राहुघाट जलविद्युत् आयोजनाका सुरुङ प्रभावितलाई क्षतिपूर्ति दिन ढिलाइ
जलसरोकार
म्याग्दी : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ भएको छ ।
रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको फेदीस्थित बाँधदेखि तिल्केनीचौरस्थित विद्युत्गृह जोड्ने सुरुङ खन्ने क्रममा विस्फोटक पदार्थको कम्पनले घर भत्किएका तथा चर्किएका प्रभावितले लामो समयदेखि क्षतिपूर्ति पाउन नसकेको गुनासो गरेका छन् ।
आयोजनाले सुरुङ क्षेत्रका करिब ३० घरपरिवारलाई अस्थायी टहरा बनाउन रु एक लाख ७५ हजारदेखि तीन लाखसम्म वितरण गरे पनि स्थायी क्षतिपूर्तिको टुङ्गो नलागेको प्रभावितको भनाइ छ । रघुगङ्गा–३ पिप्लेकी रामकुमारी मल्लले कम्पनका कारण घर छाडेको छ वर्ष पुग्दा पनि क्षतिपूर्ति नपाएको बताए ।
जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय, गाउँपालिका र आयोजनाका प्राविधिकको टोलीले गरेको स्थलगत निरीक्षणबाट सुरुङ क्षेत्रमा पर्ने ३५० भन्दा बढी घरमा क्षति पुगेको प्रारम्भिक विवरण तयार पारिएको थियो । तर, प्रतिवेदनप्रति सम्बन्धित निकायका जिम्मेवार व्यक्तिले अपनत्व नलिँदा क्षतिपूर्ति वितरणमा ढिलाइ भएको प्रभावित र जनप्रतिनिधिको आरोप छ ।
आयोजनाका प्रमुख राजबहादुर विष्टले प्राविधिक टोलीको प्रतिवेदन प्राप्त नभएको बताउँदै त्यसको सिफारिसका आधारमा नियमसङ्गत क्षतिपूर्ति वितरणको तयारी भइरहेको जानकारी दिए । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले क्षतिको प्रकृतिअनुसार वर्गीकरण गरी क्षतिपूर्ति वितरणका लागि सहजीकरण र समन्वय भइरहेको बताए।
भौतिक संरचना निर्माण सकिएको राहुघाट जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साताको पहिलो कारोबार दिन नेप्से १८ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ८३ करोड
-
ब्रेक थ्रु नभएसम्म जलविद्युत आयोजनाका सुरुङमा खोजी र उद्धारको काम जारी राखिरहन्छौँ : नेपाली सेना
-
रसुवागढी र तातोपानी बन्द भएपछि कोरला नाकामा व्यापारिक चाप बढ्यो
-
सुनचाँदीको मूल्य घट्ने क्रम जारी, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
राष्ट्र बैंकले बजारबाट ३५ अर्ब निक्षेप खिच्दै
-
पहिरोले ३२ पाेल ढालेपछि बाजुरामा विद्युत् सेवा अवरुद्ध