मधेशमा डिपबोरिङ र स्यालो ट्युबेलको माग
जलसरोकार
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मधेश प्रदेशमा डिपबोरिङ र स्यालो ट्युबेलको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आकस्मिक समयमा बोल्दै सांसदहरूले मधेशलाई सुक्खा प्रभावित क्षेत्र घोषणा गरिएको भए पनि आवश्यक पूर्वाधार नपुग्दा समस्या झन जटिल बन्दै गएको बताएका हुन् ।
सांसद रामकृष्ण यादवले खडेरीको चपेटामा परेको मधेसमा सिंचाइको वैकल्पिक स्रोतका रूपमा डिपबोरिङ र स्यालो ट्युबेलको पहुँच विस्तार गर्नु अपरिहार्य भएको बताए । उनले केही दिनयता अलिअलि पानी परे पनि अझै खेतबारी सिँचाइ गर्न पर्याप्त नभएको भन्दै जलस्रोतको असहजता किसानको पीडामा थप बोझ बनेको उल्लेख गरे ।
“सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेर मात्र काम सकिँदैन,” सांसद यादवले भने,“डिपबोरिङको जडान, स्यालो ट्युबेलको स्थापना र इन्धन व्यवस्थापन नगरी खेत सिँचाइ हुन सक्दैन, र कृषकको पीडा मेटिदैन ।”
सांसदहरूको धारणा अनुसार, सुक्खाका कारण बालीमा व्यापक क्षति भएको र अबको समयमै राहत पहल नगरे गम्भीर खाद्य संकटको अवस्था आउन सक्ने चेतावनीसमेत दिइएको छ।
यसै सन्दर्भमा, सरोकारवाला मन्त्रालय र निकायहरूलाई तत्काल योजनाबद्ध रूपमा जल स्रोत व्यवस्थापन, उपकरणको उपलब्धता र अनुदान सुनिश्चित गर्न संसदबाट आह्वान गरिएको छ । सरकारको तर्फबाट तत्काल जवाफ आएको छैन, तर सांसदहरूको एकमुखी मागले सुक्खा प्रभावित क्षेत्रको अवस्था संसदको प्राथमिक एजेन्डामा प्रवेश गराएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ