सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

धादिङको जहरे सबस्टेसन पुनः सञ्चालनमा

जलसरोकार
सोमबार, भदौ २९, २०८३ | १०:०६:०८ बजे

 

धादिङ : भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण डुबानमा परी क्षतिग्रस्त भएको धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ।

गत भदौ १० गते आएको भोटेकोशी बाढीले जहरेखेतस्थित सबस्टेसनमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीका कारण सबस्टेसन परिसरमा करिब १० फिटसम्म लेदोसहितको पानी जम्दा विद्युत् उपकरण तथा भौतिक संरचनामा क्षति पुगेको थियो।

बाढीपछि नेपाल विद्युत् प्राधिकरणले जनशक्ति, आवश्यक उपकरण तथा सामग्री परिचालन गरी सबस्टेसनको मर्मत तथा पुनःस्थापनाको काम तीव्र रूपमा अघि बढाएको थियो। क्षतिग्रस्त उपकरण तथा संरचनाको मर्मतसम्भार सम्पन्न गरी भदौ २८ गते दिउँसो २ बजेदेखि सबस्टेसन पुनः सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ।

सबस्टेसन सञ्चालनमा आएसँगै गजुरी बजारसहित आदमघाट फिडरअन्तर्गतका २२ किलो क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित भएको छ। त्यस्तै, पीडा फिडरअन्तर्गत किरान्चोक, मिलनटारलगायतका क्षेत्रमा समेत विद्युत् आपूर्ति पुनः सुरु भएको प्राधिकरणले जनाएको छ।

बाढीका कारण सबस्टेसनमा क्षति पुगेपछि ती क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको थियो। सबस्टेसन पुनः सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति क्रमशः सामान्य बन्दै गएको प्राधिकरणको भनाइ छ।

प्राधिकरणले विद्युत् सेवा नियमित र भरपर्दो बनाउन आवश्यक मर्मत तथा पुनःस्थापनाका बाँकी कामलाई समेत प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ। बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको शीघ्र पुनःस्थापनालाई प्राथमिकता दिँदै प्रभावित क्षेत्रमा सेवा सामान्य अवस्थामा फर्काउने काम भइरहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : सोमबार, भदौ २९, २०८३ | १०:०६:०८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया