ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
जलसरोकार
काठमाडौं । विद्युत् विकास विभागकी महानिर्देशक मन देवी श्रेष्ठले ऊर्जा क्षेत्रको दिगो विकासका लागि विभागले आयोजना प्रवर्द्धन, प्रभावकारी नियमन र लगानीमैत्री सहजीकरणलाई अझ सुदृढ बनाउँदै लैजाने बताएकी छन्।
विभागको ३३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले तीन दशकभन्दा बढीको यात्रामा विभागले ऊर्जा क्षेत्रको विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको उल्लेख गर्दै आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाइने बताइन्।
महानिर्देशक श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ मा व्यावसायिक उत्पादन सुरु गरी राष्ट्रिय विद्युत् प्रणालीमा जोडिएका सबै जलविद्युत् तथा सौर्य आयोजनाका प्रवर्द्धकलाई धन्यवाद दिँदै ती आयोजनाले देशको ऊर्जा सुरक्षा सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताइन्।
उनले गत आर्थिक वर्षमा मात्रै ४९७.६ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिएको उल्लेख गर्दै यस उपलब्धिले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको योगदान थप सशक्त रूपमा स्थापित गरेको धारणा व्यक्त गरिन्।
श्रेष्ठका अनुसार विद्युत् विकास विभागले आयोजना अध्ययन, अनुमतिपत्र व्यवस्थापन, वातावरणीय अध्ययन, आयोजना प्रवर्द्धन, नियमन तथा सहजीकरणमार्फत ऊर्जा क्षेत्रको विस्तारमा निरन्तर काम गर्दै आएको छ। सुरक्षित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विभागले नियामकीय भूमिका थप प्रभावकारी बनाउँदै लगेको उनले बताइन्।
उनले विभागले डिजिटल सेवा प्रवाह, लगानीमैत्री वातावरण निर्माण, सुशासन तथा पारदर्शितालाई उच्च प्राथमिकतामा राखेर सेवा प्रवाहलाई अझ छिटो, सरल र प्रभावकारी बनाउने दिशामा काम गरिरहेको जानकारी दिइन्।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको नीति तथा मार्गदर्शनअनुसार विभागले आगामी दिनमा पनि ऊर्जा क्षेत्रको विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले निजी क्षेत्र, विकास साझेदार तथा सरोकारवाला सबै पक्षसँगको सहकार्यलाई थप सुदृढ बनाइने बताइन्।
कार्यक्रमको अन्त्यमा महानिर्देशक श्रेष्ठले विभागका कर्मचारी, निजी क्षेत्र, विकास साझेदार तथा ऊर्जा क्षेत्रका सबै सरोकारवालालाई विभागको उपलब्धिमा पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गरिन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै