सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नेपाल विद्युत प्राधिकरण ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेपाल–कतार निजी क्षेत्र सहकार्यलाई ठोस लगानी र संयुक्त परियोजनामा रूपान्तरण गर्न ढकालको जोड

जलसरोकार
मंगलबार, पुस २२, २०८२ | ०९:४०:२२ बजे

 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारबीचको निजी क्षेत्र सहकार्यलाई संवादमा मात्र सीमित नराखी ठोस लगानी, संयुक्त परियोजना र परिणाममुखी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीसँग सोमबार कतारमा भएको भेटवार्ताका क्रममा अध्यक्ष ढकालले दुवै संस्थाबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धप्रति आभार व्यक्त गर्दै नेपाल–कतार आर्थिक सहकार्यलाई नयाँ चरणमा लैजानुपर्ने समय आएको उल्लेख गरे ।

“नेपाल र कतारबीचको सम्बन्ध केवल कूटनीतिक मात्र होइन, जनस्तरको विश्वास र सहकार्यमा आधारित छ,” अध्यक्ष ढकालले भने, “कतारमा कार्यरत नेपाली श्रमिकको योगदानले दुवै देशको अर्थतन्त्रबीच विश्वास र आत्मीयता निर्माण गरेको छ ।”

उनले ऊर्जा, पूर्वाधार, वित्त, लगानी, पर्यटन, सेवा तथा लजिस्टिक क्षेत्रमा कतारको विश्वव्यापी क्षमता रहेको उल्लेख गर्दै यिनै क्षेत्रमा नेपालले निजी क्षेत्रस्तरको साझेदारीलाई प्राथमिकता दिएको स्पष्ट पारे ।

अध्यक्ष ढकालले अक्टोबर २०२३ मा कतारका अमिरको नेपाल भ्रमणका क्रममा भएको सहमति स्मरण गर्दै नेपाल–कतार संयुक्त वाणिज्य परिषद् (जेबीसी) शीघ्र सञ्चालन गर्न महासंघ पूर्णरूपमा तयार रहेको जानकारी दिए । “नेपाली पक्षबाट निजी क्षेत्रका प्रतिनिधिको नामावली अन्तिम भइसकेको छ । अब हामी यो संयन्त्रलाई व्यवहारमा उतार्न चाहन्छौं,” उनले भने, ।

उनका अनुसार संयुक्त व्यवसाय परिषद् बिटुबी सहकार्य, क्षेत्रगत लगानीका अवसर पहिचान, व्यावसायिक अवरोध समाधान तथा संयुक्त लगानी र परियोजना अघि बढाउन प्रभावकारी मञ्च बन्न सक्छ ।

अध्यक्ष ढकालले नेपालमा जलविद्युत्, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधि, उत्पादन, पूर्वाधार, स्वास्थ्य र शिक्षामा आकर्षक लगानी अवसर उपलब्ध रहेको जानकारी दिए । विशेषगरी उत्पादनदेखि प्रसारण र ऊर्जा–आधारित उद्योगसम्म फैलिएको जलविद्युत् क्षेत्र दीर्घकालीन साझेदारीका लागि उपयुक्त रहेको उनको भनाइ थियो ।

त्यस्तै पर्यटन क्षेत्रमा होटल, रिसोर्ट, साहसिक तथा स्वास्थ्य पर्यटन र विमानसम्बन्धी सेवामा कतारी लगानीकर्ताको महत्वपूर्ण भूमिका हुन सक्ने अध्यक्ष ढकालले उल्लेख गरे ।

उक्त अवसरमा कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीले उक्त भेटवार्ताले नेपाल–कतार आर्थिक साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । उनले महासंघसँगको सहकार्य आगामी दिनमा अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउँदै जेबीसीलाई छिट्टै अन्तिम रूप दिने विषयमा सकारात्मक रहेको बताएको महासंघ अध्यक्ष ढकालले जानकारी दिए ।

अध्यक्ष ढकालले महासंघको पहल र पैरवीमा नेपाल सरकारले लगानी वातावरण सुधारका लागि गरेका नीतिगत तथा कानुनी सुधारको पनि चर्चा गरे । नीतिगत स्थायित्व, डिजिटल प्रणाली, सार्वजनिक–निजी साझेदारी र प्रक्रिया सरलीकरणमार्फत सुधार अघि बढिरहेको उनको भनाइ थियो ।

उनले हालै नेपालमा देखिएको जेनजी आन्दोलन सुशासन, पारदर्शिता र देशमै अवसरको चाहनाको सकारात्मक संकेत भएको उल्लेख गर्दै ती आवाज सही ढंगले सम्बोधन गर्न सके दीर्घकालमा संस्थागत सुदृढीकरण र स्थिर व्यावसायिक वातावरण निर्माणमा सहयोग पुग्ने बताए । 

प्रकाशित मिति : मंगलबार, पुस २२, २०८२ | ०९:४०:२२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया