हराउँछ त्यो दिन मलाई केन्द्रीय कार्यालयमा फिर्ता गर्नुहोला ।” उहाँले सहमति जनाउनु भयो । त्यसपछि म २०७९ पुसदेखि दूधकोशीमा संलग्न हुँदै २०८० साउनदेखि सो आयोजनाको प्रमुख कार्यकारी अधिकृत र आयोजना प्रमुखको जिम्मेवारीमा छु ।
म प्राधिकरणमा जागिर खाएपछि विगत साढे बीस वर्षको अनुभवमा २० जना मन्त्री र करिब १६ जना MD हरू भेटिसकें । यस कालखण्डमा कुलमान सर जस्तो क्षमतावान तथा देश र संस्थाको उन्नतिप्रति समर्पित (Dedicated) राष्ट्रसेवक MD वा कर्मचारी अरू देखेको/पाएको छुइनँ । मैले देखेको छु – बिहान ६:०० बजेदेखि साँझ ९/१० बजेसम्म उहाँ सक्रिय रूपमा काममा लाग्नुहुन्छ । शनिवार वा छुट्टिको दिन भनेर बिदामा नबसी विभिन्न आयोजना र कार्यालयहरूको स्थलगत अवलोकन गर्न समेत निस्कनुहुन्छ । MD भएपछि तामाकोशीको २०७५-७६ सालतिर निर्माणताका हरेक महिना एकपटक स्थलगत अवलोकनमा आउनुहुन्थ्यो । आयोजनाको निर्माण एकदमै critical भएको बेला आयोजनास्थलमा रहेको मलाई हरेक दिन बिहान ६:०० बजेतिर अघिल्लो दिनको कार्यप्रगतिको बारेमा सोध्नुहुन्थ्यो र आवश्यकतानुसार यो गर्ने, त्यो गर्नुहोस् भनेर सल्लाह दिनुहुन्थ्यो । मैले उहाँको फोन आउनुअगावै उठिसकेर रातिको shift को कामको आवश्यक जानकारी लिएर briefing लिइसक्थें । यस्तो पो कामप्रति समर्पित MD ! तामाकोशीको कामको सिलसिलामा निर्माण कार्यलाई शीघ्रता दिन तत्काल निर्णयहरू दिन कति पनि हिच्किचाउनु भएन । सायद निर्माणताका त्यस्ता निर्णयहरू गर्न नसकेको भए ठिक ३ वर्षअघि सम्पन्न भएको अपर तामाकोशी आजको दिनसम्म पनि सम्पन्न हुन सक्थेन होला ।
फेरि उहाँका शतप्रतिशत कुरा असल छन् भनेर भन्न खोजेको पनि हैन, वहाँ पनि मानव नै हो, गल्ती वा कमजोरी अवश्य हुन्छन् । उहाँकोप्रति समर्पित वा उहाँको कोसँग सम्बन्ध छ मलाई चासो छैन । तर देश र प्राधिकरणप्रति पूर्ण समर्पित व्यक्तित्व हो भन्ने कुरामा मलाई कुनै संकोच छैन । यो मेरो उहाँप्रतिको चाकडी वा चाप्लुसी हैन, यो मेरो अन्तर्आत्माले बोलेको कुरा हो।
मैले देखिराखेको छु – प्राधिकरण भित्र र बाहिर उहाँको विरोध गर्नेहरू वा तथ्यको आधारमा सत्य कुरा नगरी अफवाह मच्चाउनेहरू ! मैले अघि पनि भनें नि उहाँ पनि मान्छे हो, कमी कमजोरी हुन सक्लान् । तर केही विद्वानहरूले समेत सत्य नबुझी खराब कुरा गरिरहेको पाउँदा ती विद्वानहरूको बौद्धिकस्तर पनि कति तल झरेछ भनेर सोचमग्न पनि छु !
जनतालाई अँध्यारोमा राखी उद्योगीहरूलाई dedicated र trunk line जोड्ने जुन व्यक्तिले एउटा पनि तोकआदेश दिएको छैन, जसले देशभर लोडसेडिङ अन्त्य गरी त्यस्तो लाइन जोडिराख्ने प्रपञ्चलाई सधैंको लागि इतिहासको गर्भमा पुर्याइदियो र जनतालाई २४ सै घण्टा उज्यालो दियो, जसले २०७६ सालमा चर्चित बक्यौता पैसा उठाउन खोज्दा प्रधानमन्त्रीबाट नै स्पष्टीकरण खानुपर्यो, जसले विद्युत चुहावटलाई सारभूतमा घटाई र विद्युतको आपूर्तिलाई सबल बनाई संस्थामा ८२ अर्ब रुपैयाँ नाफा आर्जन गरी ३५ अर्बको सञ्चित घाटालाई करिब ४७ अर्बको सञ्चित नाफामा पुर्याउन नेतृत्वदायी भूमिका खेल्यो, आज त्यही व्यक्तिलाई बेइमान र दोषी बनाउन खोजिँदैछ । यो कस्तो दुर्भाग्य हाम्रो!
जुन कुरा मैले मेरो लागि सोच्थेँ - “नेपालमा १० वटामध्ये ९ वटा राम्रा काम गर्नुहोस् तर केवल एउटामा मात्र थोरै कमी कमजोरी भयो भने त्यसै कमजोरीलाई समातेर तपाईंलाई भूईंमै लडाउने हर्कत!” - आज त्यही कुरा कुलमान सरमा लागू भइरहेको देख्दा दु:ख लागिरहेको छ । १० मध्ये ९ वटा राम्रा कामहरू गर्न खोज्ने तँ को हो, तँ हामीभन्दा ठूलो हुने भन्ने प्रश्नहरू तेर्सिएको जस्तो लागेको छ । यस्तो सोंच र नीतिले देश अग्रगतिमा जाला त ?
(निरन्तर ....)
२०८१।०५।१०, सोमबार (26 August 2024, Monday)
अरुण–४ को मुहान संरचनास्थलमा पहिरो आएपछि माथिल्लो अरुणलाई असर नपर्ने गरी सारिने
धारापानी २२० केभी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा
आज पनि पहाडी भूभागमा पानी पर्ने सम्भावना
चल्यो चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन
आज पहाडी भू-भागका आकाश ५० प्रतिशतसम्म बादलले ढाकिने
यी हुन् ऊर्जा मन्त्रीले सय दिनमा गर्न नसकेका कामहरु