सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भोटेकोशी बाढीकाे नाै दिन : क्षतिग्रस्त जलविद्युत् आयोजनाका ९४७ जना कर्मचारी र कामदार अझै सम्पर्कविहीन

जलसरोकार
बिहीबार, भदौ १८, २०८३ | ०९:५३:४६ बजे

 

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र आसपासका क्षेत्रमा १२ जलविद्युत् आयोजना प्रभावित भएका छन्। बाढीबाट प्रभावित आयोजनामध्ये आठ वटा सञ्चालनमा रहेका र चार वटा निर्माणाधीन छन्। ती आयोजनाको कुल क्षमता ६६९ मेगावाट रहेको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट क्षतिग्रस्त आयोजनाको संख्या ११ रहेको छ भने ती आयोजनामा कार्यरत ९४७ जना सम्पर्कविहीन छन्।

सबैभन्दा ठूलो मानवीय क्षति २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा देखिएको छ। आयोजना बाढी आउनुअघि १ हजार ४३३ जना कार्यरत रहेकोमा ८७६ जनाको उद्धार भइसकेको र ५५७ जना अझै सम्पर्कविहीन रहेको आयोजनाको पछिल्लो विवरणमा उल्लेख छ। सम्पर्कविहीनमध्ये ११५ जना मुख्य सुरुङ तथा हेडवर्क्स (बाँध) क्षेत्रभित्रै फसेको आशंका गरिएको छ।

माथिल्लो त्रिशूली–१ मा सम्पर्कविहीनमध्ये नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका १५ जना, परामर्शदाता जेके कन्सल्टका सात जना, मुख्य ठेकेदार बुसानका ५६ जना, सिभिल ठेकेदार पावर चाइनाका ३८५ जना र इलेक्ट्रोमेकानिकल ठेकेदार एक्स्ट्रिम हाइड्रोका ९४ जना रहेको विवरणमा उल्लेख छ।

आयोजनामा हराइरहेकाहरूको खोजीका लागि दक्षिण कोरियाबाट ४४ सदस्यीय उद्धार टोली नेपाल आइपुगेको छ। टोलीलाई आयोजनास्थलमा परिचालन गर्ने तयारी भइरहेको छ।

त्यस्तै, २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा पनि खोजी कार्य तीव्र पारिएको छ। सुरुङभित्र १५० मिटरसम्म पुगेर खोजी गरिएको भए पनि ४१ जना अझै सम्पर्कमा नआएको आयोजनाले जनाएको छ।

६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको भूमिगत विद्युत्गृहमा मर्मतका लागि गएका ४२ जना फसेको अनुमान गरिएको छ। बाढीले सुरुङमा ढुंगा, बालुवा र माटो थुपारेका कारण उद्धार टोली विद्युत्गृहसम्म पुग्न सकेको छैन। सुरुङमा रहेका ठूला ढुंगा ब्लास्टिङ गरी हटाउने तथा जम्मा भएको पानी पम्पिङ गरेर बाहिर निकाल्ने काम जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

२२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्गृहमा कार्यरत ६ जना पनि फसेका छन्। निरन्तरको वर्षाका कारण नदीको जलसतह बढिरहेका कारण उद्धार कार्यमा अपेक्षित प्रगति हुन नसकेको आयोजनाले जनाएको छ। चिलिमेको साइट कार्यालयमा कार्यरत ७१ जनामध्ये विद्युत्गृहभित्र काम गरिरहेका ६ जना फसेका हुन्।

त्यसैगरी, २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रबाट दुई सुरक्षागार्ड र एक कर्मचारी गरी तीन जना सम्पर्कविहीन छन्। केन्द्रमा कार्यरत ७३ जनामध्ये ७० जना भने सकुशल रहेको जनाइएको छ।

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा फसेकाहरूको उद्धारका लागि स्काभेटर प्रयोग गर्ने प्रयाससमेत नदीको बढ्दो जलसतह र कटानका कारण सफल हुन सकेको छैन। सुरक्षात्मक पर्खाल भत्किएपछि स्काभेटरसमेत बगेको र हेलिकोप्टर अवतरणमा कठिनाइ भएपछि उद्धार कार्य चुनौतीपूर्ण बनेको आयोजनाले जनाएको छ।

बाढीबाट २५ मेगावाटको नुवाकोट सौर्य विद्युत् आयोजना पनि पूर्ण रूपमा प्रभावित भएको छ। आयोजनाको १९.६ मेगावाट उत्पादन गर्ने सोलार प्लान्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको तथा सात स्थानमा रहेका प्लान्टमध्ये चार स्थानका प्लान्ट बाढीले बगाएको विवरणमा उल्लेख छ। आयोजनामा कार्यरत सबै सुरक्षित रहेको जनाइएको छ।

यसैगरी १५.६ मेगावाटको मिडिल त्रिशूली गंगा जलविद्युत् आयोजनाबाट दुई जना अझै सम्पर्कविहीन छन् भने एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ।

बाढीबाट पूर्ण रूपमा प्रभावित आयोजनामा त्रिशूली जलविद्युत् केन्द्र, देवीघाट जलविद्युत् केन्द्र, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, मिडिल त्रिशूली गंगा र नुवाकोट सौर्य विद्युत् आयोजना पनि छन्।

बाढीका कारण जलविद्युत् आयोजनाका साथै सुरुङ, विद्युत्गृह, हेडवर्क्स तथा निर्माणाधीन संरचनामा ठूलो क्षति पुगेको छ। उद्धार कार्यमा निरन्तर वर्षा, नदीको बढ्दो जलसतह, सुरुङमा थुप्रिएको ढुंगा–माटो तथा लेदो र भौतिक संरचनामा भएको क्षतिले थप चुनौती सिर्जना गरेको विवरणमा उल्लेख छ।

प्रकाशित मिति : बिहीबार, भदौ १८, २०८३ | ०९:५३:४६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको