सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

खुला प्रतिस्पर्धाबाट फेरि अध्यक्ष बने डा. धिताल, विद्युत् नियमन आयोगमा पुरानै नेतृत्वको पुनरागमन

जलसरोकार
बिहीबार, साउन ०७, २०८३ | १५:२६:०२ बजे

काठमाडौं। सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई पुनः नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उनलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त अध्यक्ष धितालको शपथ तथा पदभार ग्रहण कार्यक्रम बिहीबार हुने तयारी गरिएको छ।

नियुक्तिको निर्णयपछि डा. धितालले जलसरोकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, "मेरो नियुक्ति भएको खबर पाएँ, अहिले म ऊर्जा मन्त्रालय जाँदैछु।"

सरकारले केही समयअघि अध्यादेशमार्फत विद्युत् नियमन आयोगको नेतृत्व परिवर्तन गरेपछि डा. धिताल पदमुक्त भएका थिए। पछिल्लो मन्त्रिपरिषद् निर्णयसँगै उनी पुनः आयोगको अध्यक्ष नियुक्त भएका छन्। यससँगै आयोगले पुनः पुरानै नेतृत्वमा आफ्नो नियामकीय कार्यलाई निरन्तरता दिने भएको छ।

धिताल यसअघि २०८१ असार ७ गते पनि खुला प्रतिस्पर्धाबाट विद्युत् नियमन आयोगको अध्यक्ष नियुक्त भएका थिए। आयोग स्थापना भएपछि उनी पहिलोपटक खुला प्रतिस्पर्धाबाट आयोगको सदस्यमा चयन भएका व्यक्ति पनि हुन्।

उनको अघिल्लो कार्यकालमा आयोगको संस्थागत विकासका महत्वपूर्ण आधारहरू निर्माण भएका थिए। आयोगले पहिलो पटक आफ्नै स्थायी कर्मचारी नियुक्त गरी नियमित प्रशासनिक संरचना विकास गरेको थियो। त्यस्तै आयोगको प्रशासनिक विनियमावली, आर्थिक विनियमावली, खरिद विनियमावली तथा निर्णय प्रक्रिया सम्बन्धी आन्तरिक कार्यविधि निर्माणको काम पनि उनकै नेतृत्वमा सम्पन्न भएको थियो।

ऊर्जा क्षेत्रका विज्ञ धिताल यसअघि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा कार्यकारी निर्देशकसमेत भइसकेका छन्। उनीसँग नेपाल तथा विदेशमा जलविद्युत्, सौर्य ऊर्जा, ग्रामीण विद्युतीकरण तथा नवीकरणीय ऊर्जा क्षेत्रमा करिब तीन दशकको अनुभव रहेको छ। उनले एसियाली विकास बैंक (एडीबी)  का विभिन्न कार्यक्रममा ऊर्जा विज्ञका रूपमा पनि काम गरिसकेका छन्।

शैक्षिक रूपमा उनले जर्मनीबाट नवीकरणीय ऊर्जामा स्नातकोत्तर उपाधि हासिल गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट  नवीकरणीय ऊर्जामै विद्यावारिधि (पीएचडी) गरेका छन्।

डा. धितालको पुनर्नियुक्तिसँगै विद्युत् नियमन आयोगले पुनः अनुभवी नेतृत्व पाएको छ। विद्युत् बजार सुधार, नियामकीय स्थायित्व, खुला पहुँच (Open Access), विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित नियामकीय निर्णयहरूलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति : बिहीबार, साउन ०७, २०८३ | १५:२६:०२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया